|
|
||||||||
|
आवरण
काङ्ग्रेसभित्रको 'कम्युनिष्ट'
बीपीको प्रजातान्त्रिक समाजवादलाई आदर्श मान्दै यसैबाट सामाजिक विभेद हटाउन सकिने विश्वास लिएर काङ्ग्रेसको राजनीतिमा लागेका रोमीले गाउँमा तल्लो जातका ठानिने मानिसहरुसँग बस्न-खान र उनीहरूका पक्षमा बोल्न थालेपछि समाज भाँड्न खोजेको भनेर आलोचित हुनुपरेको थियो। उनको यस्तो कामलाई लिएर सात वर्ष जति त बाबुछोराकै बोलचाल भएन रे। पञ्चायतकालमा प्रधानपञ्च भएका बाबुलाई विरोधी राजनीतिमा लागेपछि छोरो बिग्रिन्छ र घरपरिवार लथालिङ्ग हुन्छ भन्ने डर थियो। लेतेको ज्ञानोदय निमावि र जोमसोमको जनहित माविबाट स्कूल शिक्षा पूरा गरेर काठमाडौंमा अमृत साइन्स र पुल्चोक क्याम्पसमा पढ्न पुगेकारोमी सुरेश मल्ल, उपेन्द्र महतो, हृदयेश त्रिपाठीजस्ता सहपाठीहरूको सङ्गतपछि प्रजातन्त्र पुनस्र्थापना भए हजारौं इञ्जिनियर तयार पार्न सकिन्छ, पञ्चायत रहिरहे आफू मात्र बनिन्छ भन्ने सोचेर राजनीतिप्रति आकर्षित भएका थिए। त्यो समय सम्झदै उनी भन्छन्, “त्यतिबेला हामी जोशिला लडाकू थियौं।” २०३५-३६ सालको विद्यार्थी आन्दोलनमा प्रशासनकोे तारो बनेर दिल्ली पुगेका रोमीलाई जनमत सङ्ग्रहको घोषणापछि पटनाबाट पोष्टर बोकेर काठमाडौं उत्रनासाथ विमानस्थलबाटै हनुमानढोका प्रहरीमा लगिएको थियो। आन्दोलनमा सधैँ अग्रमोर्चामा रहने रोमी राजाको प्रत्यक्ष शासनमा पनि पटकपटक थुनामा परे। प्रशासनले विनापूर्जी पक्रने, जिल्ला छाड्न नदिने, अपराधी जस्तो व्यवहार गर्ने गरेका घटना धेरै छन्। २०५६ को आमचुनावमा मुस्ताङबाट जितेपछि प्रतिनिधिसभाको परराष्ट्र तथा मानवअधिकार समिति संयोजक बनेका रोमी गौचन-थकाली एकचोटी परराष्ट्र सहायकमन्त्री पनि भए। भ्रष्टाचारको खरो विरोधी उनले त्यतिबेला नातावाद-कृपावादलाई प्रश्रय दिनुहुन्न भनेर नातेदार र स्वकीय सचिवलाई मन्त्रालय तथा मन्त्रालयका कर्मचारीलाई निवासमा प्रवेश गर्न रोक लगाएका थिए। उनी भ्रष्टाचार विरोधी सांसदहरुको विश्व संस्था ग्लोबल अर्गनाइजेसन अफ पार्लियामेन्टेरियन अगेन्स्ट करप्सन का उपाध्यक्ष नै छन्। रोमी फुर्सदमा राजनीति र दर्शनसँग सम्बन्धित किताबहरु पढ्छन्। दराजमा राखिएको हिलारी क्लिन्टनको लिभिङ हिष्ट्री आत्मकथा देखाउँदै अहिले त्यही किताब पढिरहेको बताए। अङ्ग्रेजी लेखन सुधार्न हिजोआज दैनिक दुई घण्टा ट्युसन पढिरहेका छन्। भन्छन्, “अङ्ग्रेजीमा किताब लेख्ने योजना बनाएको छु, सक्षम नभएसम्म पढ्छु।” रामजी दाहाल प्रतिनिधि नयाँ पुस्ताको
हुन पनि, त्यति लामो राजनीतिक इतिहास नभएकी लीलाको गुण सम्भावना नै हो। उनलाई सभासद बनाउने निर्णय गर्ने नेमकिपा अध्यक्ष तथा सभासद नारायणमान बिजुक्छे रोहित भन्छन्, “महिला र युवा पुस्तालाई संविधानसभामा ल्याउनुपर्ने भएकाले हामीले उनलाई छानेका हौं, परिक्षामा खरो उत्रिन्छिन् भन्ने बिश्वास छ।” अर्थशास्त्र र अंग्रेजी साहित्यकी यी स्नातकले तीन वर्षे सभासद जीवनमा सफल राजनीतिज्ञ बन्ने सम्भावना