लिम्बू कि याक्थुङ्?

आफ्नो ऐतिहासिकता तथा भाषा–संस्कृति विपरीत र अर्को समुदाय तथा बाह्यजगतले हेयभावले राखेको नामका आधारमा जातीय प्रदेशको माग गर्नु आफैंमा सोचनीय कुरा छ।

डा. रमेशकुमार ढुंगेल

हिजोआज ‘लिम्बू’ नामले चिनिने समुदाय अनेकन् सांस्कृतिक परम्परा बोकेका नेपालका ११४ भन्दा बढी जातीय समुदायमध्ये एक हो। काठमाडौं उपत्यकाका आदिम किराँत र सुदूर कोशी–मेचीपारका किराँत (लिम्बू, लेप्चा) को वंशगत तथा ऐतिहासिक सम्बन्धबारे आनुवंशिक अध्ययन नभए पनि ‘लिम्बू’ हरू नेपाल देशको प्राचीनतम जातिमध्ये एउटा भएको प्रमाणहरू छन्। ‘लिम्बू’ वा ‘लिंवू’ नाम भने यस समुदायको इतिहास जति पुरानो छैन। उनीहरूकै बोली वा भाषा र सिरिजङ्गा (खास नाम रुपिहाङ् राय) का लेखोटहरूमा समेत ‘लिम्बू’ शब्द भेटिंदैन। यो नाम भोट वा भोटमूलको ‘लिङ्’ र ‘पो’ वा ‘वो’ (तिब्बती लेखाइमा ‘लिङ्स–पो’ वा ‘लिङ्स–वो’) शब्दको अपभ्रंश हुनु यसको सारभूत ऐतिहासिक कारण देखिन्छ।

तिब्बती वा भोट भाषामा ‘लिङ्’ र ‘पो’ वा ‘वो’ शब्द (तिब्बती लेखाइमा ‘लिङ्स–पो’ वा लिङ्स–वो’ ) को अर्थ ‘टाढिएको, सीमान्त क्षेत्र वा अनकन्टार जंगल इलाकामा शिकारी भई पसेर हराएको’ वा ‘मूल सभ्यता, धर्मसंस्कृति, परम्परा भन्दा बाहिर पुगेको’ अर्थात् सभ्यता नभएको आदि हुन्छ। यो जातिलाई सबैभन्दा पहिले भोट वा भोट मूलका लामा र शासकहरूले ‘आफूभन्दा कमसल, असभ्य वा दूरइलाका–कुनावासी’ को रूपमा ‘लिङ्’ र ‘पो’ वा ‘वो’ भन्न थालेको देखिन्छ। भोट र सिक्किमतर्फका लामा र भोट मूलका शासकहरूका दृष्टिमा यो शब्दको प्रयोग खासगरी राजनीतिक र सांस्कृतिक प्रभुत्ववाद (कल्चरल हेजेमोनिज्म) का दृष्टिकोणबाट निकै अर्थपूर्ण पनि छ। यस विषयमा अलिक विस्तारपूर्वक बुझन लिम्बूहरूको प्राचीनता र ऐतिहासिक बसोबास क्षेत्रको चर्चा आवश्यक छ।

‘लिम्बू’ (याक्थुङ्) नालीबेली
‘लिम्बू’ समुदायको बसोबासको ऐतिहासिक स्थल वर्तमान नेपालको पहाडमा अरुण भन्दा पूर्व र तराईमा सप्तकोशीदेखि मेची नदीसम्मको भूभाग हो। ‘लिम्बू’ बसोबास क्षेत्र समय–समयमा संकुचन र विस्तार भएको ऐतिहासिक प्रमाणहरू छन्। आधुनिक नेपाल निर्माण भन्दा पहिले उत्तरमा हिमालय पर्वत र दक्षिणमा हालको भारतको जलालगढ (पूर्णिया) सम्मका भूभागमा ‘लिम्बू’ को राजनीतिक अधिकार थियो। यत्रो भूभाग भए पनि सिक्किमले शक्ति विस्तार गर्दा कहिलेकाहीं ‘लिम्बू’ शासकका पहाड र तराई दुवैतर्फका क्षेत्रहरू पूर्ण अधिकारमा त कहिले शिर्तो बुझ्ाउने करद (कर) प्रदेशमा परिणत हुन्थे। कहिलेकाहीं चाहिं ‘लिम्बू’ भूभाग आंशिक रूपमा खण्डित पनि हुन्थ्यो।

सिक्किमका भोटे शासकको उग्र थिचोमिचोबाट बच्न लिम्बू शासक र जनताले कहिलेकाहीं पश्चिमका सेन राजाहरूसँग सहयोग माग्थे। यसक्रममा सेन राजाहरूलाई मूल शासक स्वीकारेर विजयपुर, चौदण्डी जस्ता राई–लिम्बू क्षेत्रको शासन व्यवस्था चल्ने–चलाउने प्रबन्ध गरिएका ऐतिहासिक प्रमाण पाइएका छन्। ‘लिम्बू’हरू स्थानीय शासक हुँदाको अवस्थामा र सिक्किमका भोटे शासकको थिचोमिचोबाट जोगिन मकवानी सेनहरूलाई आमन्त्रण गरेपछि समेत यस प्रदेश वा राज्यको नाम ‘लिम्बू इलाका’ ‘लिम्बूवान’ आदि नभई विजयपुर थियो। यसै क्षेत्रका विजयनारायण राय नामक किराँत (लिम्बू) शासककै नामबाट विजयपुरको नाम रहेको ऐतिहासिक मान्यता छ।

विजयपुर राज्यको पहाडतर्फ ‘लिम्बू’ का १० स्थानीय नायक (हाङ्) को प्रशासन चल्थ्यो भने तराईतर्फ सोझै मूल शासक वा तिनका मुख्य काजी (मुख्य मन्त्री) अन्तर्गत राज्य व्यवस्था मिलाइएको थियो। सेनहरूलाई राजाको रूपमा आमन्त्रण गरेर मूल गद्दीमा राखिएपछि भने विजयपुर दरबारमा एक जना राय (लिम्बू) र एक जना खसका गरी दुई जना मुख्यमन्त्री राख्ने चलन चल्यो। यस्तो व्यवस्थाको उद्देश्य स्थानीय परम्परालाई मान्यता दिंदै सिक्किमको अतिक्रमणलाई रोक्ने क्रममा त्यस क्षेत्रमा पुर्‍याइएका खस र मगर समुदायको व्यवस्थापन गर्नु पनि थियो। यसो गर्दा बाह्य आक्रमणबाट रक्षासँगै विजयपुरको आन्तरिक राज्यव्यवस्था पनि राम्रोसँग चल्थ्यो।

आफ्नो भाषामा ‘लिम्बू’ हरूको जातीय नाम वा पहिचान ‘याक्थुङ्’ वा ‘याक्थुङ्वा’ हो। सिक्किम मूल थलो भएका किराँत परिवारका लेप्चाहरूले ‘याक्थुङ्’ वा ‘याक्थुङ्वा’ हरूलाई सम्मानपूर्वक ‘चोङ्’ वा ‘चोङ्वा’ भनेर सम्बोधन गर्दथे, अझ्ै गर्दछन्। किराँतको प्राचीनतम चोङ्लिपि, किराँत लिपि, भाषा र साहित्यका विद्वान् सिरिजङ्गाको आदरार्थी नाम, विशेषण ‘सिरि चोङ्वा’ लेप्चाहरूले लिम्बूलाई सम्बोधन गर्ने वा चिनाउँने क्रममा बनेकोमा शंका गरिरहनुपर्दैन। यसबाट याक्थुङ् मुन्धुम (मुन्थुङ्), याक्थुङ् सेमा मुन्थुङ् तथा याक्थुङ्हाङ् जस्ता प्राचीन र हिजोआज प्रचलित ‘याक्थुङ्–चुम्लुङ्’ जस्ता नाम ‘लिम्बू’ लाई जनाउने स्थानीय सम्मानका बोली हुन् भनेर सहजै बुझ्िन्छ। याक्थुङ् शासक कूलका विद्वान रुपिहाङ् रायको अत्यन्त सम्मानित उपनाम ‘सिरिजङ्गा’ को प्रसंग पनि यहाँ उल्लेख्य छ। यी रुपिहाङ्लाई ‘लिम्बू’ वा ‘लिम्बूवान’ का नभनी लिम्बूलाई चिनाउने लेप्चा नाम ‘चोङ्’ र हिन्दू तथा बौद्ध आदर्शको आदरार्थी ‘श्री’ समेत जोडेर ‘श्री चोङ्वा’ भनियो। यो नाम पछि अपभ्रंश हुँदै ‘श्री जोङ्वा’ र ‘सिरिजङ्गा’ हुनपुग्यो। याक्थुङ् (लिम्बू) समुदायको इतिहासमा यो एउटा बुझनैपर्ने रोचक तथ्य हो।

‘लिम्बू’ नाम स्थानीय याक्थुङ् समुदायलाई भोट मूलका शासक र लामाहरूले हेयभावले राखेको नामबाट आएको इतिहासले देखाए पनि ज्ञानको अभावका कारण सेन, गोर्खाली शासक, बेलायती विद्वान् ब्रायन हज्सन्, उनका अनुसन्धान सहयोगी र पछि बाह्यजगतले समेत ‘याक्थुङ्’ वा ‘याक्थुङ्वा’ नभनी ‘लिम्बू’ नै प्रयोग गरे। पृथ्वीनारायण शाह र उनका उत्तराधिकारी तथा प्रशासकहरूले व्यावहारिक सम्बोधनमा ‘लिम्बू’ जाति र तिनको ऐतिहासिक बसोबास क्षेत्रलाई उर्दू–पर्सियन शब्दको ‘आना’ जोडेर ‘लिम्बूआना’ भने, जुन अहिले ‘लिम्बूवान’ भएको छ। जबकि, लन्डनको ब्रिटिश लाइब्रेरीमा सुरक्षित १७० देखि झ्ण्डै ३०० वर्षअघिसम्म सिरिजङ्गा लिपिमा लेखिएका दर्जनौं स्रोतमा कतै पनि ‘लिम्बू’ शब्द भेटिन्न।

याक्थुङ्वाहरूलाई आफ्नोतर्फ मिलाउने क्रममा पृथ्वीनारायण शाहले जारी गरेका औपचारिक आदेश र प्रतिज्ञापत्रहरूमा ‘लिम्बू’ शब्द प्रयोग गर्दा उनीहरूको मूल नामबारे जानकारी नभएको वा सिक्किमे तथा भोटतर्फका लामा र अधिकारी वर्गले चलाएको हेयको शब्द नै चलाउन चाहेको बुझ्िन्छ। उनका उत्तराधिकारीहरूले पनि अज्ञानतावश ‘लिम्बू’ नै चलाए। याक्थुङ्हरूको ऐतिहासिक थलोलाई आधिकारिक रूपमा ‘पल्लो किराँत’, ‘विजयपुर राज्य’, ‘मोरङ इलाका’, ‘१७ थुम्’, ‘तेह्र थुम’, ‘पूर्व ६ नम्बर चैनपुर’, ‘चैनपुर अमाल इलाका’, ‘पाँच खपन’, ‘दश मझ्िया’, ‘सुखिम चैनपुर’ जस्ता क्षेत्रीय प्रशासनिक नाम दिइएका दस्तावेजहरू पनि पाइन्छ। ‘पल्लो किराँत’ नाम पञ्चायतकालसम्म नै प्रचलित थियो। ऐतिहासिक प्रशासनिक हिसाबले पल्लो किराँतका खाम्पालुङ् इशलिम्बा, सिङ्लेला जस्ता क्षेत्रीय पर्वत शृङ्खलाका नाम पनि उत्तिकै उल्लेख्य छन्।

पृथ्वीनारायण शाहको समयमा सल्यानी र जाजरकोटे राजाहरूलाई काठमाडौंबाट पठाइएका लालमोहरहरूमा पल्लो किराँतको पहाडी इलाकालाई ‘पूर्वको सुखिम चैनपुर’ भनिएको छ। ‘लिम्बू’ शब्द स्थानीय (नेटिभ) नभएको सन्दर्भमा ‘लिम्बू’ प्रशासनिक नाम नराखिनु स्वाभाविकै पनि हो। तर, सिक्किमका भोट मूलका शासकका साथै कालान्तरमा तिब्बततर्फबाट झ्रेका गोवा आदि स्थानीय प्रशासक र लामाहरूले हेयभावमा ‘लिङ्वो’ वा ‘लिङ्वु’ नै भन्दा पछि खस, मगर आदि समुदायले पनि यथार्थ नबुझ्ी अनौपचारिक रूपमा ‘लिंवू’ नै भन्ने गरे। यसरी ‘लिम्बू’ स्थानीय याक्थुङ्वाहरूलाई याक्थुङ्इतरका समुदायले भ्रमवश दिएको एउटा समुदायगत नाम हुनपुग्यो। यस सन्दर्भमा एउटा चाखलाग्दो तथ्य के छ भने, उत्तरी संखुवासभाको हटिया गाविस नजिकै स्याक्सिलामा करीब २७ घरधुरीको वस्तीमा ‘सिरजुङ्’ नामले चिनिने र आफूलाई ‘लिङ्वो’ भनेर चिनाउने समुदाय अहिले पनि छ। भोट मूल अन्तर्गत परेको र भाषा आदिले पनि भोट मूलमै समेटिएको यो समुदाय आफूहरू ‘सिरजुङ् लिङ्वु’ भएको र आफ्ना पुर्खा हाङ् राजाको तर्फबाट कर उठ्तीका निम्ति आएर यतै बसोबास गरेको सुनाउँछन्। आफूलाई हाङ् राजाका कर अधिकारीको सन्तान भन्ने ‘सिरजुङ् लिङ्वो’हरू पनि याक्थुङ् वा लिम्बूहरूसँगै सम्बन्धित भएको बुझिन्छ।

याक्थुङ्हरूको प्राचीन इतिहाससम्म नपुग्ने ‘लिम्बू’ नाम भोट मूलका सिक्किमे शासक र लामाहरूले आक्रमण–अतिक्रमण, लेनदेन–व्यापार वा अरूखाले सम्पर्कका क्रममा ‘लिङ्वु’ वा ‘लिंवू’ भनेबाटै आएको हो। इतिहासमा ‘लिंवू’ र सिक्किम–भोटबाट ओर्लिएका भोट मूलका समुदायबीच सिमाना र क्षेत्रीय प्रभुत्वका विषयमा धेरै पटक ठूला–साना झ्डप भएका थिए। सिक्किमका लामाको पेलाइ र उक्साहटमा त्यहाँका भोटे शासकले गराएको महात्मा सिरिजङ्गाको हत्या राजनीतिक र सांस्कृतिक प्रभुत्ववादको एउटा दुर्दान्त घटना हो। हेयभावको सम्बोधन र याक्थुङ् विद्वानको हत्या एकअर्कोसँग असम्बन्धित घटना थियो भनेर मान्न सकिंदैन।

गोर्खालीसँग सम्झौता र काङ्सो रे
‘लिम्बू’ अर्थात् याक्थुङ्वाहरूले पृथ्वीनारायण शाहसँग ठिङ्रो–मुङ्रो (जेलनेल राख्ने विशेष स्थानीय शासन अधिकार) सहित आश्रित इलाकाको सम्झ्ौता गरेका थिए। माझ् किराँतलाई अनेकन् सैन्य आक्रमण र घमासान युद्धबाट अधीनस्थ गरेपछि पृथ्वीनारायणका सैन्यले पल्लो किराँत अर्थात् याक्थुङ्को ऐतिहासिक क्षेत्र चैनपुरअन्तर्गत सिङ्लेला पहाड र इलामदेखि सिक्किमसम्मका सत्र वटै थुम जित्न कुनै युद्ध गर्नु परेन। भोजपुर नजिक फालि (फालीकोट/फालिजोङ्) मा थर्पु (क्याम्प) हालेर बसेका गोर्खाली सेनानायकहरूलाई लिम्बूका १० हाङ् क्षेत्रीय नायक र तिनका प्रतिनिधिले चैनपुर किल्लामा बोलाएर पान–फूलसहित स्वागत गरेका थिए। बदलामा पृथ्वीनारायणले ‘लिम्बू’ का जहान, बालबच्चासहित उक्त क्षेत्रको पूर्ण सुरक्षाको जिम्मेवारी लिएका प्रमाण ताम्रपत्र र अन्य मोहरहरू हुन्। पृथ्वीनारायणले कुनै–कुनै लालमोहरमा ‘लिम्बू’ लाई तुतु तुम्याङ ‘याक्थुङ् हाङ्’का सन्तान पनि भनेका छन्। यसले ‘लिम्बू’ नभनी ‘याक्थुङ् शासकका सन्तान’ भनेर सम्मान गर्न खोजेको देखाउँछ।

यस सन्दर्भमा, काङ्सो नामका एक लिम्बू नायकले ‘गोर्खालीहरूसँग युद्ध गरेको’ भनेर भ्रम सिर्जना गरिएको पाइन्छ। भारतमा अंग्रेजीकरण गरेर ‘राय’ लाई ‘रे’ अनि ठाकुरलाई ‘टैगोर’ बनाए जस्तै काङ्सो हाङ् वा काङ्सो रायलाई ‘काङ्सो रे’ भनेर नामलाई नै भ्रामक बनाइएको छ। स्पि्रग् जस्ता अंग्रेज र इमानसिंह चेम्जोङ् जस्ता अंग्रेज प्रभावका अन्वेषकहरूले पद वा पदसँग सम्बन्धित थर ‘राय’ लाई ‘रे’ लेखेर प्रचार गरिदिए। यसरी याक्थुङ्का एक नायकको नाम नै ‘काङसो रे’ भएको हो। ‘राय’ राजा वा शासक वर्गसँग सम्बन्धित सम्मानजनक पद जनाउने थर हो। विजयपुरका अन्तिम मूल काजी बुद्धिकर्ण राय, रुपिहाङ् राय, बाजहाङ् राय, विजयनारायण राय आदि यसका उदाहरण हुन्। राई थर ‘राय’ बाटै आएको हो।

काजी काङ्सो राय सिक्किमे, भोटे, लेप्चा र केही याक्थुङ्वाको मोर्चाबाट वि.सं. १८४४–४५ मा काठमाडौंका फौजसँग लड्ने नायक हुन्, १८३१ मा हुँदै नभएको युद्धका लडाकू होइनन्। गोर्खाली सेनालाई अरुण पश्चिम धपाउने उद्देश्यले सिक्किमका भोटे शासकको योजनामा भएको १८४४–४५ को युद्ध चैनपुर प्रशासनिक क्षेत्रको सिद्धिपुर र सिद्धपोखरी भेकमा भएको थियो। त्यस युद्धमा ‘नीति’ भनेर चिनिने केही याक्थुङ्वा अर्थात् लिम्बूहरू अवश्य संलग्न थिए। स्थानीय प्रशासकको मान्यता पाएका पहिलेका कतिपय याक्थुङ् हाङ्का सन्तान (संपृति/समरीति) भने गोर्खाली पक्षमा थिए। वि.सं. १९१२ को नेपाल–भोट युद्ध र विजयपुर–मोरङ गडबडीमा समेत सिक्किम र अंग्रेज विरुद्ध गोर्खाली पक्षबाट वीरतापूर्वक लडेको रीझ् (उपहार, बक्सिस्) वापत उनीहरूलाई लालमोहरमार्फत १९०९ को मुलुकी ऐनका केही भाग संशोधन गरेर ‘मासिने मतवाली’ बाट ‘नमासिने मतवाली’ मा चढाइयो, १९१७ मा। यो लालमोहरले संपृति/समरीति लिम्बूहरूलाई विशेष मान्यता दिने परम्परालाई आधिकारिकता दिएको देखिन्छ। इतिहासलाई किम्बदन्तीसँग मिसमास र अपव्याख्या गर्ने प्रवृत्ति हावी हुनु अर्कै कुरा हो।

