अखिलेश र हाम्रा युवा नेता

नेपालका युवा नेताहरू पनि आफू युवा भएकै कारण नेतृत्व चाहिने दाबी गर्छन्, सपना देख्ने र त्यसलाई जनतासम्म पुरयाउने हिम्मत गर्दैनन् । सीमा नजिकै भइराखेका परिवर्तनहरूबाट न बुढाहरूले पाठ सिकेका छन्, न त युवाले नै ।

भारतीय राज्य उत्तरप्रदेशमा मुख्यमन्त्री अखिलेश यादव

नेपालसँग जोडिएको भारतीय राज्य उत्तरप्रदेशमा अखिलेश यादवको उदयलाई हाम्रो सन्दर्भमा जोडेर हेरौं । ३९ वर्षीय अखिलेश २० करोडभन्दा बढी जनसंख्या भएको भारतीय प्रदेशका मुख्यमन्त्री भएका छन् । समाजवादी पार्टीका अध्यक्ष रहेका पिता मुलायमसिंह यादवले उत्तरप्रदेशको बदलिंदो मनोविज्ञान र जनअपेक्षालाई दृष्टिगत गरेरै युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेका हुन् । शिक्षाले इन्जिनियर अखिलेशले पार्टीलाई जनतासँग जोडेर आशाको सञ्चार गराए । केही महीनाअघिको निर्वाचनमा नयाँ पुस्ता र प्रविधिको कुरा गर्दै साइकलबाट गाउँ–गाउँ घुमेर अधिकतम मत लिए ।

मुलायम सिंहले आफ्नो दलको जीर्ण हँुदै गएको कलपुर्जालाई चलायमान बनाएका छन् । अखिलेशले छोटो समयमै लोकमनोविज्ञानलाई व्यवस्थापन गरेर पार्टी र स्वयम्लाई स्थापित गराएका छन् । साउनको पहिलो शुक्रबार लखनऊस्थित सचिवालयमा नेपाली उद्यमी र मिडियाका प्रतिनिधिहरूसँग भेट्दा उनले आफ्नो मन्त्रिमण्डलका पाका सहयोगी बलराम यादव र आफ्नै पुस्ताका अभिषेक मिश्रलाई दुईतिर राखेका थिए । उनी पाको पुस्ताको सुझ्बुझ् र नयाँ पुस्ताको स्फुर्तीका साथ प्रस्तुत भए । उनले विकास तथा सीमावर्ती क्षेत्रका समस्याहरूबारे बडो मिहिन र व्यावहारिक व्याख्या गरे । तल्लो तहमा राम्रो जनसम्पर्क नभएको भए निश्चय नै उनका भनाइहरू सतही या सैद्धान्तिक मात्र हुनेथिए । धार्मिक र जातीय राजनीतिले थिलथिलो पारेको उत्तरप्रदेशमा अखिलेशले विहारका मुख्यमन्त्री नितिशकुमारको सिको गरेका छन् । उनले आफ्नो कामको प्राथमिकता तोकेका छन् । उनको तदारुकताले छोटै समयमा परिणामहरू देखाउन थालेको छ ।
नेपाली राजनीति उत्तरप्रदेशको भन्दा नितान्त फरक छ । मिडियामुखी नेपाली युवा राजनीतिज्ञहरू काठमाडौंकेन्द्रित छन् । गणेश परिक्रमा गरेर वरदान पाउने लालसा बोकेका उनीहरूले फरक पहिचान बनाउन सकिरहेका छैनन् । दलभित्रका गुटहरूको गोलचक्करमा परेका युवा नेताहरू साँपसिंढीको खेलबाट जोगिन छहारी चाहिन्छ भन्ने हीन मनोविज्ञानबाट ग्रसित छन् । त्यसैले, युवा नेतृत्व मुखर रूपमा अगाडि आउनुपर्छ भन्ने जनअपेक्षा बुझ्ेर पनि उनीहरू त्यस अनुरुप प्रस्तुत हुनसकेका छैनन् । नेपाली राजनीतिमा युवा पुस्ताको प्रभावकारिता नदेखिएको भने होइन । यहाँ पनि आशलाग्दा युवा नेतृत्वको एउटा पंक्ति छ । उनीहरूले नेतृत्वको लक्षित कार्यभार लिन नसकेको र अदूरदर्शी बुढा पुस्ताले उनीहरूलाई जिम्मेवारी दिन कन्जुस्याईं गरिराखेको मात्र हो ।
गिरोहहरूबाट घेरिएको पुरानो पुस्ताले पछिल्ला वर्षहरूमा व्यापक बनेको नेपाली मनोविज्ञानलाई ठम्याउन सकिरहेको छैन । त्यसले दलीय नेतृत्वको क्षमता र आम नेपालीको आकांक्षाबीचको दूरीलाई बढाउँदै लगेको छ । यो समस्या सबै दलमा छ । शीर्ष नेतृत्वहरू भने परिस्थितिको आकलन गरेर निर्णयका लागि तयार हुनेभन्दा आफ्नो वैयक्तिक वर्चस्वलाई टिकाउने चिन्तामा छन् । उनीहरू युवा पंक्तिको सामथ्र्यप्रति जानाजान आँखा चिम्लिरहेका छन् । वर्षौंअघि जनस्तरमा घुलमिल हुँदा पाएको ज्ञानकै आधारमा आफूलाई युवा नेतृत्वभन्दा बढी समाज बुझ्ेको दाबी गर्छन्; उही विचार, भाषण र शैली दोहोरयाइरहन्छन् । हाम्रा युवा नेताहरू भने दाताहरूका महँगा कार्यशाला, विदेश भ्रमण र विशेष आग्रह भएको प्रशिक्षण वा जिल्लामा मात्र जाने गरेका देखिन्छन् । यसबाट जनतासँग उनीहरूको सम्बन्ध टुटिरहेको छ ।
नेपालका युवा नेताहरू पनि आफू युवा भएकै कारण नेतृत्व चाहिने दाबी गर्छन्, सपना देख्ने र त्यसलाई जनतासम्म पुरयाउने हिम्मत गर्दैनन् । सीमा नजिकै भइराखेका परिवर्तनहरूबाट न बुढाहरूले पाठ सिकेका छन्, न त युवाले नै । नेपाली युवा राजनीतिज्ञहरूले अब अखिलेशको सफलतालाई हेरेर संक्रमणकालीन नेपाली समाजलाई थप विभाजित हुनबाट जोगाउने पहल अविलम्ब थाल्नुपर्छ । मार्गप्रशस्त गरिदिनु पुरानो नेतृत्वको बुद्धिमानी हुनेछ ।
  • http://www.facebook.com/ujwalt Ujwal Thapa

    राम्रो विश्लेषण ! धन्यवाद

  • Kobid

    Some questions on Akhilesh Yadav
    1. DId his dad’s position as party supremo aided him?

    He is capable, YES !
    His dad is more capable to capabilise him :P

  • http://manoz.wordpress.com/ Manoj Dhakal

    But that came thru his father. We do not have such father and son combination in Nepal. Do you think that it would have been possible for Mulayam Singh offer the throne to someone else than his son, however the son may be qualified

  • Dhirendra_rc

    From this article our youth leaders must be learn how they can overcome in the politics !

  • Goktey

    Khoi ahiley ka neta haro pani kunai bela yuva netaharo thiey jasto lagcha.