हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
विज्ञान
शुभकामना सुनगाभाको
डा. तीर्थबहादुर श्रेष्ठ

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

पर्वत पुत्र विस्तारै प्रवेश गर्छिन बैंसमा
कुरुप कोही नबन, सुनगाभा फुल्ने देशमा।

-कविवर माधव घिमिरे

सुनगाभा फुल्ने नेपालमा कोही कुरुप नहोउन्, सबै सुनगाभा जस्तै शोभायमान बनुन् भन्ने शुभकामना दिएर राष्ट्रकवि माधव घिमिरेले २०१५ सालतिरै रचेका हरफहरू हुन् यी। तर, त्यसको ५० वर्षपछि आज सुनगाभा फुल्ने हाम्रा धेरै वनपाखा उजाड भइसकेका, धेरैथरी सुनगाभा हराइसकेका र अहिले पनि हराइरहेका छन्। यसैबीच नेपाली किसानहरू विदेशबाट आयातीत सुनगाभा खेती गरेर लाभान्वित हुन थालेका छन्। तिनका खेतीमा आफ्नै देशका सुनगाभा किन नसिब भएनन्? पुष्पमेला र पुष्पव्यापारमा राखिने सबैजसो फूल किन गैरनेपाली मूलका हुन्छन्? त्यस्ता प्रदर्शनीस्थलमा आँखा घुमाउँदा हामी बिना नेपालको नेपालमा भएको भान हुन्छ। वास्तवमा राजधानीबाट त धेरै नेपाल हराइसकेको, विलाइसकेको पनि छ। राजधानी बाहिर नेपाल भेट्ने रहरले विक्रम सम्वत् २०६६ को नयाँ वर्षको शुभकामना बचेखुचेका वनपाखाका तिनै सुनगाभाबाट प्रारम्भ गर्न चाहन्छु।

सुनगाभाको नालीबेली
सुनगाभा अथवा सुनाखरी भनेपछि बूढो रूखको बुईं चढेर झयाउ र उन्यूले बेरिएका हाँगा र टोड्कामा लटरम्म लत्रिएका विभिन्न रङका फूलका लहराहरूको सम्झ्ना आउँछ। प्रायः सबै रूखका हाँगा र कापमा उम्रने गरेपनि सुनगाभाहरू परजीवी हुँदैनन्। यिनले ऐंजेरुले झ्ैं आफू चढेकै वृक्षमा जरा गाडेर खाद्य-रस चुस्दैनन्, हावाबाटै मलजल प्राप्त गर्दछन्। कुनै-कुनै प्रजाति त जमिनमै उम्रन्छ, रूख चढ्दा पनि चढ्दैन।

वनस्पति विज्ञान वा पुष्पबजारमा सुनगाभालाई अर्किड भनिन्छ। अर्किड परिवारभित्र १७ हजार प्राकृतिक तथा हजारौं मानवकृत ठिमाहा जातजातिका वनस्पति पर्दछन्। पुष्पमेलामा देखिने ठिमाहा जातको वर्चस्वलाई अरू वनस्पतिले उछिन्न गाह्रो छ, किनभने यिनका पुष्पाकृति, रङ, साजसज्जा र आकर्षण अरूको भन्दा बिल्कुलै बेग्लै र कौतुहलमय छन्। सुनगाभा परिवारका कुनै-कुनै फूलहरूको परागसेचन र गर्भाधान प्रक्रिया पत्याइनसक्नुको हुन्छ। यसलाई सफल बनाउन भँवरा, माहुरी, बारुला, कमिला र अन्य विभिन्न कीटपतङ्गहरूलाई आकर्षित गर्ने ती सुनगाभाको रुपरङ र सजावट यति आकर्षक हुन्छ, यौन-उत्तेजनाले मत्त कुनै-कुनै बारुलाहरू फूललाई नै पोथी ठानेर सम्भोग गर्न पुग्दछन्। युरोपमा पाइने 'फ्रिस जातिको सुनगाभाको यस्तो करामत नेपालका सुनगाभामा भने देख्न पाइँदैन।