‘नमासिने मतवाली’ भएपछि संपृति/समरीति लिम्बूहरूले नेपालको राष्ट्रिय सेनामा जम्दार, हवल्दार, लप्टन जस्ता त्यसबेला जनसाधारणले नपाउने पद पाए। बेलायती दूत ब्रायन हज्सन्लाई लिम्बू–लेप्चा भाषा, लिपि र सभ्यताको अध्ययनमा सहयोग गर्ने हवल्दार रणध्वज सुब्बा, कप्तान हंसवाज सुब्बा र जोभानसिं फागोहरू उन्नाइसौं शताब्दीमा नेपालको राष्ट्रिय सेनाका महत्वपूर्ण याक्थुङ् (लिम्बू) हरू हुन्। जोभानसिंह फागोको परिचयमा हज्सनले कोष्ठ भित्र मात्र ‘लिम्बू’ लेखेका छन्, जुन निकै अर्थपूर्ण कुरा हो।

अन्त्यमा, नेपालमा हिजोआज संघीय संरचनाको प्रसंगमा चलाउने गरिएका जातिगत समुदायका नाममध्ये ‘मंग्वर’ वा ‘मगरात’ लाई केही बढी ऐतिहासिक मान्न सकिए पनि ‘लिम्बू’ वा ‘लिम्बूवान’ याक्थुङ् (लिम्बू) हरूको भाषा र ऐतिहासिक–प्रशासनिक निरन्तरताको हिसाबले धेरै कमजोर छ। प्राचीनता, निरन्तरता र याक्थुङ् (लिम्बू) हरूको भाषिक व्युत्पत्तिका हिसाबले यो नामलाई ऐतिहासिक भनेर व्याख्या गर्न सकिने स्थिति छैन। अर्कोतर्फ याक्थुङ्वा (लिम्बू) र अरुण–बरुण नदी शृङ्खलाका पर्वत क्षेत्रमा उनीहरूसँग युगौंयुगदेखि बसोबास गरेका अरू समुदायलाई छुट्याएर प्रदेशको खाका बनाउने एउटा पनि ऐतिहासिक आधार पाईंदैन। न त याक्थुङ् लिम्बूहरूले चैनपुर भेकमा स्थापना गरेका ऐतिहासिक–सांस्कृतिक सम्पदालाई अरुण पश्चिम बन्ने भनिएको प्रदेशमा सार्न नै मिल्छ। बरु किराँत लिपि र भाषा–साहित्यका जनक सिरिजङ्गाको नामलाई सांकेतिक सापेक्षताका आधारमा कोशी जस्ता प्राकृतिक नामको साथमा पहिचानमुखी प्रदेशको साझा नाम बनाउन सकिन्छ।

जातीय पहिचानका आवाज र संघीय खाका निर्माणको व्यावहारिक मिलनबिन्दुको खोजी संयमतापूर्वक इतिहास बुझेर मात्र गर्न सकिन्छ। उत्पत्ति र इतिहास विपरीत अनि अर्को समुदाय र बाह्यजगतले हेयभावले राखेको नामबाट जातीय समुदायगत पहिचानयुक्त संघीय प्रदेशको माग गर्दा पहिचानको अर्थमा अनर्थ भएर भावी पिंढीलाई समेत अप्ठेरो अनुभूति हुनसक्छ। जस्तो, अन्य समुदायले ब्राह्मणलाई उडाउनुपर्दा ‘काठा’ भन्छन्। अब ‘काठा’ प्रदेशको माग गर्नु ऐतिहासिक पहिचानको आधारमा स्वाभिमानपूर्ण होला त ब्राह्मण समाजलाई?


नेपालको जातीय विविधताको साङ्गोपाङ्ग र प्रामाणिक इतिहास नहुँदा मुलुकमा जारी संघीयताको बहस समाधान भन्दा समस्याको रूपमा चर्किएको छ। जातीय आधारमा प्रदेशहरूको नामकरण गर्नुपर्छ वा गर्नुहुँदैन भन्ने बहसमा नेपालका जाति र समुदायको विकासक्रमको इतिहास भने ओझ्ेलमा परेको छ। यसबारे अध्ययन–अनुसन्धानमूलक स्रोत सामग्रीहरूको खोजीनिती गरिएकै छैन। नेपालका जातीय समुदायहरूको जरो पहिल्याउने स्रोत अध्ययनका साथै प्रामाणिक इतिहास नकेलाई जातिगत समुदायका पहिचानसँग सम्बन्धित विषयलाई नागरिक, राजनीतिक तथा सरकारी तहको संरचना बनाउन खोज्नु संघीयताको कमजोर थालनी हो।

अनेकन् सामाजिक–सांस्कृतिक विविधता बोकेका नेपालका जातीय समुदायका प्राचीनता, ऐतिहासिकता, भेद–विभेदका तथ्य, देश निर्माणमा उनीहरूको देन र वर्तमानमा तिनको भूमिका तथा स्थान जस्ता आधारभूत विषयमा कुनै अध्ययन भएको छैन। यस्ता अध्ययन–अनुसन्धान बेगर जातीय–क्षेत्रीय संघीय एकाई निर्माणका साथ देशको पुनर्संरचना गर्ने हेतुले अगाडि बढ्न खोज्दा मुलुकको केन्द्रीय राजनीति नै जडवत् बन्न पुगेको छ। र, सामेलीपनको असल नियतबाट अभिप्रेरित अन्तरिम संविधानमा उल्लिखित कतिपय प्रावधानहरू समेत व्यवहारमा उतार्न सकिएको छैन। जुन, निसन्देह जातीय प्रदेशको दुस्साहसपूर्ण कार्यान्वयनकै परिणामको रूपमा आएको हो। यो अवस्थामा, पहिले नभएका वा नगरिएका सामाजिक, सांस्कृतिक, ऐतिहासिक र राजनीतिक चिन्तनले महत्व पाउनुपर्छ।

यही मेसोमा इतिहासका अध्येता तथा अध्यापक डा. रमेशकुमार ढुंगेलले नेपालका केही प्रमुख जातिहरूका ऐतिहासिक र वर्तमान स्थितिको अन्वेषण गरिरहेका छन्। पहिलो चरणमा अहिलेसम्म प्रदेशको नामांकनको सन्दर्भमा उठेका जातिगत समुदाय र अन्ततोगत्वा सिंगो नेपालको जातीय संस्कृति र इतिहाससँग सम्बन्धित पहिचान समेटेर नेपालको जातिगत समुदायको इतिहास सम्बन्धी स्रोतग्रन्थ तयार पार्ने अनुसन्धानमा छन्, डा. ढुंगेल। उनको यो जिम्मेवार बौद्धिक कर्मले ग्रन्थको रूप लिन अवश्य पनि समय लाग्छ। तर, नेपाली समाजका लागि उनका अनुसन्धानमूलक सूचनाहरू अहिले पनि त्यति नै महत्वपूर्ण छन्, जति पछि हुनेछन्। त्यसका लागि डा. ढुंगेलका अनुसन्धानका सारांशहरूलाई फुटकर लेखको रूपमा प्रकाशित गर्दै जाने अनुमति हिमाल ले लिएको छ। यसको थालनी पूर्वी नेपालका ‘लिम्बू’ समुदाय र ‘लिम्बूवान’ नामबाट गरिएको छ, क्रमशः पश्चिम लाग्ने मनसुवाका साथ।
– सम्पादक

  • rakesh

    its full of shit I think he don’t have any idea what the history of past and i think the person who wrote this article must have failed his class 8 eight times

  • raj

    ani rakesh bhanne man6e chai 5 tirai 15 choti fail bhako 6a budhi herda

  • HAKUCHA

    Very good article !

  • m.shrestha

    manan yogya 6 yo lekh.

  • http://www.facebook.com/shera.yakthungba Shera Yakthungba

    shera

  • Ramchandra Lall

    बाहुनहरुलाई हेये भावले बाेलाउने कांठा शब्दले बन्ने कांठा प्रदेश बाहुनलाहरुलाई नपच्ने स्वाभािवकै हाे तर सम्पूर्ण िलम्बु अर्था त याक्थुङ्हरुले अाफ्नेा प्रदेशकाे नाम िलम्बुबान भनेर राखाेस भनेर माग गरिरहेकाे बेला याे बाहुनवादी, संघीयताकाे घाेर िवराेधी भनेर िचनेका ढाेंगी डाक्टर रमेशकुमार ढुंगेल भन्ने बाहुनले अर्काकाे प्रदेशकाे नाम याे हुनु हुन्दैन र त्याे हुनु हुन्दैन भनेर उपदेश िदन्दै हिड्नुकाेअर्थ सबैले बुझेकै हुनु पर्छ ।

    • http://www.facebook.com/angbuhang.gajendra Angbuhang Gajendra

      pagal bahun le pagla kuro lekhechha. yo page padhera time barbad vo plz compansation dinus hai naam ko dr dhungana.

  • चन्द्र मादेन “आन्छन्”

    यो पनि एउटा पहिचानको आधारमा सँघियता विरोधी कुतार्किक एकाधिकारवादी र यथास्थितिवादीसोचको उपज हो ।

  • baburam archarya

    kina jibro chapayera lekheka holan, itihas ko tathya nai ulto pulto banayeka chha.

  • Nogen Hang

    यी डाक्टर सापले यस्तो सुपर दिमाग राम्रो कामको लागी खर्च गरेको भए क्या गज्जब हुन्थ्यो, हेरौं त लु इतिहास नै बंग्याउन खोजीराछन्, ऊ लाइ गू बनाउन निक्कै माहिर र’छन…. अब उत्ता मगर, गुरुंग हरुको गाउँ सम्म पुग्दा के के पड्न पाइने हो। तिम्रा बाऊ बाजेले गरेको पापको फल अहिले भोग्ने बेला शुरु हुन आँटेको छ, झन धेरै पापको भारी तेरा आउँदै गरेका सन्तानलाइ नबोका… !!!

  • Nogen Hang

    तारानाथ रानाभाट दरबार हत्याकाण्डको भटटटटटट ले गर्दा अहिले उनी कहाँ/कुन स्थानमा छन थाहा होला नि !!!

  • Harkajang Limbu

    डा. रमेशकुमार ढुंगेललाई
    उत्तर र सुझाव

    डा. रमेशकुमार
    ढुंगेल लिम्बू याक्थुङ्बा शब्दलाई हुनै नहुने अर्थमा व्याख्या गरि रहेको छ ।
    मानिसहरू जुनकुरामा गौरव गर्छन् उनीहरूको इच्छा विपरीत कार्य र असर पुग्ने किसिमले
    बोल्नु र लेख्नु विश्वको नियममा मानहानि हो । विग्य भएर मानव अधिकारको मानहानि
    गर्नु ठीक हो? के डा. रमेशकुमार
    ढुंगेल मात्र लण्डनको ब्रिटिश पुस्तकालयबाट डा. गर्ने प्रथम व्यक्ति हुन? समाजलाई तथानाम किसिमले असभ्य भन्नु विग्यको
    उच्चित शिक्षा हो? ढुंगेल लण्डन
    पुग्नु भन्दा पहिले यो पंत्तिकारले त्यहाँको दस्तावेज कोट्याइ सकेको थियो । लिम्बू
    र याक्थुङ्बाको बारे धेरै देशी-विदेशी विद्वानहरूले व्याख्या गरि सकेको घाम जस्तै
    चर्लङ्ग छ ।

    आर्य र नआर्यको इतिहास लेखहरू पढ्दा काठाहरूले पहिला देखिनै यसरी नकाठाहरूलाई
    लिखित रूपमा तीखो र धारिलो शब्दहरूले प्रहार गर्दै ल्याएको देखिन्छ । आजको Global
    संसारमा यसरी समाजप्रति अपहेलित विश्लेषण गर्नु
    कुनै समाजलाई सह्य हुने छैन । पहिलेको लिम्बू यक्थुङ्बाहरू जेभनेपनि मान्थे
    पत्याउथे होला । तर, अबको त्यस्तो
    छैनन र नसोच्नु होला ।

    हुनै नहुने काठा प्रदेशको तुलना लिम्बुवानसंग गर्नु पूर्वग्राही हुनु हो ।
    ब्रिटिश पुस्तकालयमा रिसर्च गर्दा गर्दै एउटा लेख ढुंगेल जी को हिमाल पत्रीकामा
    छापेको थियो । त्यो समयमा नै बाहुनवादी सरकारले जर्मन सेफर छाउरा पाल्न लागेको
    जस्तो लाग्यो । ठीक सावित हुँदैछ अहिले ठूलो कुकुर भएर मालिकको रक्षा गर्न
    लागिपरेको हुन । दुनियाँलाई थाहाछ समय परिवर्तनसिल छ कुनै ना कुनैको एकदिन पतन
    हुन्छ । त्यस्तै मालिकको पतन अथवा अवसान भएको दिन त्यो बलियो कुकुर पनि भुस्याहामा
    परिणत हुन सक्छ ।

    डा. भएर समाजप्रति खलबनाउनु खोज्नु ठीक कार्य होइन । त्यसरी शब्दको अनर्थ
    लाउने हो भने लिम्बू भाषामा योनिलाई ‘हीरा’ भन्छ । नेपालीमा हीरा
    भनेको बहुमुल्य गहनाको अर्थ लाग्छ । के ती हीरा लाउने सबै मनिसहरूलाई
    लिम्बुनिहरूको योनी लाउने भनेर घ्रिणित अर्थ लगाउनु? के अर्काले राम्रो मानेको कुरा नराम्रो भन्नु बुद्धिमानी हो?

    अन्त्यमा कृपया पढेलेखेका बुद्धिजीवीहरूले असल मार्गदर्शन अपनाउनु होला,
    राजनीतिक दाउपेचमा सर्वसाधारणलाई आँच पुग्ने
    लेख र कार्य नगर्नु होला । नपढेकालाई दोष छैन ।

    हर्कजङ लिम्बू

  • Dorbahadur Bista

    Virus attack in Limbuwan’s history.

  • Biswasdip

    विचरा कथित डाक्टर ढुगेल र हिमाल खबर पत्रिका ।

  • Raju Limbu

    yi researcher kina pramukh jatiharuko matrai research gardai chhan? Dr. Dhungel ko lekh ma rajnitik sadayantrako gandha auchha, tyasaile unko kunai pani article lai biswas garna sakinna.

  • MinZ Thalang

    Limbu ko galat awadharana ko thalani garidai chha k hostory ma yastai chha ta lekhak le upbaha ma lekheko dekhinchha yasto lekh ki sapraman pusti garera lekhna prayas garos