देखाइसकेकी पनि छन्। नजानेका कुरा गम्भीरतापूर्व सुन्ने, सधैं सिक्न चाहने र तार्किकरुपमा प्रस्तुत हुने स्वभावका कारण उनी बिपक्षी सभासदबीच पनि उदाउँदो राजनीतिकर्मीका रुपमा स्विकारिन थालेकी छन्। २०६३ को अन्त्यतिर अन्तरिम संसद निर्माणको चर्चा चलिरहेको बेला अकस्मात पार्टी कार्यालयबाट लीलालाई बोलाइयो। त्यहाँ अध्यक्ष बिजुक्छेलाई भेटेपछि मात्रै थाहा भयो― उनी सभासद बन्दैछिन्। लीलाका बाबु बद्री न्याइच्याईं ०२१ सालदेखि रोहित समूहका कार्यकर्ता थिए र उनी पनि बाशु माध्यमिक बिद्यालयमा ६ कक्षा पढ्दादेखि नै त्यो समूहको मावि स्तरीय बिद्यार्थी संगठन विद्यार्थी हित समिति मा थिइन्। ०५४ मा भक्तपुर बहुमुखी क्याम्पसमा नेमकिपासम्बद्ध नेपाल क्रान्तिकारी बिद्यार्थी संगठनबाट स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव लडेकी उनी २०५५ मा संगठनको केन्द्रीय सदस्य बनिन्। सभासद बन्नुअघि भक्तपुरकै बालविकाश माबिमा दुई वर्ष पढाएकी लीलाको अहिले पार्टीमा थप उन्नति भएको छ। अहिले उनी पार्टीसम्बद्ध नेपाल क्रान्तिकारी महिला संघको केन्द्रीय सचिव छिन्। नयाँ र योग्य पुस्ता राजनीतिमा आउनुपर्छ भन्ने मान्यता राख्ने लीला सभासद जस्तो जिम्मेवारी भाग पुर्याउन तथा दुःख गरेको पुरस्कारका रुपमा बाँडिनु हुन्न भन्छिन्। कतिमा आफ्नो जाति, लिङ्ग, भाषा र धर्मको बिषयमा कुरा उठाउनु नै समावेशी पक्षधर हुनु हो भन्ने धारणाले घर गरिरहेको बेला उनी भने बर्गीय पक्ष प्रमुख हो भन्ने मान्यता राख्छिन् र संविधानसभा तथा व्यवस्थापिका संसदमा त्यसैअनुरुप प्रस्तुत हुन्छिन्। पार्टीले भने जस्तै मजदुर किसानको समाजवादी गणतन्त्र हुनुपर्छ भन्ने पक्षमा दृढ लीला न्याइच्याईं तत्कालै त्यस्तो संविधान बन्ने बिश्वास भने गरिहाल्दिनन्। “अहिले नै किसान र मजदुरका सबै समस्या समाधान हुन्छन् भन्ने मलाई लाग्दैन। सकेसम्म राम्रो बनाउन प्रयत्न गर्ने हो। तर, म धेरै जस्तो निराश पनि छैन”, उनी भन्छिन्। सुवास देवकोटा लामो दौडका घोडा
एउटै मानिस बन्दुक र बम पड्काउन तथा शान्ति निर्माण प्रक्रिया अघि बढाउन उत्तिकै प्रभावकारी हुनसक्छ? रोल्पामा जन्मिएका एकीकृत मा'वादीका सचिवालय सदस्य वर्षमान पुन (अनन्त) लाई हेर्ने हो भने मान्न कर लाग्छ। १० वर्षे जनयुद्ध को महत्वपूर्ण सैन्य कमाण्डर रहेका वर्षमान अहिले शान्तिप्रक्रियामा पनि मा'वादीका प्रमुख सारथी नै छन्। प्रधानमन्त्री तथा मा'वादी अध्यक्ष पुष्पकमल दाहाललाई संस्थागत सुझाव दिन र सहयोग गर्न मा'वादीले बनाएको पाँच सदस्यीय प्रधानमन्त्री सहयोग समिति का सदस्य, सेना समायोजन बिशेष समितिको प्राविधिक समितिमा मा'वादीका दुईमध्ये एक प्रतिनिधि तथा हालै सरकारको सहयात्री एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्याले उत्पन्न राजनैतिक गतिरोध फुकाउन पार्टीभित्र गठन भएको छानबीन समितिको संयोजक हुनुले पनि पार्टीमा वर्षमानको स्थान लेखाजोखा गर्न सहयोग पुर्याउँछ। मा'वादीमा