सृष्टिको सुन्दरतालाई फूलले जस्तो अरू कसले वर्णन गर्न सक्छ र! त्यसमा पनि सुनगाभाले जस्तो। सिम्बिडियम जातिका सुनगाभाको लोकप्रियता विशेष रूपले उल्लेखनीय छ। सिम्बिडियम सुनगाभाका फूलहरूलाई माउबोटबाट काटेर फूलदानमा राख्दा पनि महिनौंसम्म तिनको मोहिनी रुप मूझराउँदैन र रङ खुइलिँदैन भने बागबगैँचा वा उद्यानको त कुरै बेग्लै।
राम्रो स्याहारसुसार खोज्ने यी बिरुवाहरू हत्तपत्त मर्दैनन्। सिम्बिडियमका प्राकृतिक प्रजातिको सङ्ख्या तीन सयभन्दा धेरै छ भने नेपालमा पनि बाक्लो वन भएका क्षेत्रमा ११ प्रजाति भेटिन्छन्। पुष्पाकृति र रङशोभाका दृष्टिले सबै प्रजाति उत्कृष्ट कोटिमा पर्दछन्। यी फूलहरूको सौन्दर्यलाई देखेर प्रकृति संरक्षणतर्फ प्रेरित नहुनु नैराश्यकताको पराकाष्ठा हुन्छ।
चैतदेखि जेठ सिम्बिडियम फुल्ने याम हो। यसका स्वच्छ सेता फूलभित्रको तल्लो 'ठमा हल्का सुनौलो जलप भएको इवर्नियम र इमरल्ड, यूँको फिका हरियो तरेलीहरूको माझ्मा छिरबिरे राता बुट्टाले सजिएको डेभोनियानम, सेतो किनारा छोडेर छ्याप्पै रातो पोतिएका तरेलीहरूका माझ्मा रक्ताम्य 'ठ बाएको इरिथि्रयम जातका सुनगाभाहरू नयाँ वर्षका नेपाली सौगात हुन्।

केही सिम्बिडियम सुनगाभा दशैं-तिहारताका फुल्दछन्। सन् १८२० मा कलकत्ता वनस्पति उद्यानका सुपरीटेन्डेन्ट नाथानियल वालिचले काठमाडौं उपत्यकाको शिवपुरीबाट सङ्कलन गरेको इरिडिवाइडिस प्रजातिका सुन्दर फूलहरू विश्वकै लागि नेपालीको नौलो परिचय बनेका थिए। त्यसअघिसम्म यो सुनगाभाको अस्ितत्वबारे संसारमै कसैलाई थाहा थिएन। नेपाली
लान्सिफोलियम प्रजातिको सुनगाभा ग्रीष्मयामपछि पनि वर्षाभरि फुल्ने सिम्बिडियममा पर्दछ। यस फूलका बाहिरी तीनवटा तरेलीको आकार खड्गजस्तै लाम्चो र टुप्पो तीखो देखिने हुनाले यसले लान्सिफोलियम अर्थात् भाला वा खड्ग आकारको तरेली भन्ने संज्ञा पाएको हो। यसैगरी ग्रीष्म र वर्षा खप्ने पेण्डूलम प्रजातिका रातो र प्याजी रङका फूलका लहराहरू तख्ताघडीको लङ्गुरझै दायाबायाँ झुलेर पहराका ठूला-ठूला ढुङ्गाका चेपमा लटरम्म फुलिरहेका हुन्छन्। सिम्बिडियम सुनगाभा नेपालका औल, बेसी र चुरेका घाँचमा बढी भेटिन्छन्। यिनका वंशाणुगत गुणहरू कैयौं व्यापारिक सिम्बिडियममा समाहित भइसकेका हुनसक्छन्, जसको हामीले अध्ययन-अनुसन्धान गर्न सकेका छैनौं। व्यवस्िथत अध्ययन-अनुसन्धान हुनसकेमा हाम्रा रैथाने सिम्बिडियमहरूले नयाँ बजार भेट्ने निश्चित नै छ।

