|
|
||||||||
|
आवरण
लोकपपका पथप्रदर्शक
नेपाली संगीत पारखीलाई लोकपप को स्वाद चखाउने नेपथ्य समूहका मीयो अमृतले यत्रो उचाइ र चर्चा पाउनुमा सार्वजनिक कार्यक्रममा उनको जोशिलो प्रस्तुति पनि एउटा कारण मानिन्छ। सार्वजनिक सरोकारका महत्वपूर्ण बिषय पक्रेर मुलुकका बिभिन्न भेगका लय र संगीतमा प्रस्तुत गरिने गायनले उनलाई जनताबीच अरू प्रिय बनाएको छ। मा'वादी जनयुद्ध बाट सिर्जित हिंसा-प्रतिहिंसाको श्रृंखला चरमचुलीमा पुगेका बेला शान्तिको पक्षमा उनले गरेको साङ्गीतिक देश-यात्रालाई त्यसै रुपमा लिन सकिन्छ। सुन्दर शान्त नेपाल र शान्तिका लागि शिक्षा नाममा देशका ठूला-साना शहर तथा गाउँ-गाउँमा सांगितिक कार्यक्रम लिएर गएका अमृतले संगीतयात्राबाट उठेको रकम युद्ध प्रभावित क्षेत्रका विद्यालयको पूर्वाधार विकासमा सहयोग गरेका थिए। अमृतले द्वन्द्वकालमा नेपालीले भोग्नुपरेको पिडालाई समेटेर घटना भन्ने अल्बम निकालेका थिए। गन्धर्बको शैलीमा प्रस्तुत घटना को लामो गीतले दोलखाको मैनापोखरी घटनाको सम्झना दिलाउँछ, जहाँ सेना र विद्रोहीको क्रसफायरमा निर्दोष बसयात्रु परेका थिए। उनी भन्छन्, “पहिलेका गीतमा मायाप्रेम थिए भने परिस्थितिका कारण अहिले सामाजिक विषय प्राथमिकतामा परेका छन्।” पिरिमसित जाने कि नजाने जस्ता गीत गाउने अमृतले एउटा गाउँले लयको खोजीमा रसुवासम्म पुगेर यसअघि भेडाको उनजस्तो अल्बम पनि निकालेका थिए। अमृत गीत-संगीतमा आफू त्यति पारंगत भएको दावी गर्दैनन्। भन्छन्, “नेपथ्यको स्थापना नै लहैलहैमा भएको हो, त्यसबेला जानेर-नजानेर छेउ न टुप्पाका गीत गाइयो पनि होला।” तर, लोकधुनको बिट, आधुनिक बाद्यबादनको प्रयोग र मन छुने सामाजिक बिषयको छनौटले मध्यपहाडी गाउँको ठिटो अमृत गुरुङले पुरै नेपाललाई आवाज दिएजस्तो लाग्छ। ७० जिल्लाको पैदल भ्रमण गरिसकेका क्यामेरा बोक्ने घुमन्ते र एकान्तप्रेमी अमृत महात्मा गान्धी र नेल्शन मण्डेलालाई जीवन आदर्श ठान्छन्। अनि जीवनका सुखदुःख, तीतामीठा अनुभवलाई सपनासँग तुलना गर्न रुचाउँछन्। रामेश्वर बोहरा सुरका गुरुदेव
शास्त्रीय संगीतका ज्ञाता गुरुदेवका बाबु लक्ष्मण र दाजु जगदेव गाउँमा सामान्य नाँचगान गर्थे। आठ वर्षको उमेरमा पहिलो पटक बाबु र दाजुसँगै सिरहाको एउटा सांस्कृतिक कार्यक्रमको मञ्चमा उत्रिएर उनले आफ्नो प्रतिभाको परिचय दिएका थिए। संगीतप्रति रुचीकै कारण १२ वर्षको उमेरमा उनी संगीत सिक्न भारततिर लागे र २४ वर्ष दरभङ्गा र कलकत्तामा संगीत सिक्दै र गीत-संगीतमा लाग्दै बिताए। भारतमा जति नै नाम र दाम कमाएपनि स्वदेशमा परिचय