  • Tanka wanem

    डा.रमेश ढुङ्गेलको एकात्मकवादी सिकार लिम्बू ,याक्थुङ र संघियताby Tanka Wanem on Sunday, September 30, 2012 at 10:58pm ·PublicFriendsFriends except AcquaintancesOnly MeCustomClose FriendsFamilySee all lists…AcquaintancesGo Back
    डा.रमेश ढुङ्गेलद्धारा हिमाल खवर पत्रिका बिहिबार,असोज २०६९ को अंकबाट एउटा नयाँ अर्न्तवाताको ऋङ्खला लेख शुरु भएकोछ। वर्तमान लोकतान्त्रिक संघिय सवालमा मागिएका संघिय राज्यहरु (लिम्बूवान,खम्बूवान,तामाङ सालिङ,नेवा राज्य,मगरात,तमुवान,खसान,जडान र थरुवान) को ऐतिहासिकता एवं ति नामहरुबारेको ब्यूत्पति विषय मा आफ्नो धारणा पोख्ने भएका छन। यो अर्न्तवाताको शुरुवात पूर्वी नेपालको लिम्बूवानबाट श्रीगणेश गर्नु भएकोछ। शिर्षक राख्नु भएकोछ। लिम्बू कि याक्थुङ? सबै भन्दा पहिले लिम्बू र याक्थुङ शब्दवारे इतिहासकार एवं विद्धानहरुले के कस्ता मत/अभिमतहरु प्रकट गरेका रहेछन हेरौं। याक्थुङ्बा शब्दको प्राचीनता- (क) यक्के–नवा सावा येत्हाङ वंशी याक्थुङ्बा (ख) याक्केक फुङजोङओ केयुङबा (भीर पहरामा बस्ने)–याक्थुङ्वा। (ग) यक् ओ केयुङ्बा–यक्युङबा–किल्लामा बस्ने। (घ) सावा येत्हाङ खाम्बोङ्बा लुङबोङ्बा सुSसुSवालिमलिम् साः। –प्राचिन ढुङ्गा माटोबाट सृष्टि भएको जाति। (ङ) यक् शब्दको अपभ्रंश यक्ख भएको र त्यहीँ यक्ख शब्दको अर्को रुप याक्थुङ्बा बन्न पुगेको। (च) इतिहासकार प्रेम बहादुर माबोहाङका अनुसार–योकतुम्बाका संन्तान नै याकथुङ्बा हुन पुगेका हुन। योकतुम्बा–यकतुम्बा–याक्थुङ्बा भएको हो। (छ) सुनिति कुमार चर्टजीले याक पाल्ने भएकोले याकथुङ्बा भएको हो भने पनि डा.जर्ज भ्यान्ड्रमले यसलाई पुरै अस्विकार गरेका छन्। कारण याक्थुङ्बाहरु याक पाल्न सक्ने उचाइमा बस्ने गरेका छैनन्। उक्त माथिका मौलिक लिम्बू भाषा यक्को ऐतिहासिकता र सम्भावित अपभ्रंश हुन सक्ने सम्भब्यतालाई विचार गर्दा आदिकालमा लिम्बू जातिहरुको “यक्” (किल्ला) भएको र त्यही किल्ला “यक्” शब्दबाट नै याक्थुङ्बा शब्द जोडिन आई पुगेको देखिन्छ। तर यस्तो प्राचीन शब्दको लेखन कुनै पनि वैद्धिक ग्रन्थहरुमा समावेश भएको पाइन्दैन्। लिम्बूहरुको सावायेत्हाङ साम्जिक मुन्धुम्हरुमा भने सावायेत्हाङ याक्थुङ सुSसुवालिSलिमहाङ भनेर वर्णन गरिएको छ। मुन्धुम् दर्शन र युमा साम्योका ब्याख्याता जे.आर.पन्धाक (साम्जिक मुन्धुम् पेज १०१) अनुसार यी आदिम वासिन्दाहरु प्रागैतिहासिक काल देखि अरुण नदी तथा टिष्टा नदीमाझको भू–भागमा बस्दै आएका छन। (चेम्जोङ १९७६,सान्याल १९७९,श्रेष्ठ १९८५,सुब्बा २००३,रिस्ले १८९४,प्रधान १९९१) तिनीहरुका परम्परा अनुसार तिनीहरुलाई सावा येत्हाङ्सा भनिन्थ्यो। जस्को उत्पति तिनीहरुका पौराणिक आठ भाई (सावा येत्हाङ) बाट भएको हो। लिम्बू शब्दको न्वारान -गैह् जातिहरुले सजिलै चिन्न सक्ने याक्थुङ्बाहरुको सर्वनाम लिम्बू शब्द भए पनि यो शब्दको प्रयोगवारे भने विभिन्न इतिहासकारहरुले आ–आफ्नै विचार अघि सारेका छन्। (क) लिङमा –उम्रनु-(To grow/sprout/shoot forth)फु?फु–दाजु-(Elder brother,Bonded friend of Elder brother ) ऐतिहासिककालमा लिम्बूवानका याक्थुङ्बाहरुले (लिम्बूहरुले) एउटा ब्यापक चलन चलाएका थिए। जोसुकै वंशका गैह् जाति वा थरीका लिम्बूहरु लिम्बूवानमा चोःक्फुङथिम (अन्य जातिलाई वंश/गोत्रभित्र मिलाउँने लिम्बूजातिको दस्तुरःगैरलिम्बू जातिलाई आफ्नो कुल प्रदान गरी कुलमा मिलाउँने रीत त्यस रीतको अनुष्ठान)विधि दुवो ढुङ्गो छुवाएर भैयाद बनाउँने वा आफ्नै वंशभित्र भित्रर्‍याउँने चलन थियो। त्यही भैयाद बनाउँने वा एक वंशबाट अर्को वंशमा लिङ्मा(सार्ने) र फु वा नुसा (दाजु,वा भाई) भैयाद बनाउँने लिङमा+फु?फु संयोजन भएर लिङमा फु?फुको छोटकरी अपभ्रंश शब्द लिङ्फु नै कालन्तरमा लिम्बू शब्द भएको हो भन्ने मान्यता रही आएको छ। (ख)इतिहासकार इमानसिं चेमजोङको भनाई अनुसार चीन देशबाट सेनवंशी एकदल चिनियाँहरुले उत्तर बर्मा र वर्तमान आसाम हुँदै नेपालको पूर्व खण्ड देशलाई धनु काँडको सहयताले जितेर लिएको हुनाले विजित देशको नाम लिम्बूवान र आफैलाई लिम्बू भनेका हुन भन्ने मत प्रकट गरेका छन्। (ग)लोकमणि दाहालद्धारा लिखित “आर्य संस्कृति” नामक पुस्तक अनुसार महाभारतकालका “लम्बाक” जाति नै अचेलका लिम्बू जाति हुन। तर यसबारे कुनै ऐतिहासिक प्रमाण फेला परेको छैन। (घ)मुन्धुम् अन्वेशक लेखक एवं इतिहासकार अर्जुनबाबु माबुहाङका अनुसार मुजिङ्नाखेयङ्ना(आदिम सृष्टिको प्रथम स्त्री) हावाबाट गर्भवती भएकीले उनको गर्भबाट जन्मेको छोरालाई हावा बतासको छोरा सुSसुवेङ लाSलावेङ वा सुSसुवालिSलिम भनेर उनको न्वारान गरि दिइन। लिम्बूहरु आफुहरुलाई खाम्बोङ्बा लुङबोङ्बासा(ढुङ्गा माटोको संन्तान) हौं भन्ने मुन्धुमी विश्वासको सुSसुवालिSलिमको विकसित रुप नै लिम्बू शब्द हो। (ङ)स्व.काजीमान कन्दङ्वाका अनुसार हाल ताप्लेजुङ जिल्ला अर्न्तगत मिवा खोला उत्तर पश्चिम अवस्थित लुम्बासुम्बा पर्बतको फेदीमा बस्ने आदिवासी जातिहरुलाई ऐतिहासिक काल देखि लिम्बू नामले चिनिन्दै आएको थियो। (च)किरात इतिहासकार प्रेम बहादुर माबोहाङका अनुसार संम्बत २५० तिर लेलिम्सो र खाम्सोसोको राज्य विभाजन पछि पूर्वी नेपालको ताक्लुङ यक्मा आइ पुगेका लेलिम्सोका संन्तानहरुनै कालन्तरमा लिम्बू कहलिन पुगे। (छ)नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाद्धारा अनुवाद भएको हड्सन पेपर पाण्डुलिपिको पृष्ट ११० मा उल्लेख भए अनुसार लिम्बूहरुले आफैलाई याक्थुङ्बा पर्बतेले लिम्बू र लाप्चेले चोङ भनेर सम्बोधन गर्दछन् भनेका छन्। (ज) सम्बत १८३१ सालमा गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बूवानलाई परास्त गर्नको लागि श्री अभिमानसिंह,पारथ भण्डारी,कीर्तिसिं खवास र बलिबानियालाई लेखेको पत्रमा दश लिम्बूवानलाई “इस् लिम्बा” शब्दले सम्बोधन गरेकाछन्। (झ) डा.रमेश ढुङ्गेल अनुसार लिम्बू नाम भोट वा भोटेमूलको “लिङ्” र “पो” वा “वो”(तिब्बती लेखाईमा लिङ्स–पो वा लिङ्स–वो)शब्दको अपभ्रंश हुनु यसको सारभूत ऐतिहासिक कारण देखिन्छ। तिब्बती वा भोट भाषामा लिङ् र पो वा वो शब्दको अर्थ टाढिएको सीमान्तक्षेत्र वा अनकण्टार जंगल,इलाकामा सिकारी भई पसेर हराएको वा मूल सभ्यता धर्मसंस्कृति,परम्परा भन्दा बाहिर पुगेको अर्थात सभ्यता नभएको आदि हुन्छ।१ डा.रमेश ढुङगेलको अनुमान जस्तो सावा येत्हाङ वंशी याक्थुङबा(लिम्बू)हरु त्यस्ता असभ्य थिएनन्। उनीहरुले युगौं अघि चर्खा कातेर आफैले तान बुनी आफ्नो शरीर ढाक्न जानेका थिए। विश्व ब्रह्माण्डको घुम्ने परिक्रमा विधि र घर तरुलले थाङग्रा बेरे जस्तै दाँयाबाट बाँया घुम्ने धार्मिक अनुष्ठान सम्पन्न गर्न जानेका थिए। अहिले पनि केलाङ या,लाङ र माङलाङका अनुष्ठानिक कार्यहरुमा सौर्यमण्डलका ग्रहहरु घुमे जसरी घडीको काँटा घुम्ने दिशा भन्दा ठीक विपरित घुम्ने गर्दै आएकाछन। वैज्ञानिक वा भौतिकवादी सिद्धान्तमा मेल खाने आफ्नै मुन्धुम् सिर्जना गरेर भर याक्थुङ समाजलाई सुशिक्षित बनाएका थिए। याक्थुङ सभ्यतामा युगौं पहिले देखि संगोत्रगमन निषेध गरिएको थियो। संगोत्रगमन गरियो भने लराङ सेरि (धर्तीको विधुत कम्पन र आकाशको बज्र) ले चिरिएर मरिन्छ भन्ने आध्यात्मिक मुन्धुम् वाचा बाँधेर धार्मिक कानुनको नियम बसालेका थिए। त्यसकारण डा.रमेश ढुङ्गेलले अनुमान गरे जस्तो “लिङ्स” र “पो” वा “वो” अथवा तिब्बती भाषामा असभ्य या धर्म संस्कृति र परम्परा भन्दा बाहिर पुगेको अर्थात असभ्य जाति भनिएको अर्थमा “लिङ्स र पो वा “वो” अपभ्रम्स भई “लिम्बू” शब्द बनेको मान्न सकिन्दैन। इतिहासकारहरुले लिम्बू शब्दबारे गरेका अभिमतहरुलाई वैज्ञानिक विश्लेशण गर्दा सुSसुवालिSलिमको विकसित रुप वा लिङमा फु?फुको छोटकरी अपभ्रंश शब्द लिङ्फु नै कालन्तरमा लिम्बू शब्द भएको हो कि? भन्ने अनुमान लगाउन सकिन्छ। खाम्बोङ्बा लुङबोङ्बासा हौं भन्ने लिम्बूहरुको साम्जिक मुन्धुम्को कुनै पनि शिलशिलामा लिम्बू शब्दको उच्चारण भएको पाइन्दैन्। सर्व प्रथम पृथ्वी नारायण शाहले वि.स.१८३१ वैशाख ३० मा र श्रावण २२ गते याक्थुङ्बाहरुलाई “तिमी तुंतुतुंम्याहां यहां सन्तान(तुतुतुम्याहाङ् याक्थुमहाङ संन्तान)लिम्बू कुल भाईलाई दिञ्यू भनेर भैयाद बनाउँदै जंगराय,फुङराय,जमुनराय,सुनराय,कुमरायलाई लाममोहर गरि दिएका थिए। सम्भवतः लिम्बू शब्दको न्वारान त्यहीँ बेला देखि भएको थियो। हुन त एकिकरणको नाममा पश्चिमबाट पूर्व लाग्ने गोर्खालीहरुले पूर्वका याक्थुङ्बाहरुलाई लेलिमसोका संन्तान वा लुम्बासुम्बाको फेदीमा बस्ने जातिहरु भनेर चिन्दै आएका थिए। हुन सक्छ सेनकालसंम्ममा सुSसुवालिSलिम शब्द अपभ्रंश हुँदै लिSलिम भन्ने शब्दसंम्म प्रयोगमा आई सकेको थियो। शायद त्यहीँ लिSलिम,लिङ?फु र लुम्बासुम्बा पर्बतको फेदमा बस्ने जातिहरुलाई गोर्खाली जनजिब्रोले सजिलोको लागि “इस् लिम्बा” वा लिम्बू नामकरण गरेका थिए। शब्दहरुको अर्थ अनर्थ लाउने हो भने अरवी वा फारसी भाषामा “हिन्दु” शब्दको अर्थ पनि डाका,लुटेरा वा फटाहा भन्ने अर्थ लाग्छ। जसरी आर्यहरुले हियाएर कैलाशवासी किरातहरुलाई किरात भनेर बोलाउन थाले,संस्कृत भाषामा किरात शब्दको जे जस्तो अर्थ लागे पनि स्वीकार्य भएको थियो। जसरी हिन्दु धर्मालम्बीहरुले हिन्दु भन्ने शब्दलाई सह्स्र स्वीकार गरेका छन। यी माथिका इतिहासकारहरुको मत अभिमतहरुलाई अध्यन गर्दा पनि लिम्बूहरु प्राचिन मानव सभ्यताको क्रममा सुSसुवालिSलिम याक्थुङबा भनिन्थे। कालन्तरमा लिङ?फु,“इस् लिम्बा” भनिन्दै बि.स १८३१ को बिजयपुर दरबारमा लिम्बूवान र गोर्खाली पक्ष वीच नुन पानीको सन्धी भए पछि लिम्बू भन्न थालिएको थियो। त्यसकारण याक्थुङबाहरुले गर्व गर्ने शब्द नभएर पनि लिम्बूवानबासी लिम्बूहरुले लिम्बू शब्दलाई स्वीकार गर्दै आएका छन। त्यही सामुहिक लिम्बूवान शब्दले लिम्बूवानबासी लिम्बू र अन्य जातजातिलाई समेट्ने लिम्बूवान शब्दकै आधारमा लिम्बूवानबासी लिम्बूहरुले संघिय लिम्बूवानको माग गर्दै आएका छन। यदी याक्थुङ्बाहरु एकल जाति र पहिचानको हिमायती हुने भए अर्काले दिएको सम्मानमा गर्व नगरि पिता पुर्खा र मुन्धुमले वर्णन गरेको याक्थुङ्बा शब्दको आधारमा “याक्थुङ् लाजे” याक्थुङ् देशको माग गर्न लागि पर्ने थिए। यस अर्थमा लिम्बू शब्द काट्टो खाएर काठा शब्द बनिएको जस्तो तिरस्कृत शब्द होइन। कारण याक्थुङ र लिम्बू शब्दवारे विभिन्न इतिहासकार एवं खोज अनुसंन्धानकर्ताहरुले आ–आफ्नो राय प्रकट गरेका छन। कुन ठिक हो अझैं अनुसंन्धान गर्नु पर्ने देखिन्छ। धेरै पुराना इतिहासकारहरुको खोज अनुसंन्धान भन्दा पृथक एवं असार्न्दभिक “लिङ्स” र “पो” वा “वो” अथवा तिब्बती भाषामा असभ्य या धर्म संस्कृति र परम्परा भन्दा बाहिर पुगेको अर्थात असभ्य जाति भनिएको अर्थमा “लिङ्स र पो वा “वो” अपभ्रम्स भई “लिम्बू” शब्द बनेको हो भन्नु संघिय लिम्बूवानी आन्दोलन प्रति नकरात्मक चाणक्य शब्द प्रहार गर्नु मात्र हुनेछ। भाषा विन्यास र शब्दको अर्थबाट पनि लिङ्से वा पो तिब्बती नभएर शुद्ध याक्थुङ वा लिम्बू भाषा हो। “लिङ्से” भनेको उमि्रनु र “पो” भनेको बढनु हो। डा.रमेश ढुङ्गेलको भनाई अनुसार याक्थुङ्बा वा लिम्बूहरु तिब्बती वा भोट भाषामा लिङ् र पो वा वो शब्दको अर्थ टाढिएको सीमान्तक्षेत्र वा अनकण्टार जंगल,इलाकामा सिकारी भई पसेर हराएको वा मूल सभ्यता धर्मसंस्कृति,परम्परा भन्दा बाहिर पुगेको अर्थात सभ्यता नभएको जाति भनेका छन। हिमाल वरिपरिका अनादिवासी रैथानेहरुकोवारेमा वैद्धिक ग्रन्थ,मानव शास्त्री तथा इतिहासकार विद्धानहरुले के कसरी अनुसंनधान गरेका छन त्यो पनि हेरौं। किन भने याक्थुङ वा लिम्बूहरु पनि किरातकै एक शाखा हुन। देश बन्धु क्षेत्री अनुसार “द्धापर युगको आठलाख एकचालीस हजार बर्ष अघि नै किरातीहरु नेपाल उपत्यकामा बसेको तथ्य नेपालको पौराणिक वंशावलीको प्रथम अध्यायमा उल्लेख गरिएकोछ” (पुराण अनुसार द्धापर युग अर्थात चार युग मध्ये तेस्रो युग आठ लाख चौसठी हजार बर्षको हुन्छ)। आचार्य खेमराज केशवशरण अनुसार “प्राचीन संस्कृत वाङमयमा मूलरुपमा काशमीरको सप्तकुण्डदेखि पूर्वको परशुरामकुण्डसंम्म र विस्तृत रुपमा हिमालयदेखि विन्ध्याचलसंम्मको क्षेत्रलाई “किरात देश”भनिएकोछ। अर्थव वेद,शिव शक्ति सङ्गम तन्त्र र यजुर्वेदमा पनि जहाँ जहाँ किरात जातिको चर्चाछ त्यहाँ त्यहीँको पर्वतवासीको रुपमा उल्लेख गरिएकोछ। बाहिर कुनै ठाउँबाट आएका हुन भन्ने उल्लेख गरिएको छैन। सम्भवतः मुन्धुममा वर्णन भएका सावा येत्हाङका संन्तानहरुलाई नै प्राचीनकालमा किरात नामले चिनिन थालिएको थियो। उनीहरु यसै हिमाल वरिपरिका आदि वा अनादिवासि हुन” वरिष्ठ स्तम्भकार केशवराज पिण्डालीको खोज अनुसंन्धान अनुसार “प्राचीन समयमा हिमालयको सम्पूर्ण दक्षिणी क्षेत्रमा अनादिवासी किरातीहरुको बसोबास थियो। आसामको नागाल्याण्ड,प्रागज्योतिषपुर(वर्तमान कामाक्षा) देखि लिएर सिक्कम,दार्जिलिङ,नेपाल,सतलज नदीको किन्नोर उपत्यका एवं कैलाश मानसरोवरसंम्मको सम्पूर्ण क्षेत्र “किरात देश” कहलिन्थ्यो। किरात देशमा बसोबास गर्ने प्राचीन जाति भएबाटै उनीहरु किराती कहलिएका थिए। नेपालको काठमाण्डौ उपत्यका,सतलज उपत्यकाको किन्नोर,मानसरोवरको दक्षिणी क्षेत्र सुवर्णपुर तथा विन्ध्याचलको सम्पूर्ण पहाडी क्षेत्रमा किरातहरुको अलग अलग राज्यहरु थिए। उनीहरु मध्य एशिया,पर्सिया,अफगानिस्थान,काश्मिर,पञ्जाव,राजस्थान,ब्रह्मपुत्र नदीको बेँसीहरु,हालको नागा ल्याण्ड,त्रिपुरा साथै सम्पूर्ण हिमालय खण्ड (तिब्बतको केही भाग) मा समेत फैलिएका थिए। वेद्धान्ती विद्धान डा.स्वामी प्रपन्नाचार्य (वेदमा केछ? पृष्ठ ११२–११५) अनुसार प्राचीन वैद्धिक ग्रन्थहरुमा किरातीहरु अन्य कतै ठाउँबाट आएका हुन भन्ने वैद्धिक ऋचाहरु लेखिएका छैनन्। अर्थववेदको भाग ९ र १० मा “कैरातिक कुमारीका सकाखनती भेषजम” भन्ने मन्त्रले किरातीहरुको जन्म पात यही हो भन्ने बताएकोछ। यजुर्वेदको भाग ३०/१६ मा उल्लेखित “गुहाम्य किरातय्” भन्ने मन्त्रमा किरातीहरुवारे उल्लेख गरेको पाइन्छ। ऋग्वेदको नमुची,शम्बर,बर्ची आदि किराती नै हुन। किरातीहरु आज पनि आफ्नै जन्मस्थलमा बसेका छन्। इतिहासकार Kirk Patrick को टिप्पणी अनुसार भारत वर्षमा आर्य जातिको प्रवेश पूर्व हिमालको पहाडी खण्ड र इन्दस नदीको तटसंम्म किरात(असुर) राजाको अधिपत्य थियो। महाभारतको एउटा अध्यायमा किरातहरुको देश हिमालयको अति दुर्गम स्थान अर्थात प्रथम सूर्योदय हुने देश लौहित्र अर्थात ब्रम्हपुत्र क्षेत्र हो भनेर स्पष्ट गरेकोछ। लिम्बू धर्म संस्कृतिको खोज अनुसंन्धान गर्ने प्रसिद्ध फ्रेन्च समाजशास्त्री फिलिप सेगान्तका अनुसार प्राचीन तिब्बतीहरुमा झैं लिम्बूहरुमा हिमाल,पहाड धर्तीका स्थानविशेष चट्टान,रुख,पोखरी,पानीको मूल,नदी नालामा देवी देवताहरु हुने विश्वास छ। उनीहरु प्रकृतिका अनुपम,अदभूत,अनौठा र अनकण्टार वस्तुहरु र ठाउँहरुलाई अलौकिक पवित्र शक्ति तथा सामर्थशाली देवस्थल मान्दछन्। यिनै हिमालय क्षेत्र वरिपरि बस्ने प्राग मानव पूर्खाहरुलाई मुन्धुम्मी भाषामा “सावा येत्हाङसा” वा याक्थुङसा भन्ने गरिएकोछ। उपरोक्त मानव शास्त्री तथा इतिहासकारहरुको खोज अनुसंन्धानहरुलाई नियाल्दा यी जातिहरु हिमालय आसपास तथा मध्य एशियाभरि फैलिएका एक प्राचीन जाति थिए। सावा येत्हाङ मुन्धुम् शास्त्रमा जेजति ठाउँ,नदी नाला,हिमाल,पहाड र मैदानहरुको वर्णन भएकोछ। ति सबै फक्ताङलुङ वरिपरि वा पश्चिम पट्टि गन्धमादन पर्वत र पूर्व पट्टि इन्द्रकिल पर्वत हिमालको वरिपरि घुमेकोछ। उनीहरुले प्रतिपादन गरेका सिद्धान्त Super natural power को आधारमा धर्म,संस्कारको आधार निर्माण गर्दै लगेका थिए। हरेक संस्कार संस्कृतिमा गरिने कार्यविधिमा जसरी सौर्य मण्डलमा भएका ग्रहहरुले दायाँबाट बाँया घुमेर परिक्रमा गदर्छन त्यसरी नै घुम्ने नियम बाँधेका थिए। निराकार सर्वब्यापी तागेरा निङवाफुमाङ(विश्वासले मानेको इश्वर)बाहेक कुनै पनि ब्याक्तिको मूर्ति वा तस्विर नराखी प्रक्तिको सञ्चालक पञ्च शक्तिलाई सम्मान गर्ने सावा येत्हाङ मुन्धुमलाइ “इक्सादिङ खाम्बेक तरङदिङ ताङसाङ” स्वचालित पृथ्वी र अन्तरिक्ष आकाश भनी ब्याख्या गरेका थिए। यस्तो आदिम जातिहरुलाई आठौं शताब्दीतिरको तिब्बती इतिहाससंग जोड्नु भनेको इतिहासवारे अज्ञानता र पूर्वाग्राही एकात्मक विचारको विष वमन गर्नु मात्र हो। अर्को सर्न्दभ– गोर्खासंग सम्झौता र काङसोरे डा.