सिम्बिडियम सुनगाभाको सुवास र सौन्दर्यलाई चीनका महान् दार्शनिक कन्फ्यूसियसले २५ सय वर्ष पहिले नै मुक्तकण्ठले तारिफ गरेका सुनगाभाको इतिहासमा अङ्कित छ। कन्फ्यूसियस र बुद्ध समकालीन (सिद्धार्थ गौतम १२ वर्षले मात्र जेठा) हुन्। वैशाख पूर्णिमाको दिन सिद्धार्थको जन्म हुँदा आकाशबाट पुष्पवृष्टि भएको सुन्ने गरेका हामी त्यसमा सुनगाभाको वृष्टि भएको सहजै कल्पना गर्न सक्छौं। नेपाली, विशेषतः काठमाडौंका नेवार, बुद्धको जन्म भएको वैशाख पूर्णिमालाई स्वाँ या पुन्हि अर्थात् पुष्पपूर्णिमा भन्दछन्।

सिम्बिडियम फूलको चर्चा हजारौं वर्ष पुरानो भएता पनि सिम्बिडियम भन्ने यसको नाम सन् १७९९ मा मात्र जुरेको हो। स्वार्ज भन्ने वनस्पतिविज्ञले ग्रीक शब्द किम्बियोन लाई आधार बनाएर सिम्बिडियम नाम दिएका हुन्, जसको शाब्दिक अर्थ डुङ्गा अथवा नाउ हुन आउँछ। केही सिम्बिडियमको मध्यभागको 'ठे तरेली (लिप पेटल) डुङ्गाको आकारमा पसारिएको देखिन्छ। माहुरी र भँवराहरू त्यही तरेलीमा पहिलो पाइलो टेकेर फूलभित्र छिर्छन्।

पुष्प प्रदर्शनी र व्यापार
नेपालमा सिम्बिडियम सुनगाभाको पहिलो पुष्प प्रदर्शनी गएको ८ चैतमा ललितपुर, जावलाखेलको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको प्राङ्गणमा भयो। यसका व्यावसायिक उत्पादकहरूले आयोजना गरेको प्रदर्शनीका रोचक पक्षहरूमध्ये एक गाउँ एक उत्पादन कार्यक्रममार्फत ललितपुरलाई सिम्बिडियम सुनगाभाको जिल्ला बनाउने ललितपुर उद्योग वाणिज्य संघको दृढता, सुनगाभालाई राष्ट्रिय ध्वजावाहक विमान सेवाको प्रतीक चिन्ह बनाउनुपर्ने कृषि तथा सहकारी मन्त्रालयका सचिवको धारणा, जापानी राजदूतावासलगायत अन्तर्राष्ट्रिय सहयोगका लागि जापानी संस्था जाइका को सहयोग र सहभागिता उल्लेखनीय थिए। प्रदर्शनीमा सहभागी एक जापानी सुनगाभा विशेषज्ञ २० वर्ष पहिले आफू पहिलोपटक नेपाल आउँदा त्रिभुवन राजपथ र थानकोट आसपास प्रचुर मात्रामा देखिएका सुनगाभा लोप भएकोमा खिन्न भएपनि किसानहरूका सुनगाभा देखेर प्रसन्न भए।
प्रदर्शनीका आयोजकहरूले सबै उत्सवका लागि सिम्बिडियम भन्ने नारा अघि सार्दै प्रदर्शनीस्थलमा सयौं सिम्बिडियमले सजाइएका दुलहीको डोली र विवाहका गाडी भित्र्याएका थिए।

सिम्बिडियम प्रदर्शनीमै पनि सय थरीका फूलहरू कुनै हात-दुईहात लामो डाँठमा झुम्मिएका त कुनै पेण्डूलम झ्ुल्ने डाँठमा अटाई-नअटाई सजिएका थिए। अलि आँखा लोभ्याउने खालको गमला हेर्‍यो भने रु.१५०० भन्दा कममा कुनै भेटिएन। कुनैमा त रु.५००० भन्दा बढीको मूल्यपत्र जन्तरझै झुण्डिएको थियो। सिम्बिडियम फूलको एउटा डाँठको रु.१५० वा सोभन्दा बढी पर्ने व्यवसायीहरू दाबी गर्दछन्। आखिर कटफ्लावरको कोटिमा सिम्बिडियम सर्वोत्कृष्ट नै ठहरिन्छ।