नभएसम्म गुरुदेवलाई चित्त बुझेन। गाउँमा आएको बेला स्थानीय कलाकार भरत लामाले आफ्नै देशमा केही गर्नुपर्छ भनेपछि उनी लामासँगै राजधानी आए। तर काठमाडौं आएको एक महिनामै ०४६ सालको जनआन्दोलन सुरु भयो र राजनीतिको मिचाईमा परेर संगीतमा जम्ने सपना तुहियो। त्यतिबेला उनी गोपाल योञ्जनको सङि्गतमा एउटा भजन रेकर्ड गरेर त्यसै फर्के। फेरि दुई वर्षको भारत बसाइपछि दोश्रो पटक राजधानी आउँदा राजनीतिक स्िथति केही सहज बनिसकेकोले यात्रा उपलब्धीमूलक रह्यो। यसैबीच, ०४९ मा रेडियो नेपालको शास्त्रीय सङि्गत प्रतियोगितामा उनको कलावती राग प्रथम भयो भने भरत लामाको शब्द-सङि्गतमा गाएको आधुनिक गीत न मर्न सकें न जीउन... ले दोश्रो पुरस्कार पायो। यो सफलताले केही उत्साहित भएपनि गीत गाएर र संगीत दिएर काठमाडौंमा गुजारा नचल्ने देखेपछि उनले अर्काे उपाय रोजे― प्रशिक्षण। त्यसबेला वाध्यतावश अपनाएको संगीत प्रशिक्षण नै अहिले उनको परिचय बन्न पुगेको छ। ०४९-५१ मा कलानिधी इन्दिरा सङि्गत विद्यालय र ०५१-६० मा डोरेमी सङि्गत पाठशालामा प्रशिक्षण दिएका उनको पाँच वर्ष यता बागबजारमा आफ्नै गुरुकुल सङि्गत पाठशाला छ। गुरुदेवको संगीत प्रशिक्षण कति प्रभावकारी छ भन्ने कुरा उनका चेलाचेलीको सूचीमा संगीतकार महेश खड्का, गायक धिरज राई, मोहन भुसाल, राजु लामा, हेमन्त शर्मा, गायिका शर्मिला बर्देवा, विमला राई, लासमित राई, ममता दिपविम, प्रश्ना शाक्य जस्ता चर्चित नामहरु रहनुले पनि स्पष्ट पार्छ। चेलाहरुको नामबाटभन्दा आफ्नै कामले चिनिन चाहने गुरुदेवले प्रस्तर र सङि्गत सरोवर भन्ने शास्ित्रय गीतका अल्बम निकालेका तथा आफ्नै स्वरमा सयवटा जति भजन, गजल, आधुनिक र मैथली गीतहरु रेकर्ड गराएका छन्। यसैबीच उनले चट्टान, अग्नीपथ, निर्माया, जुनीभरीलाई, खिलौना जस्ता चलचित्रका गीतमा पनि स्वर दिएका छन्। ६० भन्दा बढी पुरस्कार र सम्मान पाएका गुरुदेव कामतको चाहना छ― आफ्नो पाठशाला अझ् विस्तार गर्ने र संगीतमा अरु योग्य शिष्यहरु उत्पादन गर्ने। अनुशील विधि निर्माणका योद्धा
अधिवक्ता भट्टराईको विचारमा मुलुकमा कानून र नागरिकको सर्वाेच्चता भए सामाजिक रुपान्तरण सम्भव हुन्छ र त्यसका लागि विधिनिर्माण अत्यावश्यक छ। संयोगवश नेपालमा मुलुकको मूल कानून अर्थात् संविधान लेखिन लागेको छर संवैधानिक कानून व्यावसायिक मञ्च का अध्यक्ष समेत रहेका टीकाराम आजभोलि यसैबारे बहस चलाउन लागिपरेका छन्। “विधिको शासनमा पूर्ण विश्वास बोकेका उनीजस्ता व्यक्तिले आजको अन्योल चिरफार गर्दै अन्त17र्4ाष्ट्रिय मान्यता अन्तर्गतको संविधान निर्माणमा