राजनीतिक हस्तक्षेपबाट टाढा रहनु अहिलेको चुनौति: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश खिलराज रेग्मीले देश सङ्क्रमणकालीन अवस्थामा रहेको र न्याय क्षेत्र समेत नयाँ–नयाँखालका मुद्दामा केन्द्रित हुनुपर्ने भएकाले न्यायालयलाई स्वतन्त्र बनाउन सबैको पहल रहनुपर्ने विचार व्यक्त गरेका छन् ।

पर्वत जिल्ला अदालतको नवनिर्मित भवनको ७ असोजमा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश रेग्मीले न्याय क्षेत्रमा राजनीतिक हस्तक्षेप भएमा नागरिकले स्वतन्त्ररूपमा सेवा पाउनबाट वञ्चित हुने भएकाले राजनीतिक हस्तक्षेपबाट टाढा रहेर काम गर्नुपर्ने अहिलेको चुनौती भएको वताए । दोषीलाई कारबाही र निर्दोषीलाई न्याय दिलाउन राजनीतिक दल तथा नागरिक समाजले सहयोग गर्नुपर्ने भन्दै न्यायाधीश रेग्मीले सबैको सहयोगमा मात्र न्यायले पूर्णता पाउने भएकाले न्याय दिलाउन सबै वर्ग र समुदायले सहयोग गर्नुपर्नेतर्फ औंल्याए ।

जनतालाई छिटो, छरितो र गुणस्तरीय सेवा दिनका लागि न्याय क्षेत्रले स्वतन्त्र भएर काम गर्नुपर्ने र आफूले त्यसका लागि आवश्यक सहयोग गर्ने उनले बताए । रासस