रमेश ढुङ्गेल अनुसार खम्बूवानमा गोर्खाली सैन्य शक्तिले विजय गरे पछि लिम्बूवानका दश आपुङगी राजाहरुले पान–फूल लिएर हाम्रो राज्य लिइ दिनु होला भनेर आत्मा समपर्ण गरि चैनपुर(संखुवा सभा) मा मेजमान खान बोलाएका थिए। इतिहासका दस्तावेजहरुलाई सिरानी लाएर इतिहासको नाङ्गो छालामाथि नागा नाच नाच्दा सत्य नै हुन्छ भन्नु हुँदैन। डा.रमेश ढुङ्गेलले वेलायतको इण्डिया अफिस लाब्रेरीमा भएका दस्तावेजको आधारमा गफ हाक्दैमा नेपाली जनता र लिम्बूवानी जनताले पत्याइ हाल्ने छैनन। वेलायतको इण्डिया अफिसमा अङ्ग्रेजी इतिहासकार ब्राइन हडसन र उनका सहयोगीहरु जोबानसिं फागो,हंसबाज सुब्बा,च्याङग्रेसिं फेदाङ्मा,रणध्वज हवल्दार,श्रीफुङ लिम्बूहरुले के कस्ता दस्तावेजहरु संङकलन गरि राखेका थिए धेरै लिम्बूहरुले हेरि सकेका छन। पहिलो कुरो पान फुलको कुरोछ यो बिल्कुल लिम्बूवानी वा याक्थुङ संस्कार र संस्कृति भित्र नपर्ने संस्कार हो। लिम्बूहरु आफ्नो सिमानाको ढुङ्गा फोडिन्दा ख्याल ख्यालमा चार इन्चको सिरुपाते उध्याउने प्रवृतिका लिम्बूहरुले यति सजिलै गोर्खाली शासन स्वीकार गरेका थिएनन्। विजयपुरका राजा कामदक्त सेनको हत्या हुनु अघिसंम्म लिम्बूवानका दश आपुङगी राजाहरु विजयपुर राज्य अर्न्गतका स्वायत राज्यहरु थिए। सेन राजाहरुबाट सैन्य अभ्यास साथै सिक्किम तर्फको आक्रमणले पनि लिम्बूवानी जनताहरु युद्धवारे अनभिज्ञ थिएनन्। लिम्बूवान त्रिकोणात्मक सिमाना भएको हुनाले लिम्बूवानमा सिक्किम,तिब्बत र विजयपुरी सेन राजाहरुबाट समेत हात हतियारहरु प्राप्त गरि सकेका थिए। बुद्धि कर्ण रायले गोर्खालीको शासन कुनै हालतमा स्वीकार नगर्ने भएको हुनाले अन्य दश लिम्बू आपुङ्गी राजाहरुलाई आत्मा समपर्ण गर्ने सल्लाह दिएका थिएनन्। लिम्बूहरुले गोर्खालीहरुसंग आत्मा समपर्ण गरेर मिलेको भए लिम्बूहरु एक आपसमा नेती (निति) र संपृति (सामरिति–मनु समृति संसकार) मा विभाजन हुँदैनथे। पक्तिकारसंग भएको हस्तलिखित टिप्पणीमा लेखिए अनुसार बि.स १८२७ साल श्रावण सक्रान्तिका दिन अरुण तरेर ३० सालमा किरात वा लिम्बूवान मासेको हो। यदी पानफूल चढाएर वा लिम्बूहरुले आत्मा समपर्ण गरेको भए किरात मासिएको र टिका मन्याको भन्ने सर्न्दभहरु जोडिन्दैन्थ्यो। १६३ बर्षिय लिम्बूवानको ऐतिहासिक टिप्पणी हेरौं स्वास्ति श्री सहकाल संम्बत १८२७ सालमा श्री गोर्खाले अरुण तरी चैनपुर आयाको हो। ―――――――――――――――――― सो २७ साल श्रावण सक्रान्तिका दिन अरुण तरी आयाको हो ३० सालमा कीरात मास्याको हो ३१ सालमा टिका मन्याको हो ३२ सालमा गोप्पे बाँस फुलेको हो ४५ सालमा सुर्ज्ये ग्रहण लाग्यो ४७ सालमा षुषीम (सुखीम) मारेको हो ४८ सालमा तिगर्जा (तिब्बत) हान्याको ४९ सालमा रेबुतकामा अकुल भैई धर्म गयाको ६५ सालमा ठूलो भैंचालो आयाको हो ७० सालमा षलंका (खलङ्गा) बनाएको हो ७२ सालमा मधुमनीको लडाइ भयाको तेसै साल विजैपुर लियेको हो ७७ सालमा सरुप विष्ट,रामनाथ पाध्या जाँच भै लिम्बूवान बग (बक) भयाको हो ८४ सालमा मुसा बहुत भै छाउनी जाँच भयो लामु तारानी रहेको हो ८४ सालमा मालिंगो फुल्यो हीउँले गोला मीच्याको हो ८९ सालमा सलह पनि भैचालो पनि आयाको हो १९०१ सालमा सीवदल षडका जाच आयाको हो ..थुंम चार १९०४ सालमा सीवदल षडका जाच आयो लीम्बु पल्टंन दर्ता भयाको हो १२ सालमा वलांचुंगोलामा षरुना बाहादुर जर्णेल आयेको हो १९ सालमा दीदीको वीहे २० सालमा सलह आयाको हो २६ सालमा गोला सर्कार लागेको हो २९ सालमा सलह आयाको हो ३१ सालमा कालो कीरो राता टाउको हुनेले अंन वेमाष ग्यो ३३ सालमा सुर्ज्ये ग्रहण फाल्गुण मैन्हामा राजा जंङ्गबाहादुर स्वार्गवास भै बक्सीयो ३५ सालमा मंसीरमा लामु तारा नीस्क्यो ३९ साल जेष्ठमा सुर्जे ग्रहण लागेको हो ४२ सालमा रणोद्धिप राजा स्वर्ग भै वीर सम्सेर राजा भयाको हो र यसै साल कार्तीक मैनामा लामु सीं नीस्केको तारा पूर्व पट्टि देषियाको र रुढीले गाई भैंसी समेत मरेको हो ४३ सालमा सुबेदार लाहां धनकुट्टा टेकुनालामा झुन्ड्डाई (झुन्ड्याई) मारेको हो ४४ सालमा भदैमा नेपालमा अरु कासी नाथ मान बाहादुर लीम्बुहरु समेत झुड्डायोको हो ४९ सालमा रुणी आई गाई वस्तु मरेको र उसै साल षुडे राजा(सिक्किमका १४ बर्षीय चाकदोर नामग्याललाई सुरक्षाको लागि हाल पापुङ गा.बि.स ताप्लेजुङ अर्न्तगतको सिम्बुक देखि उत्तरतिरको पहाडमा डेनजोङ ग्याबू अर्थात खौडे राजाको दरबार बनाएर राखिएको थियो) वलांचुङ गोलाबाट पक्राउ भै धनकुट्टा पु्याको हो ५० सालमा वेदनीधी पाध्या माहा जाच भै आयाको हो उसै साल चैत्रमा सुर्जे ग्रहण पनि लाग्यो ५२ सालमा पूर्व ५ नम्बर अड्डा सर्कार राखी बक्सीयो उसै साल वाजहां (वाजहाङ आङबुहाङ) लीम्बु र्नीवीक्रम जर्णेल समेत धनकुट्टाबाट आई सो पूर्व ५ नम्बरले झुड्डाई (झुन्ड्याई) मारेको हो ५६ सालमा ८ येहां १ राज्य भै १ राज्ये नासीन्छ भन्ने चिठ्ठी कांसीबाट आयाको हो ६९ सालमा पूर्व ५ नम्बर अडडालाई तापलेजुं (ताप्लेजुङ) अमीनीको बहाल भयाको हो ७९ सालमा महा अनीकाल भयाको हो ९० साल माघ २ गते देखि अषाड ७ गते संम्म भै चालो आयाको हो नोट;-(यो ऐतिहासिक टिप्पणीको सक्कल पक्तिकारसंगछ) लिम्बूवान र गोर्खाली वीचको युद्ध सुलह भए पछि के भयो? सिक्किम लिम्बूवान–गोर्खा युद्ध थामिएपछि लिम्बूहरु सिक्किम पक्षमा लागे भन्ने आरोप लगाई गोर्खाहरुले लिम्बूहरुलाई प्राणदण्ड दिन थाले पछि लिम्बूवान छाडेर ३२,००० हजार लिम्बूहरु विदेश लागेका थिए। उक्त विदेश जाने पहिलो हुद्धा सुखिम देशको रम्फु,रिनोक र माङसीला गाउँमा बसाइँ सरेका थिए। दोश्रो हुद्धा भुटान देशको कुचिङ,टेन्डु र जुम्मा गाउँमा गई बसेका थिए र तेश्रो हुद्धा आसाम देशको बेनी,कालचिनी गाउँमा गई त्यहाँका पुराना बासिन्दा मेच–कोच जातिहरुसंग विवाह गरी एकै वंश भई बसे।६ यो युद्ध जम्मा १२ बर्षसंम्म चलेको थियो। गोर्खाहरुको विजय पछि लिम्बूवानका लोग्नेमान्छे मात्र नभएर आईमाई,केटा–केटी समेतलाई पकडेर निर्दयपूर्वक मारेका थिए। लिम्बू नेताहरुलाई सम्झौता गर्नको लागि बोलाएर अन्य कुरामा अल्मल्याई रात पारेर छाप्रोमा सुत्न लगाई सुति सकेपछि गोर्खाहरुले चारैतिरबाट आगो लगाएर मारेका थिए। दोश्रो पीडीका नेताहरुलाई रातो पोलेको फलाम समाउन लगाएर वा उम्लिएको पानी या तेलमा हात चोब्न लगाएर अत्याचार र नीर्दयताको दण्ड “सिक्कमपटि्ट लागिन” भन्ने सावित गर्न ति सजायका उपायहरु रचिएका थिए। लिम्बू लिपि,भाषा,संस्कृति तथा इतिहासका ज्ञाता तथा ब्रिटि्रस रेसिडेन्ट बी.एच् हडसनको हवाला दिँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा आयामेली कवि वैरागी काइँलाले उक्त हृदयविदारक जेनोसाइडको शब्दचित्र यसरी उतार गरेका छन्। ……हेप्मोसा याक्थुङ्बाहा कुल केजोगिभाङ।। खुन्छि नाभाक हेप्मो तारुसिङ नेस्सुआङ ओरु चिजिङ केलवेन सेप्रासापा चोगुरोभाङ मेजुप्तुसि।। चिजिङ मेन्लबेन चित्तिताभाङ मेलेरुसिरो।। क्रर्खाले आम्फाबा पासिङ चोगुरो।। चैनपुरमा गोर्खा फौज बसेका बेला गोर्खा अफिसरलाई कसैले पोलझोस गर्दा तिमी लिम्बूहरुले अघि छलकपट गन्यौ भनेर उनका कानमा तारुसिङ (तारुबाँस) राखेर डढाउँदा जिरिङ्ग गर्ने जतिलाई गोर्खालीहरुले दोषी ठहर्‍याएर काटी मारे। नकाम्नेहरुलाई निर्दोष भनेर छोडिदिए र कतिलाई आफ्नै जातभित्रको सदस्य बनाए। तान्छोप्पा बर्ष १४ अङ्क ८ मा वीर नेम्बाङले लिम्बूवानमाथि जेनोसाइडको ऋङखला शिर्षकमा (साभार–नेम्बाङको प्रकाशोन्मुख कृति भञ्जबात लिम्बूवानबाट) लेखेका छन। यता गाउँ नछाडी बस्ने फुकन,फेदाप,नावाका लिम्बू बूढापाकाहरुलाई सरसल्लाह र सन्धी गर्नका लागि जम्मा पारी राति सुतेको बेला छाप्रोमा आगो लगाएर माथि (पहाड) र तल(तराई)सबैतिरका लिम्बूहरुलाई एकै पटकमा मारे। गोर्खालीहरु यतिसंम्म पापी थिए। त्यस पछि चैनपुरको सबै फागो लिम्बूहरुलाई विजयपुरमा जम्मा हुन बोलाए। अब यौटै फूल हुनुपर्छ तर अघि तिमीहरु सिक्किमे भोटेहरुलाई मद्धत गर्‍यौ,उत्ता लाग्यौ भनेर दोष दिए। तिनले तेल उमालेर त्यसमा फलाम रातो बनाई “त्यहाँ हात डुबाइकन हो कि होइन भन” भनेर बिराम गर्ने नगर्ने सबैलाई हात डुबाउन लगाउँदा कति फागो लिम्बूहरुको हातहरु डढेर डुँडे भए। पृथ्वी नारायण शाहका भाई सुर प्रताप शाहका आँखा फुटाई दिएको प्रतिसोध (वदला) स्वरुप निहत्था कीर्तिपुरवासीहरुको १७ धार्नी नाक,कान काटने गोर्खालीहरुले गोर्खा बिरोधी लिम्बूहरुलाई यस्ता सजायहरु दिएनन् भन्न सकिने ठाउँ छैन। अङ्ग्रेज इतिहासकार G.A Grierson अनुसार According to Major H.A.R.Senior,Their history is stated to be written in a book called bhongsoli, i.e., vomsavali, of which copies are kept in some of the most ancient families. Such copies, When found by the Gurkhas, are always burnt, and the keeping of them is strictly forbidden. यसरी तत्कालीन गोर्खा एकिकरणको वेला गोर्खालीहरुले अमानवीय ढङ्गले धेरै लिम्बूवानी जनताको ज्यान मात्र लिएनन्। उनीहरुको धार्मिक,सांस्कृतिक,भाषिक,ऐतिहासिक तथा लिम्बूवान राज्यको शासन पद्धति समेत ध्वस्त गरेका थिए। राजा पृथ्वी नारायण शाहले उनका सर्दार रामकृष्ण कुँवरलाई बि.स १८३० माघवदि ६ रोज १ र बि.स १८३० फाल्गुण वदि ९ मा लेखेको दुई वटा चिठी अनुसार जम्मा ४१ घडा(एक घडा अर्थात गाग्रोमा बारुद १० किलोग्रामसंम्म अटाउन सक्छ)अर्थात ४१० के.जी बारुदको थप आपुर्ति गरिएको हुँदा पटक पटक खँदुवा बन्दुक पड्काउन १००–१५० ग्रामसंम्म बारुदको आवश्यकता पर्ने हुनाले सोबारुदबाट मात्र पनि ४ लाख भन्दा बढी पटक बन्दुक प्रहार गरिएको मान्न सकिन्छ। यसैले यत्रो ठूलो संख्याको बन्दुक प्रहारबाट खम्बूवान र लिम्बूवानको चैनपुर क्षेत्रमा ठूलैमानव विध्वंसकारी नर संहार भएको थियो। यी माथिका इतिहास अनुसार पडकाइएका बन्दुक,जलाइएका ऐतिहासिक दस्तावेज,चैनपुरका फागो लिम्बूहरुलाई उम्लेको पानीमा हात डुबाउनु पर्ने अवस्था र ३२ हजार लिम्बूहरु लिम्बूवानबाट मुगलानतिर बिस्थापित भएको इतिहासहरुको आधारमा याक्थुङ दश हाङ (दश राजा) हरुले आत्मा समपर्ण गरि पान–फूल लिएर गोर्खालीहरुलाई आफ्नो माटो सुम्पेका थिएनन्। निम्न कस्यरुक्काहरुबाट अझ स्पष्ट हुन्छ। परिशिष्ट १ (क) स्वस्ति श्रीमन्माहाराजधिराज कस्य रुक्का ……… आगे फागु सिरदेव राये प्रति अघि तिमिहरुले सुषिम सित मिली कुल गरेर ल्याये पनि हारेउ सुबाहरुले डाँडलीया कुल गर्‍याको सासना भयाको छैन येससाल फिरी पूर्व तिर काज आघ्वि सबै लीम्बुका नाउमा मोहर जान्छ मोहर बमोजिम हात हतिआर लिन सुबा पगरि कुरिया प्रजामा राम्रै सुबा पुर्ना नन्द उपाध्याको सामील हौ येताबाट जान्या भारादार औ सुबाका सलाहले जता तिर पठाउछन उसैमुबनाई काज गर अघिका जस्तो कुलचुल परिपंच गर्‍या सासना दुःख पाउला सोमानिकन काजमा पस्या तम्रो मीहनत सेवा माफिक गौखर रीस्ति बक्सौंला इति सम्वत १८४८ साल भाद्र शुदि २ रोज २ शुभम ––– परिशिष्ट १ (ख) श्रीदुर्गासहाय स्वस्ति श्री काजिमद श्री कृध्य साह कस्य पत्रम आगे फागु श्री देउ राइ जयकर्न रायके आसिष उप्रान्त तेरो पिछा मैले लियाकोछ मेरो बन्याको दिन तेरो ज्या बिग्रयाकोछ म बनाइ दिउँला खातिर्जामासंग बस इति सम्बत १८४८ सालमा भाद्र शुदि ३ रोज ४ शुभम――――――――――― माथिका दुई कस्यरुक्का मध्ये परिशिष्ट १ (क) मा आगे फागु सिरदेव राये प्रति अघि तिमिहरुले सुषिम सित मिली कुल गरेर ल्याये पनि हारेउ भन्ने हरफबाट स्पष्ट हुन्छ कि लिम्बूवानका सुब्बाहरु गोर्खाली विरुद्ध लागेका थिए अथवा गोर्खाली कुलको वा एकिकरण गर्न आउने गोर्खाली सेनाहरुको विरोध गरेका थिए। परिशिष्ट १(ख)अनुसार आगे फागु श्री देउ राइ जयकर्न रायके आसिष उप्रान्त तेरो पिछा मैले लियाकोछ मेरो बन्याको दिन तेरो ज्या बिग्रयाकोछ म बनाइ दिउँला खातिर्जामासंग बस भन्नको मनसुवा के हो भने मेरो शासन मान्ने भए हामी वीचमा युद्ध हुँदा नोक्सान भएकाहरु बनाइ दिने आश्वासन हो। अर्को शब्दमा तत्कालीन राजकिय भाषामा फकाउने चिठ्ठी हो। यी चिठ्ठी पत्रहरुको आधारमा पनि लिम्बूहरुले डा.रमेश ढुङ्गेलको भाषामा पानफूल चढाएर गोर्खाली समक्ष आत्मा समपर्ण गरेका थिएनन्। लिम्बूवानका बीर योद्धा काङवा वा काङसोरे र रघु राना वीच बि.स १८३१ सालमा भएको द्धन्द्ध युद्धवारे अङ्ग्रेज इतिहासकार ब्राइन हडसनको इतिहास संङकनको ऐतिहासिक प्रमाण हुँदा हुँदै बि.स १८४४ सालमा सिक्किमसंग मिली गोर्खाली बिरुद्ध लडने योद्धा बनाउनु पनि डा.हरुले जे लेखे पनि सबैले पत्याउछन र सत्य हुन्छ भन्ने एकात्मकवादी आडम्बर हो। इतिहास के हो र कसरी नेपालको इतिहास लेखिन्दै आएकोछ समस्त आदिवासी र लिम्बूवानी जनताले बुझ सकेका छन। अव डा.रमेश ढुङ्गेलहरुले नढाँटे हुन्छ। अन्तमा :– लिम्बू र याक्थुङबा शब्दको वीचमा ऐतिहासिक पर्खाल खडा गरि लिम्बू शब्द असभ्यय हो भनेर संघिय लिम्बूवानको नामै असुहाउदो भयो भन्नु ऐतिहासिक कुतर्कको पुलिन्दा बोकेर एकात्मकवादी विचारको सिनोबोकेर हिँडनु जस्तै हो। नेपाल एकिकरण अभियानमा पृथ्वी नारायण शाहले लिम्बूहरुलाई नेति (निति) र सामरिति (मनु स्मृतिमा) मा विभाजन गरेर आफ्नो मनोआकाँक्षा पुरा गरे जस्तै हो। यस्तै हो भने डा.रमेश ढुङ्गेल ज्यूले खम्बूवानमा मातृ भाषाहरुको पृथकता,तामाङ सालिङको १२ तामाङ र १८ तामाङ,नेवारहरुमा उच्च र निम्न साथै धार्मिक मत भिन्नता,गुरुङहरुमा चार जात र १६ जातको जाल फाल्ने सम्भावनाछ। यी सबै संघिय विरोधी रणनितिका स्खलित अभियान हुन। नेपाली इतिहासमा डा.रमेश ढुङ्गेल जस्ता इतिहासकारहरुले ढाटदै आएका थिए। अझै ढाटन कोशिस गरि रहेका छन। संघियवादी जनताहरु यस्ता भ्रामक लेख साथै इतिहासहरुबाट होशियार रहनु पर्छ।