सहयोग गर्न सक्छन्”, एक वरिष्ठ कानून व्यवसायी भन्छन्। कानून व्यवसायीहरूले व्यावसायिकसँगै सामाजिक दायित्वलाई सम्झ्ेर सार्वजनिक सरोकारका मुद्दाहरूमा सामेल हुँदा विधिनिर्माणमार्फत सामाजिक रुपान्तरणको अभियानमा सघाउ पुग्ने टीकारामको ठहर छ। बेलायतका लर्ड डेनिङ तथा भारतका कृष्ण ऐयर विधिनिर्माणमा लागेका आदर्श पुरुष हुन्। नेपालमा भने त्यसरी विधिनिर्माणको आन्दोलनमा लागेका कानून व्यवसायीको सङ्ख्या उल्लेखनीय छैन। तर, पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई भने सम्झ्नैपर्छ। सार्वजनिक सरोकारका मुद्दाहरूमा सहभागी हुँदा सामाजिक रुपान्तरणको आन्दोलनलाई सघाउ पुग्छ भनेरै टीकारामले आफ्नो कामको आधा समयजति त्यस्ता मुद्दाहरूमा दिने गरेका छन् र त्यो पनि निःशुल्क। मुद्दा लड्दा कसैलाई चित्त बुझला नबुझला, उनी आफ्नो बुद्धिविवेकको इशारामा निर्धक्क चल्छन्। पछिल्लो समय उनले उपराष्ट्रपति परमानन्द झ्ाले लिएको हिन्दी शपथ र सरकारले पशुपतिमा गरेको पुजारी नियुक्तिको विरोधमा तथा कुमारीलाई शिक्षाको अधिकारको समर्थनमा मुद्दा लडेका थिए। २०६१ मा तत्कालीन राजाको सरकारले गठन गरेको शाही आयोगविरुद्ध मुद्दा लड्नुका साथै उनले जनआन्दोलन-२ मा सरकारले थुनेका राजनीतिक बन्दीहरूलाई छुटाउन कानूनी सहयोग गरेका थिए। “२०६०-६३ मा म केन्द्रंीय सदस्य हुँदा नेपाल बार एसोसिएसनले राजनीतिक बन्दीलाई कानूनी सहायता गर्ने निर्णय गरेको थियो। त्यो निर्णय गराउन सकेकोमा मलाई सन्तोष लागेको छ”, अधिवक्ता भट्टराई भन्छन्। झापा गौरादहको जनता माविमा कक्षा ८ मा पढ्दा नै टीकाराम राजनीतिक आन्दोलनमा सहभागी भएका थिए। तत्कालीन भूमिगत कम्युनिष्ट पार्टी नेकपा (माले) सम्बद्ध अनेरास्ववियुमा लागेका उनी त्यसबेला भारतद्वारा इलामको मानेभञ्ज्याङमा भएको अतिक्रमणविरुद्ध आन्दोलनमा सहभागी हुँदा नौ दिन प्रहरी हिरासतमा परेका थिए। धरानमा आईएल पढ्दा विद्यार्थी नेता लक्ष्मी पाण्डेको हत्याविरुद्ध प्रदर्शन, विराटनगरमा पाँच जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यहरूसँग विश्व मानवअधिकार दिवस कार्यक्रम तथा २०४६ मा काठमाडौंमा पञ्चायतविरोधी आन्दोलनमा सहभागी हुँदा पनि उनले प्रहरी हिरासत व्यहोरेका थिए। आत्मबल र पढाइ दुवैका धनी अधिवक्ता टीकाराम भट्टराईलाई प्रस्ट अडान र जनतामुखी झ्ुकावका कारण प्रेसजगतले धेरै पच्छ्याएको देखिन्छ। सुवास देवकोटा
विद्वत् श्रीमान्
श्रीम्ाान् श्रेष्ठले भने सर्बोच्च अदालतको मानमर्यादा राख्दै केही उच्चारण गरेनन्। हिमालको छनौटमा ३० रत्नमध्ये परेका उनीसंग सोधपुछसम्म गर्न सकिएन, न त फोटोग्राफरलाई आफ्नो तस्वीर खिच्नसम्म उनले अनुमति दिए। मुलुक अति संबेदनशील घडीमा गुजि्ररहेको, लोकतन्त्रको पुनर्बहाली नभइसकेको, शान्तिप्रकृया जारी नै रहेको र खुला राजनीतिको मान्यता पूर्ण नपनाइसकेको मा'वादी सरकारको नेतृत्वमा यस्तो बेला स्िथरता र कानुनी राज्यको खम्बा बन्न पुगेका छन् सर्बोच्च अदालत तथा अन्य अदालतहरु। मुख्यतः उच्च मुल्य मान्यता राख्ने सैद्धान्तिक अडान रहेका व्यक्तिको बाहुल्य भएको सर्बोच्चले जनताको हितको रक्षा गर्ने आश गरिएको छ। यस्तो अदालतको प्रतिनिधित्व गर्छन् श्रीमान श्रेष्ठले। करिब तीस वर्ष न्यायसेवामा बिताएका श्रेष्ठसँग लामो समयसम्म जिल्ला र पुनरावेदन अदालतमा बसेर काम गरेको अनुभव छ। विवादको चुरो थाहा पाउने, अध्ययनशील, मानवअधिकार मुद्दाको संवेदनशीलता बुझने, अदालती संरचनाको क्षमता र कमजोरीको राम्रो जानकार न्यायाधीश श्रेष्ठका बिशेषता हुन्। गैरसरकारी संघसंस्थाका मुद्दामा सामान्य सहानुभुति राख्ने भनेर उनको आलोचना गर्नेहरू पनि उनलाई अनियमिततामा संलग्न र कार्यक्षमता नभएको भन्न सक्दैनन्। न्यायाधीशका लागि यो ठूलो पूँजी हो। तर यो भन्दा ठूलो पूजी हो कसैको मुख नहेरी सिद्धान्तमा अडान लिएर निर्णय लिन सक्ने खुबी। श्रीमान श्रेष्ठ शायद सर्बोच्चका न्यायधीशबीचका पढैया हुन्, र अंग्रेजीमा असाधारण पकड भएको कारण उनी बिदेशी अदालतका निर्णय र नजिरको मूल्यांकन पनि सजिलै गर्न सक्ने क्षमता राख्छन्। सेनाका अधिकारीको अबकाश सम्बन्धी मुद्धामा त श्रीमान श्रेष्ठले निर्णय होइन, स्टे अर्डर मात्र दिएका हुन्। उनको आश हुन सक्छ यो मुद्धामा यहाँभन्दा बढी राजनीतिकरण नहोस्। दण्डहीनता विरुद्ध
द्वन्द्वकालमा राज्य र बिद्रोही पक्षबाट दिनहुँजसो हत्या, अपहरण, बेपत्ता, भीडन्तजस्ता मानवअधिकार उल्लघंनका घटना भइरहे पनि पूर्ण विवरण पाईंदैनथ्यो। बेलायतबाट मानवअधिकार सम्बन्धि कानुनमा स्नाकोत्तर गरेर फर्केकी मन्दिरा शर्मा मौन बस्न सकिनन् र मानवअधिकारको पक्षमा अनुसन्धान तथा पूर्ण न्यायिक प्रकृयाको परिपालनाका लागि एडभोकसी फोरम भन्ने संस्था खोलेर घटनास्थल र पीडितका घर-गाउँ पुगेर यथार्थ विवरण बाहिर ल्याउने अप्ठेरो काम शुरु गरिन्। पीडितका पीरमर्काको सोधखोज गर्दै घर-घर पुग्दा उनीहरूले ठूलो राहत महसुस गर्ने र आफ्नो पनि कोही रहेछन् भनेर ढाडस पाउने गरेका मन्दिराको अनुभव छ। यसक्रममा उनले गैरन्यायिक हत्या, यातना, वेपत्ता, यौनहिंसा एवं गैरकानुनी थुनाका आठ हजार घटनाको अनुसन्धान गरेर पीडितलाई कानुनी सहायता