स्कूल बसमा आगजनी: माओवादी हिंसा गमन

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले धरानमा विद्यार्थी चढेको बसमा आगजनी गरेर १० वर्षघि चितवनमा काजोल खातुनलाई जिउँदै जलाएको बर्बर घटना पुनरावृत्ति गर्न खोजेको छ ।

८ साउन बिहान साढे सात बजे धरान-८ सेउतीखोला नजिक चारकोसे झाडीमा एकहूल युवाले को१ख ३२०४ नम्बरको बस रोके । चालक रेशमलाल उरावले बस राम्रोसँग रोक्न नभ्याउँदै गाडीमा पेट्रोल खन्याए । सुनसान जंगलमा अचानक आगजनी गरिएको त्यो बसमा नर्सरीदेखि १२ कक्षा पढ्ने निर्दोष विद्यार्थी चढेका थिए । बस घेरेर आगो लगाउन थालेपछि उनीहरू आत्तिएर रुन-कराउन थाले । विद्यार्थीमाथि हातपात भयो । उनीहरूले चारकोसे झाडीमा भागेर ज्यान जोगाए । उनीहरूका कापी, कलम, किताब, टिफिनसहितका झोला जलेर नष्ट भए ।

इटहरीबाट विद्यार्थी लिएर धरान गइरहेको दिल्ली पब्लिक स्कूलको त्यो बसमा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताले आगजनी गरेका थिए । त्यही दिन उनीहरूले दिल्ली पब्लिक स्कूलकै विद्यार्थी चढेका अरू दुई बसमा पनि ढुङ्गामुढा गरेर सिसा झर्‍यामझुरुम पारे ।

यसअघि १ साउन बिहान वैद्यपक्षीय क्रान्तिकारी विद्यार्थीले नै ललितपुरस्थित रातो बङ्गला स्कूलको विद्यार्थी बोक्न हिंडेको बा१प ५१६५ नम्बरको बसमा आगो लगाएका थिए । चालक कुलबहादुर पूर्वछानेका अनुसार विद्यार्थी बोक्न स्कूलबाट पाटनतिर जान लागेको बेला उनीहरूले सिसीमा ल्याएको पेट्रोल र्छर्केर आगजनी गरेका हुन् । सोही दिन उक्त समूहले काठमाडौं शान्तिनगरस्थित एभरेष्ट फ्लोरिडा कलेज र बसुन्धराको साउथवेर्स्र्टन स्टेट कलेजमा पनि तोडफोड गर्‍यो ।

यस्तै, ९ साउनमा रुपन्देहीका दुई उच्चमावि पनि क्रान्तिकारी विद्यार्थीको निशानामा परे । त्यस दिन उनीहरूले बुटवलको एम्स कलेजमा आक्रमण गर्नुका साथै लु१ख ६९५६ नम्बरको विद्यार्थी बोक्ने बस तोडफोड र भैरहवाको र्साई ग्लोबल कलेजमा आक्रमण गरेका थिए ।

अभिभावकमाथिको आक्रमण
धरान आगजनीबारे थाहा पाएपछि कक्षा १ मा पढ्ने छोरो खोज्न सेउतीखोला पुगेका कृष्णप्रसाद दुलाल घटना यसरी सम्झन्छन्, “छोरो चढेको बसमा आगजनी भएको सुन्दा एकदम डर लाग्यो, मुखबाट बोली नै फुटेन । घटनास्थलमा बच्चाहरू रुँदै कराउँदै थिए । शुरूमा आफ्नै छोरालाई खोजें । धन्न कसैलाई केही भएको रहेनछ ।” पाँच कक्षामा पढ्ने छोरी चढेको बसमा आगजनी भएको सुन्ने बित्तिकै घटनास्थल पुगेका संजीव खड्का यसलाई निकृष्ट र निन्दनीय अपराध ठान्छन् । उनले भने, “त्यस दिनपछि मेरी छोरी स्कूल जानै मन गर्दिनँ । बसमा आगजनी र तोडफोडले मात्र नपुगेर साना विद्यार्थीमाथि हातपात समेत गर्नु मानवीय संवेदनहीनताको पराकाष्ठा हो ।” स्कूल पढ्न गएकी छोरी मुस्किलले फर्केपछि मणिराम श्रेष्ठ प्रश्न गर्छन्, “विद्यार्थीमाथि हातपात भएको छ, बच्चाको सुरक्षा छैन । यस्तो अवस्थामा छोराछोरीलाई कसरी पढ्न पठाउने ?”