  • Binod Sauden Limbu

    डा.रमेश ढुङ्गेलद्धारा हिमाल खवर पत्रिका बिहिबार,असोज २०६९ को अंकबाट एउटा नयाँ अर्न्तवाताको ऋङ्खला लेख शुरु भएकोछ। वर्तमान लोकतान्त्रिक संघिय सवालमा मागिएका संघिय राज्यहरु (लिम्बूवान,खम्बूवान,तामाङ सालिङ,नेवा राज्य,मगरात,तमुवान,खसान,जडान र थरुवान) को ऐतिहासिकता एवं ति नामहरुबारेको ब्यूत्पति विषय मा आफ्नो धारणा पोख्ने भएका छन। यो अर्न्तवाताको शुरुवात पूर्वी नेपालको लिम्बूवानबाट श्रीगणेश गर्नु भएकोछ। शिर्षक राख्नु भएकोछ। लिम्बू कि याक्थुङ? सबै भन्दा पहिले लिम्बू र याक्थुङ शब्दवारे इतिहासकार एवं विद्धानहरुले के कस्ता मत/अभिमतहरु प्रकट गरेका रहेछन हेरौं।
    याक्थुङ्बा शब्दको प्राचीनता-
    (क) यक्के–नवा सावा येत्हाङ वंशी याक्थुङ्बा
    (ख) याक्केक फुङजोङओ केयुङबा (भीर पहरामा बस्ने)–याक्थुङ्वा।
    (ग) यक् ओ केयुङ्बा–यक्युङबा–किल्लामा बस्ने।
    (घ) सावा येत्हाङ खाम्बोङ्बा लुङबोङ्बा सुSसुSवालिमलिम् साः। –प्राचिन ढुङ्गा माटोबाट सृष्टि भएको जाति।
    (ङ) यक् शब्दको अपभ्रंश यक्ख भएको र त्यहीँ यक्ख शब्दको अर्को रुप याक्थुङ्बा बन्न पुगेको।
    (च) इतिहासकार प्रेम बहादुर माबोहाङका अनुसार–योकतुम्बाका संन्तान नै याकथुङ्बा हुन पुगेका हुन। योकतुम्बा–यकतुम्बा–याक्थुङ्बा भएको हो।
    (छ) सुनिति कुमार चर्टजीले याक पाल्ने भएकोले याकथुङ्बा भएको हो भने पनि डा.जर्ज भ्यान्ड्रमले यसलाई पुरै अस्विकार गरेका छन्। कारण याक्थुङ्बाहरु याक पाल्न सक्ने उचाइमा बस्ने गरेका छैनन्।
    उक्त माथिका मौलिक लिम्बू भाषा यक्को ऐतिहासिकता र सम्भावित अपभ्रंश हुन सक्ने सम्भब्यतालाई विचार गर्दा आदिकालमा लिम्बू जातिहरुको “यक्” (किल्ला) भएको र त्यही किल्ला “यक्” शब्दबाट नै याक्थुङ्बा शब्द जोडिन आई पुगेको देखिन्छ। तर यस्तो प्राचीन शब्दको लेखन कुनै पनि वैद्धिक ग्रन्थहरुमा समावेश भएको पाइन्दैन्। लिम्बूहरुको सावायेत्हाङ साम्जिक मुन्धुम्हरुमा भने सावायेत्हाङ याक्थुङ सुSसुवालिSलिमहाङ भनेर वर्णन गरिएको छ। मुन्धुम् दर्शन र युमा साम्योका ब्याख्याता जे.आर.पन्धाक (साम्जिक मुन्धुम् पेज १०१) अनुसार यी आदिम वासिन्दाहरु प्रागैतिहासिक काल देखि अरुण नदी तथा टिष्टा नदीमाझको भू–भागमा बस्दै आएका छन। (चेम्जोङ १९७६,सान्याल १९७९,श्रेष्ठ १९८५,सुब्बा २००३,रिस्ले १८९४,प्रधान १९९१) तिनीहरुका परम्परा अनुसार तिनीहरुलाई सावा येत्हाङ्सा भनिन्थ्यो। जस्को उत्पति तिनीहरुका पौराणिक आठ भाई (सावा येत्हाङ) बाट भएको हो।
    लिम्बू शब्दको न्वारान –
    गैह् जातिहरुले सजिलै चिन्न सक्ने याक्थुङ्बाहरुको सर्वनाम लिम्बू शब्द भए पनि यो शब्दको प्रयोगवारे भने विभिन्न इतिहासकारहरुले आ–आफ्नै विचार अघि सारेका छन्।
    (क) लिङमा –उम्रनु-(To grow/sprout/shoot forth)फु?फु–दाजु-(Elder brother,Bonded friend of Elder brother ) ऐतिहासिककालमा लिम्बूवानका याक्थुङ्बाहरुले (लिम्बूहरुले) एउटा ब्यापक चलन चलाएका थिए। जोसुकै वंशका गैह् जाति वा थरीका लिम्बूहरु लिम्बूवानमा चोःक्फुङथिम (अन्य जातिलाई वंश/गोत्रभित्र मिलाउँने लिम्बूजातिको दस्तुरःगैरलिम्बू जातिलाई आफ्नो कुल प्रदान गरी कुलमा मिलाउँने रीत त्यस रीतको अनुष्ठान)विधि दुवो ढुङ्गो छुवाएर भैयाद बनाउँने वा आफ्नै वंशभित्र भित्रर्‍याउँने चलन थियो। त्यही भैयाद बनाउँने वा एक वंशबाट अर्को वंशमा लिङ्मा(सार्ने) र फु वा नुसा (दाजु,वा भाई) भैयाद बनाउँने लिङमा+फु?फु संयोजन भएर लिङमा फु?फुको छोटकरी अपभ्रंश शब्द लिङ्फु नै कालन्तरमा लिम्बू शब्द भएको हो भन्ने मान्यता रही आएको छ।
    (ख)इतिहासकार इमानसिं चेमजोङको भनाई अनुसार चीन देशबाट सेनवंशी एकदल चिनियाँहरुले उत्तर बर्मा र वर्तमान आसाम हुँदै नेपालको पूर्व खण्ड देशलाई धनु काँडको सहयताले जितेर लिएको हुनाले विजित देशको नाम लिम्बूवान र आफैलाई लिम्बू भनेका हुन भन्ने मत प्रकट गरेका छन्।
    (ग)लोकमणि दाहालद्धारा लिखित “आर्य संस्कृति” नामक पुस्तक अनुसार महाभारतकालका “लम्बाक” जाति नै अचेलका लिम्बू जाति हुन। तर यसबारे कुनै ऐतिहासिक प्रमाण फेला परेको छैन।
    (घ)मुन्धुम् अन्वेशक लेखक एवं इतिहासकार अर्जुनबाबु माबुहाङका अनुसार मुजिङ्नाखेयङ्ना(आदिम सृष्टिको प्रथम स्त्री) हावाबाट गर्भवती भएकीले उनको गर्भबाट जन्मेको छोरालाई हावा बतासको छोरा सुSसुवेङ लाSलावेङ वा सुSसुवालिSलिम भनेर उनको न्वारान गरि दिइन। लिम्बूहरु आफुहरुलाई खाम्बोङ्बा लुङबोङ्बासा(ढुङ्गा माटोको संन्तान) हौं भन्ने मुन्धुमी विश्वासको सुSसुवालिSलिमको विकसित रुप नै लिम्बू शब्द हो।
    (ङ)स्व.काजीमान कन्दङ्वाका अनुसार हाल ताप्लेजुङ जिल्ला अर्न्तगत मिवा खोला उत्तर पश्चिम अवस्थित लुम्बासुम्बा पर्बतको फेदीमा बस्ने आदिवासी जातिहरुलाई ऐतिहासिक काल देखि लिम्बू नामले चिनिन्दै आएको थियो।
    (च)किरात इतिहासकार प्रेम बहादुर माबोहाङका अनुसार संम्बत २५० तिर लेलिम्सो र खाम्सोसोको राज्य विभाजन पछि पूर्वी नेपालको ताक्लुङ यक्मा आइ पुगेका लेलिम्सोका संन्तानहरुनै कालन्तरमा लिम्बू कहलिन पुगे।
    (छ)नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाद्धारा अनुवाद भएको हड्सन पेपर पाण्डुलिपिको पृष्ट ११० मा उल्लेख भए अनुसार लिम्बूहरुले आफैलाई याक्थुङ्बा पर्बतेले लिम्बू र लाप्चेले चोङ भनेर सम्बोधन गर्दछन् भनेका छन्।
    (ज) सम्बत १८३१ सालमा गोर्खाका राजा पृथ्वीनारायण शाहले लिम्बूवानलाई परास्त गर्नको लागि श्री अभिमानसिंह,पारथ भण्डारी,कीर्तिसिं खवास र बलिबानियालाई लेखेको पत्रमा दश लिम्बूवानलाई “इस् लिम्बा” शब्दले सम्बोधन गरेकाछन्।
    (झ) डा.रमेश ढुङ्गेल अनुसार लिम्बू नाम भोट वा भोटेमूलको “लिङ्” र “पो” वा “वो”(तिब्बती लेखाईमा लिङ्स–पो वा लिङ्स–वो)शब्दको अपभ्रंश हुनु यसको सारभूत ऐतिहासिक कारण देखिन्छ। तिब्बती वा भोट भाषामा लिङ् र पो वा वो शब्दको अर्थ टाढिएको सीमान्तक्षेत्र वा अनकण्टार जंगल,इलाकामा सिकारी भई पसेर हराएको वा मूल सभ्यता धर्मसंस्कृति,परम्परा भन्दा बाहिर पुगेको अर्थात सभ्यता नभएको आदि हुन्छ।१ डा.रमेश ढुङगेलको अनुमान जस्तो सावा येत्हाङ वंशी याक्थुङबा(लिम्बू)हरु त्यस्ता असभ्य थिएनन्। उनीहरुले युगौं अघि चर्खा कातेर आफैले तान बुनी आफ्नो शरीर ढाक्न जानेका थिए। विश्व ब्रह्माण्डको घुम्ने परिक्रमा विधि र घर तरुलले थाङग्रा बेरे जस्तै दाँयाबाट बाँया घुम्ने धार्मिक अनुष्ठान सम्पन्न गर्न जानेका थिए। अहिले पनि केलाङ या,लाङ र माङलाङका अनुष्ठानिक कार्यहरुमा सौर्यमण्डलका ग्रहहरु घुमे जसरी घडीको काँटा घुम्ने दिशा भन्दा ठीक विपरित घुम्ने गर्दै आएकाछन। वैज्ञानिक वा भौतिकवादी सिद्धान्तमा मेल खाने आफ्नै मुन्धुम् सिर्जना गरेर भर याक्थुङ समाजलाई सुशिक्षित बनाएका थिए। याक्थुङ सभ्यतामा युगौं पहिले देखि संगोत्रगमन निषेध गरिएको थियो। संगोत्रगमन गरियो भने लराङ सेरि (धर्तीको विधुत कम्पन र आकाशको बज्र) ले चिरिएर मरिन्छ भन्ने आध्यात्मिक मुन्धुम् वाचा बाँधेर धार्मिक कानुनको नियम बसालेका थिए। त्यसकारण डा.रमेश ढुङ्गेलले अनुमान गरे जस्तो “लिङ्स” र “पो” वा “वो” अथवा तिब्बती भाषामा असभ्य या धर्म संस्कृति र परम्परा भन्दा बाहिर पुगेको अर्थात असभ्य जाति भनिएको अर्थमा “लिङ्स र पो वा “वो” अपभ्रम्स भई “लिम्बू” शब्द बनेको मान्न सकिन्दैन।
    इतिहासकारहरुले लिम्बू शब्दबारे गरेका अभिमतहरुलाई वैज्ञानिक विश्लेशण गर्दा सुSसुवालिSलिमको विकसित रुप वा लिङमा फु?फुको छोटकरी अपभ्रंश शब्द लिङ्फु नै कालन्तरमा लिम्बू शब्द भएको हो कि? भन्ने अनुमान लगाउन सकिन्छ। खाम्बोङ्बा लुङबोङ्बासा हौं भन्ने लिम्बूहरुको साम्जिक मुन्धुम्को कुनै पनि शिलशिलामा लिम्बू शब्दको उच्चारण भएको पाइन्दैन्। सर्व प्रथम पृथ्वी नारायण शाहले वि.स.१८३१ वैशाख ३० मा र श्रावण २२ गते याक्थुङ्बाहरुलाई “तिमी तुंतुतुंम्याहां यहां सन्तान(तुतुतुम्याहाङ् याक्थुमहाङ संन्तान)लिम्बू कुल भाईलाई दिञ्यू भनेर भैयाद बनाउँदै जंगराय,फुङराय,जमुनराय,सुनराय,कुमरायलाई लाममोहर गरि दिएका थिए। सम्भवतः लिम्बू शब्दको न्वारान त्यहीँ बेला देखि भएको थियो। हुन त एकिकरणको नाममा पश्चिमबाट पूर्व लाग्ने गोर्खालीहरुले पूर्वका याक्थुङ्बाहरुलाई लेलिमसोका संन्तान वा लुम्बासुम्बाको फेदीमा बस्ने जातिहरु भनेर चिन्दै आएका थिए। हुन सक्छ सेनकालसंम्ममा सुSसुवालिSलिम शब्द अपभ्रंश हुँदै लिSलिम भन्ने शब्दसंम्म प्रयोगमा आई सकेको थियो। शायद त्यहीँ लिSलिम,लिङ?फु र लुम्बासुम्बा पर्बतको फेदमा बस्ने जातिहरुलाई गोर्खाली जनजिब्रोले सजिलोको लागि “इस् लिम्बा” वा लिम्बू नामकरण गरेका थिए।
    शब्दहरुको अर्थ अनर्थ लाउने हो भने अरवी वा फारसी भाषामा “हिन्दु” शब्दको अर्थ पनि डाका,लुटेरा वा फटाहा भन्ने अर्थ लाग्छ। जसरी आर्यहरुले हियाएर कैलाशवासी किरातहरुलाई किरात भनेर बोलाउन थाले,संस्कृत भाषामा किरात शब्दको जे जस्तो अर्थ लागे पनि स्वीकार्य भएको थियो। जसरी हिन्दु धर्मालम्बीहरुले हिन्दु भन्ने शब्दलाई सह्स्र स्वीकार गरेका छन। यी माथिका इतिहासकारहरुको मत अभिमतहरुलाई अध्यन गर्दा पनि लिम्बूहरु प्राचिन मानव सभ्यताको क्रममा सुSसुवालिSलिम याक्थुङबा भनिन्थे। कालन्तरमा लिङ?फु,“इस् लिम्बा” भनिन्दै बि.स १८३१ को बिजयपुर दरबारमा लिम्बूवान र गोर्खाली पक्ष वीच नुन पानीको सन्धी भए पछि लिम्बू भन्न थालिएको थियो। त्यसकारण याक्थुङबाहरुले गर्व गर्ने शब्द नभएर पनि लिम्बूवानबासी लिम्बूहरुले लिम्बू शब्दलाई स्वीकार गर्दै आएका छन। त्यही सामुहिक लिम्बूवान शब्दले लिम्बूवानबासी लिम्बू र अन्य जातजातिलाई समेट्ने लिम्बूवान शब्दकै आधारमा लिम्बूवानबासी लिम्बूहरुले संघिय लिम्बूवानको माग गर्दै आएका छन। यदी याक्थुङ्बाहरु एकल जाति र पहिचानको हिमायती हुने भए अर्काले दिएको सम्मानमा गर्व नगरि पिता पुर्खा र मुन्धुमले वर्णन गरेको याक्थुङ्बा शब्दको आधारमा “याक्थुङ् लाजे” याक्थुङ् देशको माग गर्न लागि पर्ने थिए। यस अर्थमा लिम्बू शब्द काट्टो खाएर काठा शब्द बनिएको जस्तो तिरस्कृत शब्द होइन। कारण याक्थुङ र लिम्बू शब्दवारे विभिन्न इतिहासकार एवं खोज अनुसंन्धानकर्ताहरुले आ–आफ्नो राय प्रकट गरेका छन। कुन ठिक हो अझैं अनुसंन्धान गर्नु पर्ने देखिन्छ। धेरै पुराना इतिहासकारहरुको खोज अनुसंन्धान भन्दा पृथक एवं असार्न्दभिक “लिङ्स” र “पो” वा “वो” अथवा तिब्बती भाषामा असभ्य या धर्म संस्कृति र परम्परा भन्दा बाहिर पुगेको अर्थात असभ्य जाति भनिएको अर्थमा “लिङ्स र पो वा “वो” अपभ्रम्स भई “लिम्बू” शब्द बनेको हो भन्नु संघिय लिम्बूवानी आन्दोलन प्रति नकरात्मक चाणक्य शब्द प्रहार गर्नु मात्र हुनेछ। भाषा विन्यास र शब्दको अर्थबाट पनि लिङ्से वा पो तिब्बती नभएर शुद्ध याक्थुङ वा लिम्बू भाषा हो। “लिङ्से” भनेको उमि्रनु र “पो” भनेको बढनु हो।
    डा.रमेश ढुङ्गेलको भनाई अनुसार याक्थुङ्बा वा लिम्बूहरु तिब्बती वा भोट भाषामा लिङ् र पो वा वो शब्दको अर्थ टाढिएको सीमान्तक्षेत्र वा अनकण्टार जंगल,इलाकामा सिकारी भई पसेर हराएको वा मूल सभ्यता धर्मसंस्कृति,परम्परा भन्दा बाहिर पुगेको अर्थात सभ्यता नभएको जाति भनेका छन। हिमाल वरिपरिका अनादिवासी रैथानेहरुकोवारेमा वैद्धिक ग्रन्थ,मानव शास्त्री तथा इतिहासकार विद्धानहरुले के कसरी अनुसंनधान गरेका छन त्यो पनि हेरौं। किन भने याक्थुङ वा लिम्बूहरु पनि किरातकै एक शाखा हुन। देश बन्धु क्षेत्री अनुसार “द्धापर युगको आठलाख एकचालीस हजार बर्ष अघि नै किरातीहरु नेपाल उपत्यकामा बसेको तथ्य नेपालको पौराणिक वंशावलीको प्रथम अध्यायमा उल्लेख गरिएकोछ” (पुराण अनुसार द्धापर युग अर्थात चार युग मध्ये तेस्रो युग आठ लाख चौसठी हजार बर्षको हुन्छ)। आचार्य खेमराज केशवशरण अनुसार “प्राचीन संस्कृत वाङमयमा मूलरुपमा काशमीरको सप्तकुण्डदेखि पूर्वको परशुरामकुण्डसंम्म र विस्तृत रुपमा हिमालयदेखि विन्ध्याचलसंम्मको क्षेत्रलाई “किरात देश”भनिएकोछ। अर्थव वेद,शिव शक्ति सङ्गम तन्त्र र यजुर्वेदमा पनि जहाँ जहाँ किरात जातिको चर्चाछ त्यहाँ त्यहीँको पर्वतवासीको रुपमा उल्लेख गरिएकोछ। बाहिर कुनै ठाउँबाट आएका हुन भन्ने उल्लेख गरिएको छैन। सम्भवतः मुन्धुममा वर्णन भएका सावा येत्हाङका संन्तानहरुलाई नै प्राचीनकालमा किरात नामले चिनिन थालिएको थियो। उनीहरु यसै हिमाल वरिपरिका आदि वा अनादिवासि हुन” वरिष्ठ स्तम्भकार केशवराज पिण्डालीको खोज अनुसंन्धान अनुसार “प्राचीन समयमा हिमालयको सम्पूर्ण दक्षिणी क्षेत्रमा अनादिवासी किरातीहरुको बसोबास थियो। आसामको नागाल्याण्ड,प्रागज्योतिषपुर(वर्तमान कामाक्षा) देखि लिएर सिक्कम,दार्जिलिङ,नेपाल,सतलज नदीको किन्नोर उपत्यका एवं कैलाश मानसरोवरसंम्मको सम्पूर्ण क्षेत्र “किरात देश” कहलिन्थ्यो। किरात देशमा बसोबास गर्ने प्राचीन जाति भएबाटै उनीहरु किराती कहलिएका थिए। नेपालको काठमाण्डौ उपत्यका,सतलज उपत्यकाको किन्नोर,मानसरोवरको दक्षिणी क्षेत्र सुवर्णपुर तथा विन्ध्याचलको सम्पूर्ण पहाडी क्षेत्रमा किरातहरुको अलग अलग राज्यहरु थिए।
    उनीहरु मध्य एशिया,पर्सिया,अफगानिस्थान,काश्मिर,पञ्जाव,राजस्थान,ब्रह्मपुत्र नदीको बेँसीहरु,हालको नागा ल्याण्ड,त्रिपुरा साथै सम्पूर्ण हिमालय खण्ड (तिब्बतको केही भाग) मा समेत फैलिएका थिए। वेद्धान्ती विद्धान डा.स्वामी प्रपन्नाचार्य (वेदमा केछ? पृष्ठ ११२–११५) अनुसार प्राचीन वैद्धिक ग्रन्थहरुमा किरातीहरु अन्य कतै ठाउँबाट आएका हुन भन्ने वैद्धिक ऋचाहरु लेखिएका छैनन्। अर्थववेदको भाग ९ र १० मा “कैरातिक कुमारीका सकाखनती भेषजम” भन्ने मन्त्रले किरातीहरुको जन्म पात यही हो भन्ने बताएकोछ। यजुर्वेदको भाग ३०/१६ मा उल्लेखित “गुहाम्य किरातय्” भन्ने मन्त्रमा किरातीहरुवारे उल्लेख गरेको पाइन्छ। ऋग्वेदको नमुची,शम्बर,बर्ची आदि किराती नै हुन। किरातीहरु आज पनि आफ्नै जन्मस्थलमा बसेका छन्। इतिहासकार Kirk Patrick को टिप्पणी अनुसार भारत वर्षमा आर्य जातिको प्रवेश पूर्व हिमालको पहाडी खण्ड र इन्दस नदीको तटसंम्म किरात(असुर) राजाको अधिपत्य थियो। महाभारतको एउटा अध्यायमा किरातहरुको देश हिमालयको अति दुर्गम स्थान अर्थात प्रथम सूर्योदय हुने देश लौहित्र अर्थात ब्रम्हपुत्र क्षेत्र हो भनेर स्पष्ट गरेकोछ। लिम्बू धर्म संस्कृतिको खोज अनुसंन्धान गर्ने प्रसिद्ध फ्रेन्च समाजशास्त्री फिलिप सेगान्तका अनुसार प्राचीन तिब्बतीहरुमा झैं लिम्बूहरुमा हिमाल,पहाड धर्तीका स्थानविशेष चट्टान,रुख,पोखरी,पानीको मूल,नदी नालामा देवी देवताहरु हुने विश्वास छ। उनीहरु प्रकृतिका अनुपम,अदभूत,अनौठा र अनकण्टार वस्तुहरु र ठाउँहरुलाई अलौकिक पवित्र शक्ति तथा सामर्थशाली देवस्थल मान्दछन्। यिनै हिमालय क्षेत्र वरिपरि बस्ने प्राग मानव पूर्खाहरुलाई मुन्धुम्मी भाषामा “सावा येत्हाङसा” वा याक्थुङसा भन्ने गरिएकोछ। उपरोक्त मानव शास्त्री तथा इतिहासकारहरुको खोज अनुसंन्धानहरुलाई नियाल्दा यी जातिहरु हिमालय आसपास तथा मध्य एशियाभरि फैलिएका एक प्राचीन जाति थिए।