नयाँ पुस्ताबाट आएका थोरै क्षमतावान नेतामा दरिने उनलाई लामो दौडको घोडाको रुपमा हेर्ने गरिएको छ। नेपाली शान्तिप्रक्रियाका लागि मा'वादीको युद्धउन्माद ठूलो बाधक बनिरहेको धेरैको बुझाई रहेको बेला वर्षमानको भूमिका पार्टीलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गर्ने प्रकारको देखिन्छ। चर्चामा नआई काम गर्न रुचाउने उनको प्रयास सतहमा देखिँदैन, तर प्रम दाहाल बेलाबखत उग्र रुपमा प्रस्तुत हुँदा अरु सल्लाहकारहरुबाट तथा नरम हुँदा वर्षमानबाट सल्लाह पाउने गरेको बताइन्छ। यद्यपि, युद्धको धङधङीमा रहेका मा'वादी नेताहरुको हुलमा बसेर दललाई सहमतिको राजनीतितिर डोर्याउन उनलाई त्यति सजिलो भने छैन। भन्छन्, “युद्धको पृष्ठभूमीबाट आएका साथीहरुलाई रुपान्तरण प्रकियाको बाटोमा ल्याउनु युद्ध लड्नुभन्दा गाह्रो हुने रहेछ।” शान्तिकालमा जस्तै युद्धकालमा पनि वर्षमानको राजनीतिक यात्रा तीब्र गतिमा अघि बढेको थियो। २०४२ सालमा तत्कालिन नेकपा मशालको बिद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका उनी ०४७ मा पार्टी सदस्यता पाउनासाथ सक्रिय राजनीतिमा संलग्न भए। रोल्पामा ०५० मा वाइसीएलका जिल्ला अध्यक्ष, ०५१ मा युद्धका लागि जिल्ला पार्टीले बनाएको लडाकु दस्ताका अध्यक्ष र पार्टी जिल्ला सचिव हुँदै ०५५ मा पार्टीको केन्द्रीय स्तरको सैन्य आयोग का सदस्य बन्न पुगे। ०५८ मा उनले प्रस्तुत गरेको पार्टी सेनासम्बन्धी प्रतिवेदनकै आधारमा मा'वादीले जनमुक्ति सेना गठन गरेको थियो। ०५५ मा डा. बाबुराम भट्टराईको संयोजकत्वमा मा'वादीले बनाएको आफ्नो सरकार संयुक्त जनक्रान्तिकारी परिषद मा वर्षमानले जनसुरक्षा विभागको जिम्मेवारी पाएका थिए। त्यही वर्ष साउनमा भएको मा'वादीको पाँचौ विस्तारित वैठकबाट केन्द्रिय सदस्य, ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट वैकल्पिक पोलिटब्यूरो सदस्य र ०५९ मा पोलिटब्यूरो सदस्य बनेका उनी ०६३ देखि केन्द्रीय सचिवालय सदस्य छन्। मा'वादी नेताहरुको कठोर, युद्धकालीन ब्यबहारमाझ आफुलाई सच्चा राजनीतिज्ञको रुपमा चिनाउन सफल भएका छन् बर्षमान। धेरैले उनको सहयोगी र जिज्ञासु स्वभावलाई आफ्नो दलभित्र प्राप्त स्थानले दिएको आत्मबल ठान्छन्। अन्य दलका नेताहरु निकट सहकर्मीको ब्यबहार गर्छन् उनीसित। मा'वादीले आज जति नै चर्को बोले पनि ऊ खुला राजनीतितर्फ रुपान्तरण हुँदै जाने हो भने बर्षमान पुनलाई साँच्चिकै राष्ट्रिय राजनीतिको लामो दौडको घोडा मान्न सकिन्छ। सन्त गाहा मगर चन्द्रमा टेक्ने छोरी