दिलाउने तथा दोषीमाथि कार्वाहि गर्न राज्यलाई दबाब दिने काम गरेकी छन्। सेनाका अधिकृतहरुको संलग्नतामा भएको काभ्रेको मैना सुनार हत्याकाण्डको खोबजीनबाट बढी चर्चामा आएकी मन्दिराले मा'वादी नेता अग्नी सापकोटा संलग्न देखिएका काभ्रेका अर्जुन लामाको हत्यामा पनि डटेर अनुसन्धान गरेकी छन्। “हामीले यस्ता ७५ वटा घटनामा प्रमाणसहित मुद्दा दर्ता गरेका छौं, तर राज्यले एउटै मुद्दालाई पनि अघि बढाएको छैन”, उनी भन्छिन्। “दण्डहीनताको संस्कृति नै आज मुलुक र समाजका सामु मुख्य चुनौती बनेको छ।” अहिले एडभोकेसी फोरम मार्फत १५ जिल्लामा काम गरिरहेकी मन्दिरा मैना सुनार हत्याकाण्डमा चर्का कुरा गर्ने मा'वादीले स त्ता सम्हालेपछि पनि मैनाका हत्यारालाई कार्वाहि नगर्नुलाई न्याय क्षेत्र कमजोर बन्दै गएको सङ्केत ठान्छिन्। उनी भन्छिन्, “अब पीडीतले न्याय पाउन पनि आन्दोलन गर्नुपर्ने भएको छ।” २०४६ को जनआन्दोलनमा गृहजिल्ला बाग्लुङमा धेरैलाई निर्घात यातना दिइएको देखेकी मन्दिरालाई त्यतिबेलै यातनापीडितको पक्षमा बोल्न र सहयोग गर्न मन लागेको थियो। ०४८ मा काठमाडौैं आएपछि यातनापीडित सरोकार केन्द्र (सिभिक्ट) सँग सम्बद्ध भएर नौ वर्ष यातनापीडितलाई न्याय दिलाउने काममा लागिन्। त्यस क्रममा देशका ४० भन्दा बढी कारागार पुगेर उनीहरुका पीडामा कानुनी उपचारको मल्हम लगाउँदा-लगाउँदै उनी उच्चशिक्षाका लागि बेलायत गएकी थिइन्। मन्दिराको सानैदेखि नर्स बन्ने इच्छा थियो। तर नर्सिङ पढ्न घर छाडेर जानु पर्ने भएकोले परिवार तयार भएन। आमा हेमकुमारीले नेपालमा महिला वकिल धेरै छैनन् र आफ्नो अधिकारबारे पनि थाहा हुन्छ भनेर वकिल बन्न सम्झाएपछि बाग्लुङमै कानुन पढ्न थालिन्। प्रमाणपत्र तह पूरा गरेपछि बीएलका लागि बाग्लुङ्को चौघेरो नाघ्नुुपर्थ्यो। छोरी नपढी नछाड्ने, परिवार टाढा पठाउन नचाहने! अन्ततः काठमाडौंका कानून व्यवसायी राम पोख्रेलसंग बिहेको टुङ्गो लागेपछि उनलाई राजधानीको बाटो खुल्यो। कामको धपेडी, पीडितलाई सघाउँदा आउने प्रत्यक्ष-अप्रत्यक्ष धम्की अनि ज्यानको बाजी लगाएर प्रमाणसहित बुझ्ाउँदा पनि कार्वाही नहुने अवस्था― अरु भए कति दिक्क मान्थे होलान्, तर मन्दिरा शर्मा भने मानवअधिकारकर्मीको इलम नै यस्तै हो भनेर डट्न छोडेकी छैनन्। जिल्लामा अधिकारकर्मीहरुलाई दिनप्रतिदिन चुनौती थपिएको कुरा स्वीकार्दै उनी भन्छिन्, “जसले ज्यादती गरेको हो, उसमाथि कानुनी कार्बाही हुनुपर्छ। अनिमात्र सभ्य मुलुकबासी बन्न पाउँछौं हामी।” डम्बरकृष्ण श्रेष्ठ प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |