|
|
||||||||
|
विज्ञान
शुभकामना सुनगाभाको
डा. तीर्थबहादुर श्रेष्ठ
कुरुप कोही नबन, सुनगाभा फुल्ने देशमा। -कविवर माधव घिमिरे सुनगाभा फुल्ने नेपालमा कोही कुरुप नहोउन्, सबै सुनगाभा जस्तै शोभायमान बनुन् भन्ने शुभकामना दिएर राष्ट्रकवि माधव घिमिरेले २०१५ सालतिरै रचेका हरफहरू हुन् यी। तर, त्यसको ५० वर्षपछि आज सुनगाभा फुल्ने हाम्रा धेरै वनपाखा उजाड भइसकेका, धेरैथरी सुनगाभा हराइसकेका र अहिले पनि हराइरहेका छन्। यसैबीच नेपाली किसानहरू विदेशबाट आयातीत सुनगाभा खेती गरेर लाभान्वित हुन थालेका छन्। तिनका खेतीमा आफ्नै देशका सुनगाभा किन नसिब भएनन्? पुष्पमेला र पुष्पव्यापारमा राखिने सबैजसो फूल किन गैरनेपाली मूलका हुन्छन्? त्यस्ता प्रदर्शनीस्थलमा आँखा घुमाउँदा हामी बिना नेपालको नेपालमा भएको भान हुन्छ। वास्तवमा राजधानीबाट त धेरै नेपाल हराइसकेको, विलाइसकेको पनि छ। राजधानी बाहिर नेपाल भेट्ने रहरले विक्रम सम्वत् २०६६ को नयाँ वर्षको शुभकामना बचेखुचेका वनपाखाका तिनै सुनगाभाबाट प्रारम्भ गर्न चाहन्छु। सुनगाभाको नालीबेली
सृष्टिको सुन्दरतालाई फूलले जस्तो अरू कसले वर्णन गर्न सक्छ र! त्यसमा पनि सुनगाभाले जस्तो। सिम्बिडियम जातिका सुनगाभाको लोकप्रियता विशेष रूपले उल्लेखनीय छ। सिम्बिडियम सुनगाभाका फूलहरूलाई माउबोटबाट काटेर फूलदानमा राख्दा पनि महिनौंसम्म तिनको मोहिनी रुप मूझराउँदैन र रङ खुइलिँदैन भने बागबगैँचा वा उद्यानको त कुरै बेग्लै। केही सिम्बिडियम सुनगाभा दशैं-तिहारताका फुल्दछन्। सन् १८२० मा कलकत्ता वनस्पति उद्यानका सुपरीटेन्डेन्ट नाथानियल वालिचले काठमाडौं उपत्यकाको शिवपुरीबाट सङ्कलन गरेको इरिडिवाइडिस प्रजातिका सुन्दर फूलहरू विश्वकै लागि नेपालीको नौलो परिचय बनेका थिए। त्यसअघिसम्म यो सुनगाभाको अस्ितत्वबारे संसारमै कसैलाई थाहा थिएन। नेपाली
सिम्बिडियम फूलको चर्चा हजारौं वर्ष पुरानो भएता पनि सिम्बिडियम भन्ने यसको नाम सन् १७९९ मा मात्र जुरेको हो। स्वार्ज भन्ने वनस्पतिविज्ञले ग्रीक शब्द किम्बियोन लाई आधार बनाएर सिम्बिडियम नाम दिएका हुन्, जसको शाब्दिक अर्थ डुङ्गा अथवा नाउ हुन आउँछ। केही सिम्बिडियमको मध्यभागको 'ठे तरेली (लिप पेटल) डुङ्गाको आकारमा पसारिएको देखिन्छ। माहुरी र भँवराहरू त्यही तरेलीमा पहिलो पाइलो टेकेर फूलभित्र छिर्छन्। पुष्प प्रदर्शनी र व्यापार सिम्बिडियम प्रदर्शनीमै पनि सय थरीका फूलहरू कुनै हात-दुईहात लामो डाँठमा झुम्मिएका त कुनै पेण्डूलम झ्ुल्ने डाँठमा अटाई-नअटाई सजिएका थिए। अलि आँखा लोभ्याउने खालको गमला हेर्यो भने रु.