नेपाल दिदी र भारत बहिनी होः भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले दक्षिण एसियाली मुलुकभन्दा अगाडि नै नेपाल स्वतन्त्र राष्ट्रकारुपमा स्थापित भइसकेकाले भारतले जहिलेपनि नेपालको स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् ।

नेपाल-भारत मैत्री सङ्घको दुईदिने राष्ट्रिय भेलाको २४ साउनमा समापन गर्दै उनले नेपालको स्वतन्त्रता दक्षिण एसियामै अद्वितीय रहेको र त्यसबाट दक्षिण एसियाका अन्य मुलुकले पनि पाठ सिक्दै अगाडि बढ्नुपर्ने टिप्पणी गरे । भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुलेसमेत आफ्नो एउटा पुस्तकमा नेपालको स्वतन्त्रता दक्षिण एसियाली मुलुकहरुभन्दा अगाडि नै स्थापित भइसकेको उल्लेख गरेको प्रसङ्गअघि सार्दै प्रसादले भारत ठूलो राष्ट्र भएपनि स्वतन्त्रताको हिसाबले नेपाल दिदी र भारत बहिनी भएको बताए ।

कार्यक्रममा भारतीय राजदुत प्रसादले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धलाई आगामी दिनमा विस्तार गर्दै शिक्षा स्वास्थ्य भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारत सहयोग गर्न तयार रहेको बताए । नेपालको राजनीतिक भविष्य नेपाली जनताकै हातमा रहेको र भावी दिनमा पनि भारतको कुनै हस्तक्षेप नहुने बताउँदै उनले भने, ‘नेपालको शान्ति प्रकि्रया र संविधानमा बाँकी रहेका असहमतिलाई टुङ्गोमा पुर् याउन नेपालकै राजनीतिक नेतृत्व अग्रसर हुनुपर्छ त्यसबाट मात्र नेपालको विकास अगाडि बढ्नसक्छ ।’

सङ्घका अध्यक्ष ओमप्रकाश सरावगीले नेपालको शिक्षा स्वास्थ्य भौतिक पूर्वाधार जलविद्युत्जस्ता क्षेत्रमा भारतको अतुलनीय सहयोग रहेको र यस्ता सहयोगबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे । कार्यक्रममा डा. लोकराज बरालले ‘नेपाल-भारत सम्बन्धमा नौलो आयाम’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल र भारतबीचको सम्बन्ध पुरानो भएपनि अब त्यसलाई सुधार गर्दै लैजानुपर्ने र भावी दिनमा पनि सम्बन्ध कसरी प्रगाढ बनाउन सकिन्छ भन्नेमा दुई मुलुकबीच व्यापक छलफल र सहकार्यको आवश्यकता रहेको औँल्याए । रासस

  • Krishna_bahadur

    Natak nagar chor