सर्वोच्चको निर्णय बद्नियतपूर्ण भएको आरोप
नेपाली कांग्रेसले पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्च अदालतको निर्णय बद्नियतपूर्ण भएको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय कार्य समितिले सर्वोच्चको फैसलालाई बद्नियतपूर्ण र एकतर्फी भएको ठहर गरेको हो ।
फैसलाप्रति आपत्ति जनाउँदै कांग्रेसले न्यायिक पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिन सहयोग गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शंकर भण्डारीले जानकारी दिए । सर्वोच्चको फैसला पुनरावलोकनका लागि निवदेन दिन महामन्त्री कृष्णप्रसाद सिटौलाले गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको भण्डारीले बताए ।
भ्रष्टाचारी ठहरिएका खड्का निर्दोष रहेको भन्दै खड्काका समर्थकले सर्वोच्चको फैसला आएदेखि नै निर्णयको प्रतिवाद गर्न दबाब दिँदै आएका छन् । ३१ साउनमा उनीहरुले कांग्रेस पार्टी कार्यालयमा सर्वोच्च अदालत विरोधी नारा लगाउनुकासाथै नेतृत्वलाई फैसला प्रति आपत्ति जनाउन दबाब दिएका थिए।