नेपालमा पुष्प प्रदर्शनीको इतिहास केलायौं भने त्यसको सूत्रपातको श्रेय भारतीय दूतावासलाई जान्छ। शुरुका वर्षहरूमा विभिन्न देशका दूतावास तथा तारे होटलहरूको पुष्प प्रतिस्पर्धालाई आधार मानेर गोदावरीस्िथत तत्कालीन शाही वनस्पति उद्यानले सन् १९७० को दशकमा पुष्प प्रदर्शनीहरू आयोजना गर्न शुरु गरेको थियो। वनस्पति उद्यानले त्यसपछि भृकुटीमण्डप तथा राष्ट्रियसभा गृहमा प्रदर्शनीहरू आयोजना गर्न थालेकोले स्थानीय नर्सरीहरूले पनि प्रवेश र प्रोत्साहन पाए। गोदावरी राष्ट्रिय वनस्पति उद्यानले तिहारताका गोदावरी फूलको छुट्टै प्रतियोगितात्मक प्रदर्शनी पनि आयोजना गर्दै आएको छ। गोदावरीको सेरोफेरोमा साना-ठूला निजी पुष्प नर्सरीको विकास शुरु भएबाट आज उक्त क्षेत्र एक गाउँ, एक उत्पादन अभियानको एक अग्रणी भूमिकामा सिम्बिडियम सुनगाभालाई सकारेर उभिएको छ। वनस्पति उद्यानमा स्थापित भएको अर्किड टिस्स्यू कल्चर पनि निजी क्षेत्रमा फस्टाएकोले यो अभियानलाई विशेष बल पुग्न जाने विश्वास गर्न सकिन्छ।

आजको नेपालमा पुष्प व्यवसाय फस्टाइरहेको छ भन्नेमा व्यवसायीहरू निश्चिन्त छन्। यस क्षेत्रमा भएको लगानीले रु.१ अर्ब नाघिसक्यो भन्ने पनि सार्वजनिक भएको छ। हालै १२-१६ चैतमा भृकुटीमण्डपमा आयोजना गरिएको पुष्प व्यापारमेलाको सफलताले फ्लोरिकल्चर एसोसिएसन नेपाल गौरवान्वित भएको हुनुपर्दछ। १६ वसन्त पार गरिसकेको यस्तो प्रदर्शनीका लागि आउँदा वर्षहरूमा भृकुटीमण्डपको त्यो प्रदर्शनीस्थल साँघुरो हुनेछ। तर हजारौं हजार फूलले सजिएको त्यस मेलामा लालीगुराँसका केही ख्याउटे बोटबाहेक नेपाली मूलका कुनै फूल भेटिएनन्। नेपाली मल, माटो र पानी अनि किसानका श्रम, सीप र पसिनामा फुलेका ती फूलहरूले नेपालमा जे पनि फुल्छ, नेपालीले जे पनि फुलाउँछन् भन्ने सङ्केत गरेका थिए।
अब कुरा गरौं नेपालको अपार जैविक सम्पदाको। उन्यू, च्याउ, लेउ वा झयाउलाई छोडेर फूलै फुल्ने वनस्पति प्रजातिको सङ्ख्या नेपालमा ५,८५६ छ। गुराँस प्रजातिको सङ्ख्या मात्रै ३० नाघ्छ भने सुनगाभा परिवारमा ३६३ भन्दा बढी प्रजाति छन्। प्रिमुलाका प्रजाति पनि ६० भन्दा बढी छन्। नेपालका आफ्नै रैथाने वनस्पतिलाई किसानका नर्सरी, बगैँचा र बाटिकामा हुर्काउन सके पुष्प व्यवसायले आफ्नै आयाम थप्न सक्छ। त्यसका लागि अलि विशेष लगानी, अनुसन्धान र केही प्रचार-प्रसार नगरी हुँदैन। पुष्प उद्यमीहरूलाई यसप्रति आकर्षित गर्न नयाँ वर्षले प्रेरणा दे'स्, कुरुप कोही नबनुन् विशेष गरेर हाम्रो राज्यसत्ता।

नयाँ वर्ष २०६६ ले सबै पाठकहरूलाई शोभायमान बनाउने सुनगाभाको शुभकामना!

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क