नजिकबाट चिन्नेहरू मीरा भट्टराईलाई जिद्दी आईमाई भन्छन्। काममा लगनशील मीरा गर्छु भनेको काम पूरा गरेरै छाड्छिन्। मनोविज्ञान र अङ्ग्रेजीमा स्नातक उनी नेपाली हस्तकलालाई विश्व बजारमा पहिचान र प्रबर्द्धन गराउन प्रतिबद्ध भएर लागेकी छन्, जसबाट देशभरिका हस्तकला उत्पादनकर्मीहरूलाई फाइदा भएको छ। काठमाडौं, कालिमाटीको मध्यमवर्गीय परिवारकी मीराले बाल्यकालमा त्यति ठूलो आर्थिक समस्या झ्ेल्नु नपरे पनि अध्ययनका क्रममा पद्मकन्या क्याम्पसबाट सामाजिक सेवा भ्रमणमा राजधानी बाहिरका गाउँघरतिर जाँदा गरिबी, अभाव र महिलाले भोग्नु परेका समस्या देखेकी थिइन्। त्यसैले महिलाहरुको लागि केही गर्ने अठोट लिएकी उनले नेपाल महिला सङ्गठनको भर्खरै खुलेको परियोजना निर्देशकमा आवेदन गरेपछि तरुनी छोरीलाई जिल्ला-जिल्ला घुम्नुपर्ने जागिर खान पठाउने कि नपठाउने भनेर परिवारमा कचहरी नै बस्यो। संस्कृतका विद्वान् पिता बद्रीनाथ भट्टराई र दाजुहरूले पठाउन हुन्न भनेर जिद्दी गरेका थिए, तर आमा भगवतीले छोरी मान्छे चन्द्रमामा पुगिसकेको जमानामा किन रोक्ने भनेर समर्थन गरेकीले जागिरको ढोका खुल्यो। मीराले महिला सङ्गठनको महिला सीप विकास परियोजनामा कार्यक्रम निर्देशक भएर नौ वर्ष बिताइन्। त्यस क्रममा धरान, धनकुटा, दिपायल-सिलगढी आदि जिल्लाका गाउँ-गाउँ पुगेर हस्तकला प्रबर्द्धनमा लागेका दिनहरू अहिले पनि ताजै छन्। उनले नयाँ योजनाका साथ स्तरीय सामानको उत्पादन र बजारको व्यवस्थापन गरिन्। बेलायतको अक्सफाम, जर्मनीको गेटपा जस्ता अन्त17र्4ाष्ट्रिय संस्थाबाट सामानका अर्डर आउन थालेका थिए, तर महिला सङ्गठन जस्तो एउटा पञ्चायती वर्गीय सङ्गठनमा जागिर खान असहज हुँदै गएपछि उनी त्यो काम छोडेर धेरैलाई रोजगारी दिन र व्यावसायिक रूपमा कमाई गर्न सकिने कामको खोजीमा लागिन्। सन् १९८४ मा उनी दीर्घराज कोइरालाको अध्यक्षतामा गठित हस्तकला उत्पादक संघको संस्थापक सदस्यका साथै कार्यकारी अधिकृत हुनपुगिन्। व्यवसायमा दख्खल भएकोले काम गर्न उनलाई खासै कठिन भएन। केही वर्षमै संस्था आत्मनिर्भर भयो। हाल मीरा संघको कार्यकारी निर्देशक छिन्। युरोप, अमेरिकासम्म बजार फैलाएर मनग्गे आम्दानी भित्र्याएको संघले वार्षिक रु.८ करोडको कारोबार गर्छ। जर्मन, फ्रान्स, बेल्जियम, अष्ट्रेलिया, इटाली, अमेरिका, न्यूजिल्याण्ड, जापानबाट हुने नेपाली हस्तकलाको माग पूरा गर्न यसलाई भ्याईनभ्याई छ। स्वच्छ व्यापार (फेयर ट्रेड) मा नेपाललाई अन्तार्ष्ष्ट्रिय क्षेत्रमा चिनाउन मीरा र उनको संस्थाको ठूलो योगदान छ। स्वच्छ व्यापार भनेको विकासोन्मुख देशका उद्यमी-व्यवसायीहरूलाई सहयोग पुर्याउने र दिगो विकासलाई प्रबर्द्धन गर्ने बजार मान्यतामा आधारित सामाजिक आन्दोलन हो, जसले तिनका उत्पादनको स्वच्छ मूल्यको भुक्तानीका साथै सामाजिक तथा वातावरणीय मापदण्ड सुनिश्चित गर्दछ। उनी अहिले ७० देशका ३५० उत्पादक र क्रेता रहेको अन्तार्ष्ष्ट्रिय स्वच्छ व्यापार समूहको बोर्ड सदस्य पनि छिन्। मीराकै पहलमा १२ वर्षअघि खोलिएको हस्तकला उत्पादकहरूको साझा संस्था स्वच्छ व्यापार समूह नेपालको ३९ जिल्लामा सञ्जाल छ। सामाजिक उद्यमीको नामले कहलिएकी मीरा भट्टराईको मुख्य योगदान आफ्नो लगनशीलता, सीप र देश-देशावारको अनुभवबाट हजारौं मानिसलाई आयआर्जन दिलाउनु हो। डम्बरकृष्ण श्रेष्ठ प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |