एमाओवादी एकल जातीय पहिचानको विपक्षमा
एनेकपा माओवादीले पार्टी बहुजातीय प्रदेशकै पक्षमा रहेको स्पष्ट पारेको छ । पार्टी कार्यालय कोटेश्वरमा २३ भदौमा पत्रकार सम्मेलन गरेर एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरु बहुजातीय प्रदेशकै पक्षमा रहेको बताएका हुन् ।
आफ्नो प्रस्तावलाई अतिरिाजन गरेर एकल जातीय प्रदेशको रुपमा प्रचार गरिएको प्रवक्ता सापकोटाले ले जिकीर गरे । एकल जातीय पहिचान नभई जातीय पहिचानसमेत झल्कने बहुजातीय प्रदेश हुनुपर्ने पक्षमा माओवादी रहेको उनले उल्लेख गरे ।
कांग्रेस र एमालेभित्रका केही यथास्थितिवादी नेताले माओवादीको प्रस्तावलाई बंङ्ग्याएको माओवादीको आरोप छ । माओवादीले पछिल्लो समय दलहरुबीचको वार्तालाई कांग्रेसले बेवास्ता गरेको गुनासो समेत गरेको छ । वार्ता छल्दै कांग्रेस नेताहरु जिल्ला दौडाहामा हिँड्नुले सहमतिप्रति कांग्रेस उदासिन रहेको आशंका बढेको प्रवक्ता सापकोटाले बताए ।
माओवादीबाट छुट्टिएर गएका मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग पनि संस्थापन पक्षले सद्भाव राखेर जाने उनले जानकारी दिए । माओवादी अध्यक्ष मोहन वैद्यले भने आजै एक कार्यक्रममा एमाओवादीसँग कुनै हालतमा एकता नहुने बताएका छन् ।









