ओलम्पिकमा फुटबलको स्वर्ण मेक्सीकोलाई
लण्डनमा जारी गृष्मकालीन ओलम्पिकमा फुटबल अन्तर्गतको स्वर्ण पदक मेक्सीकोले हात पारेको छ । २७ साउनमा ब्राजीललाई २-१ गोलले पराजित गर्दै उपाधिमाथि मेक्सीकोले कब्जा जमाएको हो ।
शनिबार , २७ साउन २०६९ १०:४२ पम
खेल शुरु भएको एक मिनेट पनि पुरा नहुँदै ओरीब पराल्टाको गोल मद्दतले अग्रता लिएको मेक्सीकोले ब्राजीललाई खेलमा फर्कने अवसरै दिएन । ७५ औं मिनेटमा २८ वर्षीय स्ट्राइकर ओरीबको प्रहारले जाली चुमेपछि गोल अन्तर दोब्बर भयो । ३२ औं मिनेटमा मैदान प्रवेश गरेका जिभानिल्डो हल्कले ९१ औं मिनेटमा ब्राजीलका लागि सान्त्वना गोल गरे ।
सेमीफाइनलमा मेक्सीकोले जापान र ब्राजीलले कोरियालाई हराएको थियो । २६ साउनमा तेस्रो स्थानका लागि भएको खेलमा कोरियाले जापानलाई पराजित गरेको थियो ।