१५०० भन्दा कममा कुनै भेटिएन। कुनैमा त रु.५००० भन्दा बढीको मूल्यपत्र जन्तरझै झुण्डिएको थियो। सिम्बिडियम फूलको एउटा डाँठको रु.१५० वा सोभन्दा बढी पर्ने व्यवसायीहरू दाबी गर्दछन्। आखिर कटफ्लावरको कोटिमा सिम्बिडियम सर्वोत्कृष्ट नै ठहरिन्छ। नेपालमा पुष्प प्रदर्शनीको इतिहास केलायौं भने त्यसको सूत्रपातको श्रेय भारतीय दूतावासलाई जान्छ। शुरुका वर्षहरूमा विभिन्न देशका दूतावास तथा तारे होटलहरूको पुष्प प्रतिस्पर्धालाई आधार मानेर गोदावरीस्िथत तत्कालीन शाही वनस्पति उद्यानले सन् १९७० को दशकमा पुष्प प्रदर्शनीहरू आयोजना गर्न शुरु गरेको थियो। वनस्पति उद्यानले त्यसपछि भृकुटीमण्डप तथा राष्ट्रियसभा गृहमा प्रदर्शनीहरू आयोजना गर्न थालेकोले स्थानीय नर्सरीहरूले पनि प्रवेश र प्रोत्साहन पाए। गोदावरी राष्ट्रिय वनस्पति उद्यानले तिहारताका गोदावरी फूलको छुट्टै प्रतियोगितात्मक प्रदर्शनी पनि आयोजना गर्दै आएको छ। गोदावरीको सेरोफेरोमा साना-ठूला निजी पुष्प नर्सरीको विकास शुरु भएबाट आज उक्त क्षेत्र एक गाउँ, एक उत्पादन अभियानको एक अग्रणी भूमिकामा सिम्बिडियम सुनगाभालाई सकारेर उभिएको छ। वनस्पति उद्यानमा स्थापित भएको अर्किड टिस्स्यू कल्चर पनि निजी क्षेत्रमा फस्टाएकोले यो अभियानलाई विशेष बल पुग्न जाने विश्वास गर्न सकिन्छ। आजको नेपालमा पुष्प व्यवसाय फस्टाइरहेको छ भन्नेमा व्यवसायीहरू निश्चिन्त छन्। यस क्षेत्रमा भएको लगानीले रु.१ अर्ब नाघिसक्यो भन्ने पनि सार्वजनिक भएको छ। हालै १२-१६ चैतमा भृकुटीमण्डपमा आयोजना गरिएको पुष्प व्यापारमेलाको सफलताले फ्लोरिकल्चर एसोसिएसन नेपाल गौरवान्वित भएको हुनुपर्दछ। १६ वसन्त पार गरिसकेको यस्तो प्रदर्शनीका लागि आउँदा वर्षहरूमा भृकुटीमण्डपको त्यो प्रदर्शनीस्थल साँघुरो हुनेछ। तर हजारौं हजार फूलले सजिएको त्यस मेलामा लालीगुराँसका केही ख्याउटे बोटबाहेक नेपाली मूलका कुनै फूल भेटिएनन्। नेपाली मल, माटो र पानी अनि किसानका श्रम, सीप र पसिनामा फुलेका ती फूलहरूले नेपालमा जे पनि फुल्छ, नेपालीले जे पनि फुलाउँछन् भन्ने सङ्केत गरेका थिए। नयाँ वर्ष २०६६ ले सबै पाठकहरूलाई शोभायमान बनाउने सुनगाभाको शुभकामना! प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |