जगदम्बा-श्री र मदन पुरस्कार घोषणा
मदन पुरस्कार गुठीले जगदम्बा-श्री पुरस्कार संशोधन मण्डल र मदन पुरस्कार अमर न्यौपानेलाई दिने भएको छ । दुबै पुरस्कारको राशी रु. दुई/दुई लाख छ ।
गुठीको १ असोजमा बसेको साधारण सभाले पुरस्कार घोषणा गरेको हो । न्यौपानेलाई सेतो धरती नामक कृतिका लागि पुरस्कृत गरिएको गुठीद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ ।
यसैगरी गुठीका गजेन्द्र रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “छ दशक भन्दा बढी समयदेखि नेपाली इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरूकुलीय सङ्गठित र संस्थागत प्रयासबाट प्रामाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथार प्रचारका लागि ‘पूर्णिमा’ पत्रिकाको निरन्तर प्रकाशन गरेर नेपाली वाङ्मयको सेवा र श्रीवृद्धिमा निरन्तर रूपले उल्लेखनीय योगदान गरिरहे बापत् जगदम्बा-श्री पुरस्कार ‘संशोधन मण्डल’लाई दिने निर्णय गरियो।’
२०१२ मा रानी जगदम्बाले मदन पुरस्कार स्थापना गरेका हुन भने २०४५ मा उनको निधनपछि गुठीले रानीकै नाममा ‘जगदम्बा-श्री’ पुरस्कार स्थापना गरेको थियो ।