    सावा येत्हाङ मुन्धुम् शास्त्रमा जेजति ठाउँ,नदी नाला,हिमाल,पहाड र मैदानहरुको वर्णन भएकोछ। ति सबै फक्ताङलुङ वरिपरि वा पश्चिम पट्टि गन्धमादन पर्वत र पूर्व पट्टि इन्द्रकिल पर्वत हिमालको वरिपरि घुमेकोछ। उनीहरुले प्रतिपादन गरेका सिद्धान्त Super natural power को आधारमा धर्म,संस्कारको आधार निर्माण गर्दै लगेका थिए। हरेक संस्कार संस्कृतिमा गरिने कार्यविधिमा जसरी सौर्य मण्डलमा भएका ग्रहहरुले दायाँबाट बाँया घुमेर परिक्रमा गदर्छन त्यसरी नै घुम्ने नियम बाँधेका थिए। निराकार सर्वब्यापी तागेरा निङवाफुमाङ(विश्वासले मानेको इश्वर)बाहेक कुनै पनि ब्याक्तिको मूर्ति वा तस्विर नराखी प्रक्तिको सञ्चालक पञ्च शक्तिलाई सम्मान गर्ने सावा येत्हाङ मुन्धुमलाइ “इक्सादिङ खाम्बेक तरङदिङ ताङसाङ” स्वचालित पृथ्वी र अन्तरिक्ष आकाश भनी ब्याख्या गरेका थिए। यस्तो आदिम जातिहरुलाई आठौं शताब्दीतिरको तिब्बती इतिहाससंग जोड्नु भनेको इतिहासवारे अज्ञानता र पूर्वाग्राही एकात्मक विचारको विष वमन गर्नु मात्र हो।
    अर्को सर्न्दभ– गोर्खासंग सम्झौता र काङसोरे डा.रमेश ढुङ्गेल अनुसार खम्बूवानमा गोर्खाली सैन्य शक्तिले विजय गरे पछि लिम्बूवानका दश आपुङगी राजाहरुले पान–फूल लिएर हाम्रो राज्य लिइ दिनु होला भनेर आत्मा समपर्ण गरि चैनपुर(संखुवा सभा) मा मेजमान खान बोलाएका थिए। इतिहासका दस्तावेजहरुलाई सिरानी लाएर इतिहासको नाङ्गो छालामाथि नागा नाच नाच्दा सत्य नै हुन्छ भन्नु हुँदैन। डा.रमेश ढुङ्गेलले वेलायतको इण्डिया अफिस लाब्रेरीमा भएका दस्तावेजको आधारमा गफ हाक्दैमा नेपाली जनता र लिम्बूवानी जनताले पत्याइ हाल्ने छैनन। वेलायतको इण्डिया अफिसमा अङ्ग्रेजी इतिहासकार ब्राइन हडसन र उनका सहयोगीहरु जोबानसिं फागो,हंसबाज सुब्बा,च्याङग्रेसिं फेदाङ्मा,रणध्वज हवल्दार,श्रीफुङ लिम्बूहरुले के कस्ता दस्तावेजहरु संङकलन गरि राखेका थिए धेरै लिम्बूहरुले हेरि सकेका छन। पहिलो कुरो पान फुलको कुरोछ यो बिल्कुल लिम्बूवानी वा याक्थुङ संस्कार र संस्कृति भित्र नपर्ने संस्कार हो। लिम्बूहरु आफ्नो सिमानाको ढुङ्गा फोडिन्दा ख्याल ख्यालमा चार इन्चको सिरुपाते उध्याउने प्रवृतिका लिम्बूहरुले यति सजिलै गोर्खाली शासन स्वीकार गरेका थिएनन्। विजयपुरका राजा कामदक्त सेनको हत्या हुनु अघिसंम्म लिम्बूवानका दश आपुङगी राजाहरु विजयपुर राज्य अर्न्गतका स्वायत राज्यहरु थिए। सेन राजाहरुबाट सैन्य अभ्यास साथै सिक्किम तर्फको आक्रमणले पनि लिम्बूवानी जनताहरु युद्धवारे अनभिज्ञ थिएनन्। लिम्बूवान त्रिकोणात्मक सिमाना भएको हुनाले लिम्बूवानमा सिक्किम,तिब्बत र विजयपुरी सेन राजाहरुबाट समेत हात हतियारहरु प्राप्त गरि सकेका थिए। बुद्धि कर्ण रायले गोर्खालीको शासन कुनै हालतमा स्वीकार नगर्ने भएको हुनाले अन्य दश लिम्बू आपुङ्गी राजाहरुलाई आत्मा समपर्ण गर्ने सल्लाह दिएका थिएनन्। लिम्बूहरुले गोर्खालीहरुसंग आत्मा समपर्ण गरेर मिलेको भए लिम्बूहरु एक आपसमा नेती (निति) र संपृति (सामरिति–मनु समृति संसकार) मा विभाजन हुँदैनथे। पक्तिकारसंग भएको हस्तलिखित टिप्पणीमा लेखिए अनुसार बि.स १८२७ साल श्रावण सक्रान्तिका दिन अरुण तरेर ३० सालमा किरात वा लिम्बूवान मासेको हो। यदी पानफूल चढाएर वा लिम्बूहरुले आत्मा समपर्ण गरेको भए किरात मासिएको र टिका मन्याको भन्ने सर्न्दभहरु जोडिन्दैन्थ्यो।
    १६३ बर्षिय लिम्बूवानको ऐतिहासिक टिप्पणी हेरौं
    स्वास्ति श्री सहकाल संम्बत १८२७ सालमा श्री गोर्खाले अरुण तरी चैनपुर आयाको हो। ――――――――――――――――――
    सो २७ साल श्रावण सक्रान्तिका दिन अरुण तरी आयाको हो
    ३० सालमा कीरात मास्याको हो
    ३१ सालमा टिका मन्याको हो
    ३२ सालमा गोप्पे बाँस फुलेको हो
    ४५ सालमा सुर्ज्ये ग्रहण लाग्यो
    ४७ सालमा षुषीम (सुखीम) मारेको हो
    ४८ सालमा तिगर्जा (तिब्बत) हान्याको
    ४९ सालमा रेबुतकामा अकुल भैई धर्म गयाको
    ६५ सालमा ठूलो भैंचालो आयाको हो
    ७० सालमा षलंका (खलङ्गा) बनाएको हो
    ७२ सालमा मधुमनीको लडाइ भयाको तेसै साल विजैपुर लियेको हो
    ७७ सालमा सरुप विष्ट,रामनाथ पाध्या जाँच भै लिम्बूवान बग (बक) भयाको हो
    ८४ सालमा मुसा बहुत भै छाउनी जाँच भयो लामु तारानी रहेको हो
    ८४ सालमा मालिंगो फुल्यो हीउँले गोला मीच्याको हो
    ८९ सालमा सलह पनि भैचालो पनि आयाको हो
    १९०१ सालमा सीवदल षडका जाच आयाको हो ..थुंम चार
    १९०४ सालमा सीवदल षडका जाच आयो लीम्बु पल्टंन दर्ता भयाको हो
    १२ सालमा वलांचुंगोलामा षरुना बाहादुर जर्णेल आयेको हो
    १९ सालमा दीदीको वीहे २० सालमा सलह आयाको हो
    २६ सालमा गोला सर्कार लागेको हो
    २९ सालमा सलह आयाको हो
    ३१ सालमा कालो कीरो राता टाउको हुनेले अंन वेमाष ग्यो
    ३३ सालमा सुर्ज्ये ग्रहण फाल्गुण मैन्हामा राजा जंङ्गबाहादुर स्वार्गवास भै बक्सीयो
    ३५ सालमा मंसीरमा लामु तारा नीस्क्यो
    ३९ साल जेष्ठमा सुर्जे ग्रहण लागेको हो
    ४२ सालमा रणोद्धिप राजा स्वर्ग भै वीर सम्सेर राजा भयाको हो र यसै साल कार्तीक मैनामा लामु सीं नीस्केको तारा पूर्व पट्टि देषियाको र रुढीले गाई भैंसी समेत मरेको हो
    ४३ सालमा सुबेदार लाहां धनकुट्टा टेकुनालामा झुन्ड्डाई (झुन्ड्याई) मारेको हो
    ४४ सालमा भदैमा नेपालमा अरु कासी नाथ मान बाहादुर लीम्बुहरु समेत झुड्डायोको हो
    ४९ सालमा रुणी आई गाई वस्तु मरेको र उसै साल षुडे राजा(सिक्किमका १४ बर्षीय चाकदोर नामग्याललाई सुरक्षाको लागि हाल पापुङ गा.बि.स ताप्लेजुङ अर्न्तगतको सिम्बुक देखि उत्तरतिरको पहाडमा डेनजोङ ग्याबू अर्थात खौडे राजाको दरबार बनाएर राखिएको थियो) वलांचुङ गोलाबाट पक्राउ भै धनकुट्टा पु्याको हो
    ५० सालमा वेदनीधी पाध्या माहा जाच भै आयाको हो उसै साल चैत्रमा सुर्जे ग्रहण पनि लाग्यो
    ५२ सालमा पूर्व ५ नम्बर अड्डा सर्कार राखी बक्सीयो उसै साल वाजहां (वाजहाङ आङबुहाङ) लीम्बु र्नीवीक्रम जर्णेल समेत धनकुट्टाबाट आई सो पूर्व ५ नम्बरले झुड्डाई (झुन्ड्याई) मारेको हो ५६ सालमा ८ येहां १ राज्य भै १ राज्ये नासीन्छ भन्ने चिठ्ठी कांसीबाट आयाको हो
    ६९ सालमा पूर्व ५ नम्बर अडडालाई तापलेजुं (ताप्लेजुङ) अमीनीको बहाल भयाको हो
    ७९ सालमा महा अनीकाल भयाको हो
    ९० साल माघ २ गते देखि अषाड ७ गते संम्म भै चालो आयाको हो
    नोट;-(यो ऐतिहासिक टिप्पणीको सक्कल पक्तिकारसंगछ)
    लिम्बूवान र गोर्खाली वीचको युद्ध सुलह भए पछि के भयो?
    सिक्किम लिम्बूवान–गोर्खा युद्ध थामिएपछि लिम्बूहरु सिक्किम पक्षमा लागे भन्ने आरोप लगाई गोर्खाहरुले लिम्बूहरुलाई प्राणदण्ड दिन थाले पछि लिम्बूवान छाडेर ३२,००० हजार लिम्बूहरु विदेश लागेका थिए। उक्त विदेश जाने पहिलो हुद्धा सुखिम देशको रम्फु,रिनोक र माङसीला गाउँमा बसाइँ सरेका थिए। दोश्रो हुद्धा भुटान देशको कुचिङ,टेन्डु र जुम्मा गाउँमा गई बसेका थिए र तेश्रो हुद्धा आसाम देशको बेनी,कालचिनी गाउँमा गई त्यहाँका पुराना बासिन्दा मेच–कोच जातिहरुसंग विवाह गरी एकै वंश भई बसे।६ यो युद्ध जम्मा १२ बर्षसंम्म चलेको थियो। गोर्खाहरुको विजय पछि लिम्बूवानका लोग्नेमान्छे मात्र नभएर आईमाई,केटा–केटी समेतलाई पकडेर निर्दयपूर्वक मारेका थिए। लिम्बू नेताहरुलाई सम्झौता गर्नको लागि बोलाएर अन्य कुरामा अल्मल्याई रात पारेर छाप्रोमा सुत्न लगाई सुति सकेपछि गोर्खाहरुले चारैतिरबाट आगो लगाएर मारेका थिए। दोश्रो पीडीका नेताहरुलाई रातो पोलेको फलाम समाउन लगाएर वा उम्लिएको पानी या तेलमा हात चोब्न लगाएर अत्याचार र नीर्दयताको दण्ड “सिक्कमपटि्ट लागिन” भन्ने सावित गर्न ति सजायका उपायहरु रचिएका थिए। लिम्बू लिपि,भाषा,संस्कृति तथा इतिहासका ज्ञाता तथा ब्रिटि्रस रेसिडेन्ट बी.एच् हडसनको हवाला दिँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा आयामेली कवि वैरागी काइँलाले उक्त हृदयविदारक जेनोसाइडको शब्दचित्र यसरी उतार गरेका छन्। ……हेप्मोसा याक्थुङ्बाहा कुल केजोगिभाङ।। खुन्छि नाभाक हेप्मो तारुसिङ नेस्सुआङ ओरु चिजिङ केलवेन सेप्रासापा चोगुरोभाङ मेजुप्तुसि।। चिजिङ मेन्लबेन चित्तिताभाङ मेलेरुसिरो।। क्रर्खाले आम्फाबा पासिङ चोगुरो।। चैनपुरमा गोर्खा फौज बसेका बेला गोर्खा अफिसरलाई कसैले पोलझोस गर्दा तिमी लिम्बूहरुले अघि छलकपट गन्यौ भनेर उनका कानमा तारुसिङ (तारुबाँस) राखेर डढाउँदा जिरिङ्ग गर्ने जतिलाई गोर्खालीहरुले दोषी ठहर्‍याएर काटी मारे। नकाम्नेहरुलाई निर्दोष भनेर छोडिदिए र कतिलाई आफ्नै जातभित्रको सदस्य बनाए। तान्छोप्पा बर्ष १४ अङ्क ८ मा वीर नेम्बाङले लिम्बूवानमाथि जेनोसाइडको ऋङखला शिर्षकमा (साभार–नेम्बाङको प्रकाशोन्मुख कृति भञ्जबात लिम्बूवानबाट) लेखेका छन। यता गाउँ नछाडी बस्ने फुकन,फेदाप,नावाका लिम्बू बूढापाकाहरुलाई सरसल्लाह र सन्धी गर्नका लागि जम्मा पारी राति सुतेको बेला छाप्रोमा आगो लगाएर माथि (पहाड) र तल(तराई)सबैतिरका लिम्बूहरुलाई एकै पटकमा मारे। गोर्खालीहरु यतिसंम्म पापी थिए।
    त्यस पछि चैनपुरको सबै फागो लिम्बूहरुलाई विजयपुरमा जम्मा हुन बोलाए। अब यौटै फूल हुनुपर्छ तर अघि तिमीहरु सिक्किमे भोटेहरुलाई मद्धत गर्‍यौ,उत्ता लाग्यौ भनेर दोष दिए। तिनले तेल उमालेर त्यसमा फलाम रातो बनाई “त्यहाँ हात डुबाइकन हो कि होइन भन” भनेर बिराम गर्ने नगर्ने सबैलाई हात डुबाउन लगाउँदा कति फागो लिम्बूहरुको हातहरु डढेर डुँडे भए। पृथ्वी नारायण शाहका भाई सुर प्रताप शाहका आँखा फुटाई दिएको प्रतिसोध (वदला) स्वरुप निहत्था कीर्तिपुरवासीहरुको १७ धार्नी नाक,कान काटने गोर्खालीहरुले गोर्खा बिरोधी लिम्बूहरुलाई यस्ता सजायहरु दिएनन् भन्न सकिने ठाउँ छैन। अङ्ग्रेज इतिहासकार G.A Grierson अनुसार According to Major H.A.R.Senior,Their history is stated to be written in a book called bhongsoli, i.e., vomsavali, of which copies are kept in some of the most ancient families. Such copies, When found by the Gurkhas, are always burnt, and the keeping of them is strictly forbidden. यसरी तत्कालीन गोर्खा एकिकरणको वेला गोर्खालीहरुले अमानवीय ढङ्गले धेरै लिम्बूवानी जनताको ज्यान मात्र लिएनन्। उनीहरुको धार्मिक,सांस्कृतिक,भाषिक,ऐतिहासिक तथा लिम्बूवान राज्यको शासन पद्धति समेत ध्वस्त गरेका थिए। राजा पृथ्वी नारायण शाहले उनका सर्दार रामकृष्ण कुँवरलाई बि.स १८३० माघवदि ६ रोज १ र बि.स १८३० फाल्गुण वदि ९ मा लेखेको दुई वटा चिठी अनुसार जम्मा ४१ घडा(एक घडा अर्थात गाग्रोमा बारुद १० किलोग्रामसंम्म अटाउन सक्छ)अर्थात ४१० के.जी बारुदको थप आपुर्ति गरिएको हुँदा पटक पटक खँदुवा बन्दुक पड्काउन १००–१५० ग्रामसंम्म बारुदको आवश्यकता पर्ने हुनाले सोबारुदबाट मात्र पनि ४ लाख भन्दा बढी पटक बन्दुक प्रहार गरिएको मान्न सकिन्छ। यसैले यत्रो ठूलो संख्याको बन्दुक प्रहारबाट खम्बूवान र लिम्बूवानको चैनपुर क्षेत्रमा ठूलैमानव विध्वंसकारी नर संहार भएको थियो। यी माथिका इतिहास अनुसार पडकाइएका बन्दुक,जलाइएका ऐतिहासिक दस्तावेज,चैनपुरका फागो लिम्बूहरुलाई उम्लेको पानीमा हात डुबाउनु पर्ने अवस्था र ३२ हजार लिम्बूहरु लिम्बूवानबाट मुगलानतिर बिस्थापित भएको इतिहासहरुको आधारमा याक्थुङ दश हाङ (दश राजा) हरुले आत्मा समपर्ण गरि पान–फूल लिएर गोर्खालीहरुलाई आफ्नो माटो सुम्पेका थिएनन्।
    निम्न कस्यरुक्काहरुबाट अझ स्पष्ट हुन्छ।
    परिशिष्ट १ (क) स्वस्ति श्रीमन्माहाराजधिराज कस्य रुक्का ……… आगे फागु सिरदेव राये प्रति अघि तिमिहरुले सुषिम सित मिली कुल गरेर ल्याये पनि हारेउ सुबाहरुले डाँडलीया कुल गर्‍याको सासना भयाको छैन येससाल फिरी पूर्व तिर काज आघ्वि सबै लीम्बुका नाउमा मोहर जान्छ मोहर बमोजिम हात हतिआर लिन सुबा पगरि कुरिया प्रजामा राम्रै सुबा पुर्ना नन्द उपाध्याको सामील हौ येताबाट जान्या भारादार औ सुबाका सलाहले जता तिर पठाउछन उसैमुबनाई काज गर अघिका जस्तो कुलचुल परिपंच गर्‍या सासना दुःख पाउला सोमानिकन काजमा पस्या तम्रो मीहनत सेवा माफिक गौखर रीस्ति बक्सौंला इति सम्वत १८४८ साल भाद्र शुदि २ रोज २ शुभम –––
    परिशिष्ट १ (ख) श्रीदुर्गासहाय स्वस्ति श्री काजिमद श्री कृध्य साह कस्य पत्रम आगे फागु श्री देउ राइ जयकर्न रायके आसिष उप्रान्त तेरो पिछा मैले लियाकोछ मेरो बन्याको दिन तेरो ज्या बिग्रयाकोछ म बनाइ दिउँला खातिर्जामासंग बस इति सम्बत १८४८ सालमा भाद्र शुदि ३ रोज ४ शुभम―――――――――――
    माथिका दुई कस्यरुक्का मध्ये परिशिष्ट १ (क) मा आगे फागु सिरदेव राये प्रति अघि तिमिहरुले सुषिम सित मिली कुल गरेर ल्याये पनि हारेउ भन्ने हरफबाट स्पष्ट हुन्छ कि लिम्बूवानका सुब्बाहरु गोर्खाली विरुद्ध लागेका थिए अथवा गोर्खाली कुलको वा एकिकरण गर्न आउने गोर्खाली सेनाहरुको विरोध गरेका थिए। परिशिष्ट १(ख)अनुसार आगे फागु श्री देउ राइ जयकर्न रायके आसिष उप्रान्त तेरो पिछा मैले लियाकोछ मेरो बन्याको दिन तेरो ज्या बिग्रयाकोछ म बनाइ दिउँला खातिर्जामासंग बस भन्नको मनसुवा के हो भने मेरो शासन मान्ने भए हामी वीचमा युद्ध हुँदा नोक्सान भएकाहरु बनाइ दिने आश्वासन हो। अर्को शब्दमा तत्कालीन राजकिय भाषामा फकाउने चिठ्ठी हो। यी चिठ्ठी पत्रहरुको आधारमा पनि लिम्बूहरुले डा.रमेश ढुङ्गेलको भाषामा पानफूल चढाएर गोर्खाली समक्ष आत्मा समपर्ण गरेका थिएनन्। लिम्बूवानका बीर योद्धा काङवा वा काङसोरे र रघु राना वीच बि.स १८३१ सालमा भएको द्धन्द्ध युद्धवारे अङ्ग्रेज इतिहासकार ब्राइन हडसनको इतिहास संङकनको ऐतिहासिक प्रमाण हुँदा हुँदै बि.स १८४४ सालमा सिक्किमसंग मिली गोर्खाली बिरुद्ध लडने योद्धा बनाउनु पनि डा.हरुले जे लेखे पनि सबैले पत्याउछन र सत्य हुन्छ भन्ने एकात्मकवादी आडम्बर हो। इतिहास के हो र कसरी नेपालको इतिहास लेखिन्दै आएकोछ समस्त आदिवासी र लिम्बूवानी जनताले बुझ सकेका छन। अव डा.रमेश ढुङ्गेलहरुले नढाँटे हुन्छ।
    अन्तमा :– लिम्बू र याक्थुङबा शब्दको वीचमा ऐतिहासिक पर्खाल खडा गरि लिम्बू शब्द असभ्यय हो भनेर संघिय लिम्बूवानको नामै असुहाउदो भयो भन्नु ऐतिहासिक कुतर्कको पुलिन्दा बोकेर एकात्मकवादी विचारको सिनोबोकेर हिँडनु जस्तै हो। नेपाल एकिकरण अभियानमा पृथ्वी नारायण शाहले लिम्बूहरुलाई नेति (निति) र सामरिति (मनु स्मृतिमा) मा विभाजन गरेर आफ्नो मनोआकाँक्षा पुरा गरे जस्तै हो। यस्तै हो भने डा.रमेश ढुङ्गेल ज्यूले खम्बूवानमा मातृ भाषाहरुको पृथकता,तामाङ सालिङको १२ तामाङ र १८ तामाङ,नेवारहरुमा उच्च र निम्न साथै धार्मिक मत भिन्नता,गुरुङहरुमा चार जात र १६ जातको जाल फाल्ने सम्भावनाछ। यी सबै संघिय विरोधी रणनितिका स्खलित अभियान हुन। नेपाली इतिहासमा डा.रमेश ढुङ्गेल जस्ता इतिहासकारहरुले ढाटदै आएका थिए। अझै ढाटन कोशिस गरि रहेका छन। संघियवादी जनताहरु यस्ता भ्रामक लेख साथै लेख साथै साथै इतिहासहरुबाट होशियार रहनु पर्छ।

  • http://www.facebook.com/praveen.puma Praveen Puma

    विचरा ढुगेल

  • Gaurab Limbu

    हिमाल खबर जस्तो पत्रीकाको सम्पादक ज्युले एस्ता लेख छाप्नु अघी यो लेखले आम पाठकमा कस्तो असर गर्छ भन्ने कुरा सोच्नु पर्ने देखिन्छ, डा. ढुंगेल मात्रा लिम्बुवान को ईतिहासको सेतु होइनन । अन्य ईतिहासकारको ईतिहास र सत्य तथ्य कुरा लाई बङगाएर कस्तो ऐतिहासिक दस्ताबेज बनाउन खोजेका हुन लिम्बुवानको जनता ले बुझी सकेका छन सपनामा खोले नखाए हुन्छ ।

  • Tanka wanem

    लिम्बू जातिको पहिचान माथि फैलाइएको भ्रम
    -अर्जुन माबुहाङ

    गोर्खालीले याक्थुङबालाई ”लिम्बू” भनेका हुन

    यस पालीको हिमाल पत्रिकाको २०६८ असोज १–१५ को पाना नं ३२–३५ मा डा.रमेशकुमार ढुङ्गेलको नाममा ”लिम्बू कि याक्थुङ?” शिर्षकमा छापिएको लेखले लिम्बू जातिको इतिहास खोतल्ने भन्दा पनि बढी भ्रम फैलाउने प्रयत्न गरेको पाइयो। डा.सापलाई लिम्बू जातिको सत्य तथ्य इतिहास खोज्ने लेख्ने कार्यमा हामी सहयोग गर्न तयार छौं। याक्थुङ्बालाई जाति बोध गर्ने ”लिम्बू” शब्द भोटमूलका लामा शासकहरूले सम्बोधन गरेको वा गालि गरेको,सिमान्तकृत अर्थ लाग्ने भन्ने तर्क मा कुनै तुक देखिन्न। तिब्बती शासक दलाई लामाले याक्थुङबा (किरात/लिम्बू) र खम्बू (किरात/राई) हरूलाई ”चोङरिक” भनेर सम्बोधन गरिएको पाइएको छ (नरहरीनाथ वि.सं २०२२ पृष्ठ १८६)। नरहरीनाथकै संकलनमा गोर्खा र चिनको लडाइँलाई लिएर तिब्बती लामा नजिकका भोटमूलका व्यक्ती ताशी लिम्बूको चर्चा गरिएको छ(नरहरीनाथ,ऐजन पृष्ठ १२६)। यदि भोटमुलमा ”लिम्बू” शब्दको अर्थ हेय भावले लाग्ने भए ताशी लिम्बूले आफ्नो नाम ताशी लिम्बू किन राख्थे। एच.एच.रिस्लेले डा. वाड्डेलको भनाइलाई उधृत गर्दै लिम्बूले आफूलाई ”याक्थुङबा” भन्ने गरेको र याक्थुङबालाई नेपाली (गोर्खाली) ले ”लिम्बू”,लाप्चा र भुटियाले ”चोङ” भनेको उल्लेख गरेका छन (रिस्ले, सन् १८९४/१९७२ पृष्ठ ३७ )। याक्थुङवालाई ”लिम्बू” भन्ने गोर्खाली नै हुन। यसको आधिकारिकताका लागि माथि उल्लिखित योगी नरहरीनाथकै संकलन हेर्नुपर्ने हुन्छ। पृथ्वीनारायण शाहले आफ्ना भारदारहरूसंग वि.सं १८२५–१८३१ साल बीच लडाईंको रणनीति बनाउँदा….पूर्व तरफका लिम्बू किराती खारिज नगरी … जस्ता शब्दहरू उल्लेख गरेका छन (योगी नरहरीनाथ,ऐजन पृष्ठ ७ र ८)। उक्त संकलनमा नै पृथ्वीनारायण शाहले पूर्वतर्फ खटिएका आफ्ना सैनिकलाई वि.सं १८३१ मा लेखेका पत्रहरूमा …लिम्बू श्रींग्याका सुवाले मान्न आयाको ……जस्ता शब्दहरू परेका छन(नरहरीनाथ,ऐजन पृष्ठ १८७) । श्रींग्याका लिम्बू सुब्बा भनेका ताप्लेजुङ मिवाखोला का सिरेङ लिम्बूलाई भनिएको हो। सम्भवत गोर्खालीसंग याकथुङबाहरूले आफ्नो परिचय दिंदा आफ्ना पुर्खा सुसुवा लिलिम याक्थुङहाङका सन्तान भनेर दिए। गोर्खालीले उच्चारण गर्न ”लिलिम” सजिलो भएकोले लिलिम भन्न खोज्दा ”लिम्बू” भनेको हुनुपर्छ (माबुहाङ,वि.सं.२०६३,पृष्ठ ०१)। गोर्खालीले याक्थुङबालाई उनीहरूको पुर्खाको नामबाट चिन्न खोज्दा ”लिम्बू” शब्दको वा लिम्बू जातिको ब्युत्पत्ति भएको देखिन्छ। अन्तत गोर्खाली शासकले प्रयोग गरेको ”लिम्बू” शब्द सत्ता संग जोडिन पुग्यो र उ बेला याक्थुङबा बाहेकका धेरै बेग्लै नश्ल र बंशले पनि आफूलाई सत्तासंग जोडाउनका लागि लिम्बूको रूपमा चिनाउन थाले जसरी राय(राई) पगरी नपाएका खम्बूले पनि थरमा ”राई” लेखे जस्तै। शुभाङ्गी (सुब्बा) नपाएका याक्थुङबाले पनि सुब्बा लेखे जस्तै।
    त्यसो त हज्शन पा48डुलिपि(वि.सं १९०३)हेर्दा लिम्बूहरूको गोर्खाली भन्दा अगाडि सेनहरूसंग सम्बन्ध भएको देखिन्छ। लिम्बूहरूलाई शाह र राणाहरूले गरिदिएको कागजहरूमा ‘दशलिम्बु,’दशलिम्बुवान’,’दशलिम्बूका थिति बमोजिम’, सेनमकुवानीका पालादेखि’ जस्ता शब्दहरू पाइन्छन। सेनहरूले लिम्बूहरूलाइ दिएका स्याहामोहोरहरूमा ”लिम्बू” नभनेर ”राय” मात्र भनेको पाइएको छ। रायलाई लिम्बूले लेख्दा ”रे” लेखेका छन। जस्तो हज्शन पाण्डुलिपिको खण्ड ८५ को पृष्ठ १३२ मा साङबोत रे (राय),काङका रे (राय)काङशोरे(राय)आदि लेखिएकोछ। खम्बूहरूले त आफूलाई सत्तासंग जोडाउनका लागि आफ्नो थर नै ”राई” बनाए। हामिल्टनले चितौर शिसौदियाबाट आएको हिन्दूराजपुत जिल राय र अजिल रायको चर्चा गरेका छन जो सेनवंशहरूका पुर्खा थिए(हामिल्टन,सन् १८१९/१९९०,पृष्ठ १२९)। ”राय” भनेको पद(पगरी)हो जुन गाउँ वा इलाका प्रमुख भन्ने गरिन्थ्यो। तर लिम्बूहरूको हकमा चाँहि राई पगरी भन्दा बढी सुभाङ्गी(सुब्बा)चल्यो।
    हज्शन पाण्डुलिपिमा ”याक्थुङबा” शब्दलाई खस भाषामा उल्था गर्दा ”लिम्बू” र ”याक्थुङबा खाम्बोङबा लाजी”शब्दहरूलाई ”लिम्बुवान” भनेको प्रशस्तै भेटिन्छ (खण्ड ८४ पृष्ठ २४४)। गोर्खालीहरूले नै याक्थुबाको भूमिलाई ”लिम्बुवान” भनेका हुन। ”लिम्बुवान” शब्दहरूले लिम्बूजातिको थातथलोलाई जति भावार्थ दिन्छ त्यसरीनै ऐतिहासिक प्रशासनीक संरचनालाई पनि जोड दिन्छ। वास्तविकता त के हो भने नेपालको प्रशासनीक संरचनामा मुगलहरूको प्रभाव परेको देखिन्छ। लिम्बुवानमा प्रचलित सुब्बा,अमाल जस्ता शब्दहरू मुगल शब्दहरू हुन(अवार्डदेस एस.एम. गारिट एच.सि.ओ.,सन् १९६२ पृष्ठ १३७ र १३८)। हिन्दूहरूको ठाउँलाई हिन्दुस्तान भनिए जसरी लिम्बूको भूमिलाई लिम्बुवान भनिएको हुनुपर्छ। हिन्दु र हिन्दुस्तान शब्दहरू मुगलहरूले सम्बोधन गरेको भन्ने गरिन्छ। मुगल भुमिहरूको नामको पछाडि ”आन” शब्दहरू झुण्डिएको देखिन्छ जस्तोः– पाकिस्तान,अफगानिस्तान आदि। वास्तवमा लिम्बुवान् शब्दले आज जाति विशेष भन्दा पनि हिजोका गोर्खाली र याक्थुङबाको शासकीय इतिहासको पहिचान दिन्छ। आज लिम्बुवान राज्यको प्रसङ्ग उठिरहँदा सन् १७७३ मा गोर्खाली बाट पराजित खम्बुहरू अरुण तरेर लिम्बुवान पसे।खम्बूहरूको पछिपछि गोर्खालीका भारदार र सेनाका रुपमा वाहुन, खस,मगर,गुरुङ प्रवेश गरे। तामाङहरू(मुर्मी)गोर्खालीका रासनपानी बोकेर पसे। नेवारहरू व्यापारी भएर प्रवेश गरे। सन् १८२६ मा पग्ला देवानले सिक्किममा दरवार हत्याकाण्ड गरे पछि आठसय लाप्चाहरू इलाममा प्रवेश गरे(रिस्ले सन् १८९४/१९७२ पृष्ठ १९)। वर्तमान सङ्खुवासभाका भोटे/भुटीया(गोवा),लोहोरुङ,मेवाहाङ,याम्फु,आठपहरीया(अठप्रे), याख्खा यी सबै जातिको नियम–कानून गोर्खाली र लिम्बूको सम्झौता वमोजिम दशलिम्बूको थिति बमोजिम नै चल्थ्यो। उनीहरूका पुर्खाले तिरो तिरेका रसितहरू पल्टाएर हेरेमा अझ प्रष्ट हुन्छ। यसरी हिजोको सिमित याक्थुङबा लिम्बूहरूको सामाजिक,सांस्कृतिक र राजनीतिक परिवेश गोर्खालीहरूको प्रवेशपछि लिम्बुवान् जातीय नामबाट भन्दापनि राजनैतिक भुगोलको रूपमा विकास भएको हो। कारण आज संघीयराज्यहरूको खाका कोर्नु पर्दा हिजोको ऐतिहासिक लिम्बुवान नै आज आएर लिम्बुवान्बासीहरूका स्वाधिनताका लागि राजनीतिक इकाई बन्न पुगेको महशुस हुन्छ।
    शिरिजङ्गा लिपिलाई किरात लिपि भन्न मिल्दैन । डा.सापले लिम्बूहरूलाई याक्थुङबा हुन भनेर पहिचान गरिसक्नु भएपछि शिरिजङ्गाले चलाएको लिपिलाई किरात कसरी भन्नु भयो? गोर्खालीले याक्थुङबालाई ”लिम्बू किराती” भन्न भन्दा अगाडि नै शिरिजङगा लिपिको अस्तित्व भेटिन्छ। सन् १८९१ मा सिक्किममा लिइएको जनगणना अभिलेख प्रस्तुत गरिएकोछ(रिस्ले,ऐजन,पृष्ठ २७)। उक्त जनगणना अभिलेखमा मा जातिको नाम लेखिने ठाउँमा लिम्बू र खम्बू जातिको मात्र लेखिएको छ। अथबा किरात जातिको छैन। त्यसैले किरात न जाति हो,न भूगोल हो र न राज्य हो। खालि आर्यहरूले आफूभन्दा बेगल संस्कृति र जीवनशैली बोकेका समुदायलाई लगाइदिएको नाम मात्र हो। इमानसिं चेम्जोङले पनि आफ्नो पुस्तकमा माबोहाङ राजाको उपदेश यसरी उल्था गरेका छन–“याक्थुङसाःसे खेप्साम्मेओ” अथबा “किरात लिम्बूवंश सबैले सुन्नु ” आदि ( चेम्जोङ,सन् १९६५/१९८२ पृष्ठ ३३)। “याक्थुङ” शब्दलाई नेपालीमा चेम्जोङले ‘किरात लिम्बू’ भन्न खोजेको मात्र प्रष्ट हुन्छ।

    कंस राय(काङ्शो राय)लिम्बू सेनापति हुन

    हज्शन पाण्डुलिपि(वि.सं १९०३)को ८५ खण्डमा संकलित गोर्खा र खम्बू–याक्थुङ युद्धको वर्णन लिम्बू भाषामा शिरिजङ्गी लिपिमा लेखिएको मैले पनि पढेको हो। हज्शन पाण्डुलिपि लण्डनमा गएर अध्ययन गर्ने विद्वान डा.ढुङगेल पनि हुनुहु्न्छ। यो युद्ध वर्णन १३० देखि १४९ पृष्ठ सम्म छ। केही पृष्ठलाई एउटै पृष्ठ नम्बर दिइएको छ भने बीचबीचमा पाना नम्बरहरू क्रमबद्ध छैनन। यो युद्ध वर्णनमा गोर्खालीले नेवार र खम्बू राजाहरू ताँवाकोशीका वलिङहाङ र उलिङहाङ र चौदण्डिका अगमसिं राई लाई पराजित गरेपछि अरुण र सभाया खोलाको दोभानमा गोर्खाली र याक्थुङ(लिम्बू)राजाहरू जयकर्ण र चर्तुभद्र र उनीहरूका सेना काङशो राय,तेसाक्पा राय,गांगा राय,साङबोत राय,सिवा, फाक्ते,मन्जित राय,राजामो राय,विरजित राय बीच लडाईं भएको चर्चा गरिएकोछ। पहिलो चोटि अरुण र सभाया खोलाको दोभानमा भएको लडाइँमा गोर्खाली हारेका छन। दोस्रो चोटीको लडाई दुमजाको फेदि बाराबुक्सिमा(बाह्रबिसे?) हुन्छ। यो लडाइँमा दुई पक्ष गोर्खाका सरदार रघुराना र लिम्बूका सरदार काङशोरेबीच सेनापतिहरूबीचको मात्रै हार्ने र जित्ने सर्तमा युद्धको छिनोफानो हुने बाचा गरेर युद्ध सुरु भएको छ। एकदिन र एक विहान सम्मको लडाइँमा रघुरानाको मृत्यु हुन्छ। तर गोर्खालीले छलकपटपुर्ण तरिकाले लुकाएको हतियार निकालेर काङशोरे माथि प्रहार हु्न्छ र काङशोरे को मृत्यु हुन्छ। यसपछि गोर्खाली सरदार रामाभद्र थापा मगरले साइनो सम्बन्ध केलाएर चयनपुरका फागु याक्थुङ्बा (लिम्बू) संग मित लगाउँछन। पहिले सिन्जाली थापा संग जुठो बार्ने सम्म मगर र फागु (फागो) लिम्बू भैयाद(दाजुभाई)बनिएको उल्लेख गरिएको छ। काङशोरेको मृत्यु पछि फागुले मगरसंगको भैयाद सम्बन्ध तोड्छन। यसपछि गोर्खालीले लिम्बूहरूलाई फकाएर लम्जुङ र तनहुं सम्म लडार्इंमा लगेको जागिर दिलाएको पाइन्छ। त्यसपछि फेरी शभाखोलाको किनार र चयनपुर शिद्धिपुर वरिपरि एकातिर गोर्खाली र फागु लिम्बू र अर्कोतिर यङयाहाङ लिम्बू र सुखिमका भोटे बीच लडाइँ हुन्छ। गोर्खाली सुबिदार लगाएत तिरले मुखमा हानेर मार्ने धनुकाँणबाज सिवाको शभाखोलाको किनार सियना थापिना(सिवुवा,स्यावुन?) मा मृत्यु हुन्छ। यो युद्ध तीन वर्षसम्म चलेको लेखिएको छ।
    हज्शन पाण्डुलिपि पढिसकेपछि पत्रिकामा लेखिएका ”काङशो नामका लिम्बू नायकले गोर्खालीहरूसंग युद्ध गरेको भ्रम सृजना गरेको पाइन्छ” जस्ता शब्दहरू सुनियोजित लाग्छन। फेरी अर्को प्याराग्राफमा आएर यस्तो लेखिएकोछ :– काजी काङ्शो राय सिक्किमे भोटे,लेप्चा र केही याक्थुङबाको मोर्चाबाट वि.सं १८४४–४५ मा काठमाडौंको फौजसंग लड्ने नायक हुन। काङशो रायको उपस्थिति शिद्धिपुरमा देखिदैन। योगी नरहरीनाथको संकलनमा पृथ्वीनारायणशाहले सिद्धभगवन्तनाथलाई वि.सं १८३१ मा लेखेको पत्रमा ..किरातको अम्वल मदेश पहाड भोट जति थियो आफ्ना आशिर्वादले सबै फत्ते भयो मध्यश माहाँ कनकाई नदी पाहाडमाहा सभाखोलोको तमोर नदीको साँध लाग्यो …… जस्ता शब्दहरू परेका छन (नरहरीनाथ,ऐजन,पृष्ठ ७)। अथवा गोर्खालीले लिम्बूलाई हराएर सभायाखोलामा साँध राखे। सभायाखोला र अरुणको दोभान र त्यस पश्चात सभायाखोलाको आसपास लिम्बू र गोर्खालीको लडार्इं तीन वर्ष सम्म भएको माथिको हज्शन पाण्डुलिपिमा उल्लेख भएको चर्चा भइसकेको छ। त्यस्तै नरहरीनाथकै संकलनमा उक्त पुस्तकको पृष्ठ १२ मा मात्र वि.सं १८४८ मा पृथ्वीनारायण शाहले जाजरकोटी राजालाई लेखेको पत्रमा …..चिनीया भोटया समेत आइ लिम्बुवान् लाप्च्या लाई भित्र संच षर्चदि कमाई कन कुल गरि चयनपुरको गढी समेत १।२ जग्गा लियोथ्यो …..चयनपुरको गढी सिद्धिपुर…..जस्ता शब्दहरू परेका छन(नरहरीनाथ,ऐजन,पृष्ठ १२)। नरहरीनाथको संकलनमा अरुण र सभा दोभानको लडाइँ र सभाखोला आसपास चयनपुर शिद्धिपुरको लंडाईको साल संवत १४ वर्षको फरक देखिन्छ। जब कि पाण्डुलिपिमा काङशोरे र गोर्खाको लडाई तीनवर्ष सम्म भएको पाइएको छ। त्यस्तै पाण्डुलिपिमा काङशोरेको मुत्यु दुम्जाको फेदि बाराबुक्सिमा भएको देखिन्छ। काङशोरेको मृत्यु हुन गएको समय वि.सं १८३१ देखि उता जाँदैन। पाण्डुलिपिमा उल्लिखित सिन्जाली थापाहरूसंग वंश जोडिएका लिम्बूहरू आजका वनेम फागो(फागु)मात्र देखिएकोले लिम्बुवान्का पहिलो ऐतिहासिक योद्धा काङशोरे फागो वनेम थरीका लिम्बू पुष्टि हुन्छन। लोहाङसेनले चयनपुरमा एउटा सुब्बा राख्न थालेको चर्चा गरेका छन (हामिल्टन,१८१९/१९९० पृष्ठ १५१)। ति सु्ब्बा तिनै सिन्जाली थापा मगर हुन सक्छन। वनेम फागो वंशावलीमा साङबोत्रे(सङबोत राय),जयकर्ण राय,श्रीदेउ राय,कंस राय(कांशो राय),गंगा राय,मन्जित राय को नाम पनि भेटिन्छ। काङशोरे अरु थरीका लिम्बू हुन सक्ने सम्भावित तर्कलाई पाण्डुलिपिमा सिन्जाली र फागु (फागो) जुठो बार्ने दाजुभाई पाइएको र वनेम वंशावलीमा कंश राय लेखिएको प्रमाणहरूले नकार्छ। फागो वनेम कुलकै अरु लिम्बू शासकहरू जयकर्ण र श्रीदेउ राय वि.सं १८३९ देखि १८४८ सम्मका गोर्खालीले लिम्बूलाई दिएका कागजहरूमा पाइएका छन। मैले आफ्नो लिम्बू जातिको मुन्धुमको अनुसन्धानमा भेटे जतिका लिम्बूका बुढेउलीका कुरा र वंशावलीमा प्रकाशन हेर्दा काङशोरेका सहयोद्धाहरू सिवा र फाक्ते ताप्लेजुङ साँबाका साँबा थरीका लिम्बू देखिन आउँछन। पाण्डुलिपिमा लिम्बुनीहरूले पनि गोर्खासंग लडेको पनि चर्चा छ। इतिहासमा आङभाङ र मेन्याङबो का फुपु उतिबेलाका याङरुपका राजा मुदाहाङका चेली थाङसामा र सिक्किमका राजासंग विवाह गरेकी योङहाङ राजा हिल्लिहाङ की चेली थुङवामु्कमाहरूको इतिहास पनि खोतल्नु जरुरी छ। त्यस्तै नेपाल र भोटको लडाइँमा नेपालका तर्फबाट मृत्यु भएका मैतसिङ इङनाम पापोको पनि खोजि गर्न जरुरी छ।

    सन्दर्भ सामग्रीहरूः
    अवार्डदेस एस.एम.गारिट एच.सि.ओ.।
    सन् १९६२,मुगल रुल इन इण्डिया,एस चन्द र अक्सफोर्ड युनिभर्सिटी प्रेस,बम्बई।
    चेम्जोङ,इमानसिं।
    सन् १९८२ (पहिलो संस्करण सन् १९६५),किरात मुन्धुम खाहुन,अखिल भारतीय किरात चुम्लुङ सभा,एशोसियसन दार्जिलिङ सभा।
    नरहरिनाथ,योगी।
    वि.सं. २०२२,इतिहास प्रकाशमा सन्धीपत्र संग्रह भाग–१,रोयल एकेडिमि,श्री ५ को सरकार शिक्षा विभाग,पुरातत्व विभाग,जगदम्बा फण्ड,मदन पुरस्कार गुठी,त्रि.वि.वि. ऐतिहासिक विभाग,जिमिदार हरिहर गौतम।
    माबुहाङ,अर्जुनबाबु।
    वि.सं.२०६३,लिम्बुवान,लालबहादुर लुम्फुङवा,चित्रकला खेवाङ र जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्च नेपाल काठमाण्डौं।
    हज्शन,ब्रायन हुग्टन।
    वि.सं २००३,हज्शन पाण्डुलिपि(यो पाण्डुलिपि हर्कजङ कुरुम्बाङ,गम्भिरध्वज सम्बाहाङफे,कैलासमान बोख्खिम,राजु यावदेम्बा नेम्बाङ,पदम चोङबाङ,भिम तावा,देउमान लावती र भक्तिहाङ नेम्बाङज्यूहरूले ब्रिटिश स्थित इण्डियन लाइब्रेरीबाट नेपालमा उपलब्ध गराउनु भएको हो।)
    हामिल्टन,फ्रान्सिस बुकानन्।
    सन् १९९० (पहिलो संस्करण,१८१९),एण्ड एकाउण्ट अफ किङडम अफ नेपाल,दिल्ली।
    रिस्ले,एच.एच.।
    सन् १९७२ (पहिलो संस्करण,१८९४),दि गजेट्टर आफ सिक्किम,मञ्जुश्री पल्लिशिङ हाउस न्यु देल्लि।
    वि.सं २०६९ आश्विन २० गते तद अनुसार ६ अक्टोबर २०१२ का दिन विश्व याक्थुङ मुन्धुम समाज र लिम्बू विद्यार्थि मञ्च सु्नसरी धरानले आयोजना गरेको कार्यक्रममा अर्जुनबाबु माबुहाङद्दारा प्रस्तुत कार्यपत्र।

  • nepali thito

    baahun haru ke jaanne palteko holaan !dhungel baahun laaii ke limbu bhaashaa aauchha ??yasari arkaako ithaas ra dharma sanskritimaathi ajhaaii jaanne patiyeraa dhaawaa naboldaa bes holaa , limbu ko marma jatii libule bujhaa tyati limbuko snagai rai le samet bujhdaina bhane yo bhaaratiya hindu baad ko shoshak baahun haurle ke bujchaan tesaile baru baahunko dharma sankriti tira bhajan gaaera basdaa bes holaa haruko bhaagmaa haat haalna nakhojau jun baahunko puraano charitra ho , yesmaa bhalo hunechha bado jaanne paltine !

  • vishal

    dhungel lai dhungale hanna parla jasto cha…arkako itihas ko barema vram ra anuchit lekh lekheko dekhda…kina yi katha haru hami limbu matra hoina janajatiko barema yettii naramraa lekh haru lekhchan….?????? des nikala garna parcha yo dhungel lai….

  • Mahesh kumar wanem

    रमेश ढुङेल ले आफ्नो डाक्टर को उपाधी फाले हुन्छ। उहाँको लेख लाई अध्यन गर्दा रमेश ढुङेल डाक्टर तथा विद्वान हो जस्तो लाग्दैन। उहाँको डाक्टर उपाधी साँच्चै पाएको हो की बिहार बाट किनेर लिएको हो;यस मा शंका छ। अती नै कम्जोर बौधिकताको लेखहरू लेखेर समाजमा दुसित वातावरण स्रिजना गर्ने रमेश ढुङेल को मानसिक सन्तुलन
    ठीक नभएको जस्तो बुझिन्छ; कतै राँची तिरै पो लानु पर्ने हो कि? मानसिक सन्तुलन ठीक नै भएको हो भने उहाँको डाक्टर को उपाधी र गधाले पाएको तक्मा मा केही फरक छैन। ढुङेल जी विद्वान भएर आफ्नै मान र सम्मान को दायरा भित्र वस्न सिक्नुहोस्। तपाईं जस्ता ईतिहासकार हरू नेपालमा धेरै छन्;आफ्नो बौधिकताको रवाफ
    नदिए हुन्छ। ढुङेल जी ले आफ्नो मात्र होईन डाक्टर उपाधी पाएका सम्पुर्ण बिद्द्वान बर्गको प्रतिस्ठामा दाग लगाएको छ।लिम्बु जाति सम्बन्धी यस्ता पुर्बाग्रही लेखहरू लेखेर सङ्घिय तथा लिम्बुवान आन्दोलन माथी गर्न खोजेको तपाईंको अदम्य साहस केवल दुस्साहस मात्र हुनेछ। हिमाल खबर पत्रिका ले रमेश ढुङेल जस्ता कठ पुतली लेखक ले लेखेका सामाजिक सामन्जस्यतामा वित्रिस्णा पैदा गर्ने लेखहरू प्रकाशन गरेर पत्रकारिताको स्वतन्त्रता लाई दुरपयोग गरेको देखिन्छ। हिमाल खबर पत्रिका ले अझै पनि यस्तो लेखहरू प्रकाशन गर्दै लगेमा एकदिन यो
    पत्रिका ले आफ्ना सम्पुर्ण ग्राहक हरू लाई गुमाउनु पर्ने अवस्था आउने छ।