बसमा आगजनी र विद्यालय-कलेजमा तोडफोड गर्दा आफैंले आर्जन गरेको पैसाबाट आफूले चाहेको शिक्षण संस्थामा छोराछारी पढाउन पाउने मौलिक अधिकार खोसिएको ठान्छन् काठमाडौंका अभिभावक मीनबहादुर शाही । शैक्षिक संस्थामाथिको आक्रमणलाई अभिभावकमाथिको हमला ठान्ने शाही, आक्रमण नरोकिए अभिभावकहरू नै प्रतिकारमा उत्रनुपर्ने अवस्था आउन सक्ने बताउँछन् ।

माओवादी द्वन्द्वकालमा तुलनात्मक रूपले सुरक्षित मानिएका राजधानीकै विद्यालय र कलेजमा छोराछारी पढाइरहेका अभिभावक स्कूल बसमा आगजनी र कलेज तोडफोडका यी घटनापछि आफ्ना सन्तानको सुरक्षालाई लिएर चिन्तित हुनथालेका छन् । छोराछोरीलाई विदेश पढ्न पठाउने सोचमा रहेका ललितपुरका खेमराज श्रेष्ठ भन्छन्, “सुरक्षाको लागि कि पढ्न पठाउनै भएन कि विदेश लानुपर्ने अवस्था आयो ।” अर्का अभिभावक उषा पाण्डेको बुझाइमा जसले जुन उद्देश्यका लागि गरे पनि बच्चा र बच्चासँग सम्बन्धित भौतिक संरचनामा हमला गर्नु ठूलो अपराध हो । उनी भन्छिन्, “मलाई राजनीति थाहा छैन, तर कसैले कुनै बहानामा बच्चालाई छुन पनि पाउनुहुन्न ।”

भएन कारबाही
१० फागुन २०५८ मा नेकपा -माओवादी) ले चितवनको भण्डारामा सात वर्षीया काजोल खातुनसहित पाँच जनाको ज्यान लिने गरी गरेको आतंककारी हमला भन्दा फरक थिएन धरानमा विद्यार्थी चढेको बस आगजनी । फरक यत्ति थियो, त्यतिबेला नेकपा-माओवादीलाई सरकारले ‘आतंककारी’ घोषणा गरेको थियो भने अहिले एनेकपा-माओवादी फुटेर बनेको नेकपा-माओवादीका विद्यार्थी कार्यकर्ता हमलापछि पनि खुल्लमखुल्ला घुमिरहेका छन् ।

केन्द्रीय नीतिअनुरुप आक्रमण गरेको स्वीकार गरेका अखिल क्रान्तिकारी कोचिला राज्य संयोजक प्रहृलाद राउतलाई इलाका प्रहरी कार्यालय धरानले सामान्य सोधपुछ गरेर छोड्यो । सञ्चारमाध्यम र प्रहरीको बयानमा समेत घटना गराएको स्वीकारेका राउतलाई प्रहरीले ‘सोधपुछ गर्न मात्रै बोलाएको’ भनेर कारबाही गर्न आवश्यक ठानेन । यता राजधानीका तीन विद्यालय आक्रमणमा संलग्न भनी पक्राउ परेका चार जनालाई पनि प्रहरीले त्यसै छाडिदिएको थियो । जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी बसन्त पन्तले हिमाल सँग तोडफोड र आगजनीमा संलग्न अपराधीको व्यापक खोजी भइरहेको बताउँदा अखिल क्रान्तिकारीका संयोजक शरद रसाइली सञ्चारमाध्यमहरूमा घटना आफूहरूले गराएको अन्तर्वार्ता दिइरहेका थिए ।

विद्यालयमा आक्रमण भएपछि रातो बंगला स्कूलका अभिभावकहरूले ललितपुर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालय, शिक्षा सचिव र राष्ट्रपतिसम्मलाई ज्ञापनपत्र बुझाएका छन् । १२ साउनमा राष्ट्रपति डा. रामवरण यादवले आफैं प्रधानमन्त्री बाबुराम भट्टर्राई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारलाई फोन गरेर विद्यार्थीलाई आतंकित पार्ने र विद्यालयको भौतिक सम्पत्ति क्षति पुर्‍याउनेलाई कारबाही गर्न आग्रह गरेका थिए । अहिलेसम्म दोषीमाथि कुनै कारबाही भएको छैन ।

दबाब कसलाई ?
नेकपा-माओवादीको विद्यार्थी विभाग इन्चार्ज लेखनाथ न्यौपाने शिक्षा क्षेत्रलाई औद्योगिक प्रतिष्ठानका रूपमा विकसित गर्दै लगेको, उमाविलाई कलेज भनेर भ्रम छरिएको, शुल्क बढी लिने गरेको, विदेश जान प्रेरित गर्ने शिक्षा दिएको, विदेशमा चर्चित शहर र संस्थाको नाममा कलेजहरूको नामकरण गरिएकोले दबाब सिर्जना गर्ने कार्यक्रमअर्न्तर्गत यी आक्रमणहरू गरेको बताउँछन् । पर्ूव विद्यार्थी नेता न्यौपानेले प्रस्तुत गरेका सबै मागप्रति पनि सरकार जिम्मेवार हुनुपर्ने देखिन्छ । सरकारबाटै अनुमति लिएर सञ्चालन भएका विद्यालय र कलेजहरूलाई अनुगमन गर्ने र कानूनी दायरामा ल्याउने काम सरकारको भएको उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ बताउँछन् । अध्यक्ष श्रेष्ठ पढाइको गुणस्तरको साँच्चिकै चिन्ता भए विद्यार्थी सङ्गठनहरूलाई सरकारी विद्यालयको अवस्था सुधार्न सुझाव दिन्छन् ।

१ साउन बिहान उज्यालो हुँदा-नहुँदै आक्रमणमा परेको एभरेष्ट फ्लोरिडा कलेजका प्रिन्सिपल मनोजकुमार झा आफ्नो कलेजको नाम स्वदेशी भएको बताउँछन् । उनले भने, “एभरेष्ट फ्लोरिडाको अर्थ सगरमाथामा फूलैफूलको बगैंचा भन्ने लाग्छ ।” एक विद्यालय सञ्चालकको भनाइमा उनीहरूले चन्दा नपाएपछि विद्यालयलाई आक्रमणको तारो बनाएका हुन् । हुन पनि माओवादीका विद्यार्थीले आक्रमण गरेका विद्यालयको नाम सबै विदेशी छैनन् । राजनीतिक विश्लेषकहरूको बुझाइमा २०५२ मा हिंसात्मक राजनीति शुरू गरेर चर्चित बनेको अनुभव बोकेका माओवादीले आतंक फैलाएर ‘पार्टीलाई स्थापित गराउने र आर्थिक संकलन अभियान तीव्र पार्ने’ उद्देश्यले हिंसात्मक गतिविधिको पुनरावृत्ति गरेका हुन् ।

तोडफोड र आगजनीमा संलग्न अनेरास्ववियु क्रान्तिकारीका संयोजक शरद रसाइली घट्ना आफूहरुले गराएको स्वीकार्छन् । स-साना नानीहरु जिउँदै जल्न सक्ने गरी किन घट्ना घटाउनु भएको प्रश्नमा उनि भन्छन्, “अहिले सांकेतिक कारबाहीको चरणमा भएकाले सकेसम्म कम क्षति होस् भन्नेतर्फसचेत छौं । तर हाम्रो माग पूरा भएन भने योभन्दा कडा कारबाही गर्र्छौं ।”

एक विद्यालयका संचालकले नाम उल्लेख नगर्ने शर्तमा हिमाल सँग भने, “विडम्बना के छ भने आक्रमणकारी हामी नै हौं, योभन्दा कडा कारबाही गर्र्छौं भन्दा पनि सरकारले कानूनी कारबाही गर्नुको सट्टा मौन र्समर्थन गरेको छ ।” हिसानका अध्यक्ष श्रेष्ठ भन्छन्, “सरकारसँगको माग पूरा गराउन विद्यार्थी बोक्ने बस जलाउने कुरा कसरी जायज भयो ?”

साथमा सोहन श्रेष्ठ, धरान
विद्यालय तोडफोड र विद्यार्थी बोक्ने बस आगजनीको विषयमा को के भन्छन् ?

“सरकारसँगको माग पूरा गराउन विद्यार्थी बोक्ने बस जलाउने कुरा कसरी जायज भयो ?”
-उमेश श्रेष्ठ, अध्यक्ष हिसान

“अबोध बालकहरू भएको गाडीमा आगो लगाउनुलाई आतंकवाद नभनेर के भन्ने ?”

-खेमराज श्रेष्ठ, अभिभावक

“पढ्ने किताब पनि निकाल्न दिएनन् ।”
-सोनमसुधा झा, विद्यार्थी इटहरी

“आगो लगाएको बसमा परेदेखि मेरी छोरी स्कूल जानै मन गर्दिनँ ।”
-संजीव खड्का, अभिभावक

“सम्पूर्ण विद्यार्थीको हितका लागि गरिएको नीतिगत कारबाही हो ।”
-लेखनाथ न्यौपाने, इन्चार्ज विद्यार्थी विभाग, नेकपा-माओवादी

“छोराछोरीको सुरक्षित पढाइका लागि प्रतिकारमै उत्रनु पर्ला जस्तो भइसक्यो ।”
-मीनबहादुर शाही, अभिभावक

“नानीहरूलाई स्वतन्त्र र सुरक्षित भएर पढ्ने वातावरणबाट बन्चित गराउने अधिकार कसैलाई छैन । ”
-अनुपल सागर, प्रिन्सिपल, दिल्ली पब्लिक स्कूल

“पढ्न पठाएको छोरीको ज्यान जान सक्ने अवस्था थियो । अब कसरी स्कूल पठाउने ?”
-मणिराम श्रेष्ठ, अभिभावक

  • Patriot

    god, let these terrorists rot in hell. the fear and pain on the face of the smallest child in the picture above is enough to show how much damage maoist political extremism has caused in this country. where is common sense? why are these people so inhumane? good people will have to stand up and do something to stop this madness from spreading any further. 

  • who cares

    does any body know what law says about the following:

    what if i kill those terrorists, on the spot, who try to burn my children alive like in the above terror?

    will law jail me?

    what about the society and the army? will they support me and protect me aftermath? 

  • Mr.Resque Nation man

    need to find out those people who involve in this case than put them in bus and fire out for them what they will feel as a human being

  • himali

    Terrorists are rulling our Nation ! god save Nepal !