देशकै भोटको मुल्य एक लाख डलर !

एन्फा अध्यक्ष गणेश थापाले देशको नाम बेचेर फिफा अध्यक्षका उम्मेदवार रहेका एएफसी अध्यक्ष विन हमामबाट एक लाख डलर घुस लिएको खुल्दैछ । थापाले ‘व्यक्तिगत लेनदेन’ भने पनि एएफसीले २८ वर्षका गौरवसँग यत्रो कारोबार केका लागि गरयो ? हमामले व्यक्तिगत प्रयोजनका लागि गौरवलाई पठाएका हुन् भने कसरी एएफसीको अडिटमा परयो ? उक्त रकम केमा खर्च गरियो ? थापाले प्रष्ट पारेका छैनन् ।

१ जून २०११ मा भएको विश्व फूटबल महासंघ (फिफा) को चुनावमा अध्यक्ष पदका लागि भोट किनेको आरोपमा निलम्बित एशियाली फूटबल महासंघ (एएफसी) का अध्यक्ष मोहम्मद विन हमामबाट अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाका जेठा छोरा गौरवले एक लाख अमेरिकी डलर (वर्तमान परिवत्र्यदर अनुसार रु.९० लाख) लिएर देशकै इज्जतमा लगाएको धब्बा पखाल्ने कुनै उपक्रम भएको छैन । एएफसीको उपाध्यक्षका रूपमा हमामका प्रमुख सहयोगी रहेका थापाले छोराको मलेसियास्थित खातामा जम्मा भएको उक्त रकम ‘व्यक्तिगत लेनदेन’ भएको बताए पनि थप स्पष्ट पारेका छैनन् ।
६ साउनमा एसोसिएटेड प्रेस (एपी) ले सार्वजनिक गरेको एएफसीको अडिट रिपोर्टमा गौरवले लिएको उल्लेख भएको सो रकमलाई व्यक्तिगत लेनदेन मान्न सकिने स्थिति भने देखिंदैन । फिफा र एएफसीको लण्डनस्थित अडिटर फर्म प्राइस वाटरहाउस कुपर्सले २९ असारमा गरेको लेखापरीक्षण सम्बन्धी समाचारबाट गौरवले संस्थागत रूपमा एक लाख डलर बुझ्ेको पुष्टि भइसकेको छ । त्यसबेला एएफसीको खाताबाट बंगलादेश गएको ४५ हजार डलर भने बंगलादेश फूटबल संघकै खातामा जम्मा भएको र सो रकम फूटबल एकेडेमीका विद्यार्थीको ट्युसन तथा क्यान्सर पीडित एकेडेमीका महासचिवको उपचारमा खर्च भएको अडिट रिपोर्टमा उल्लेख छ ।
छोराको कुरा
एन्फा अध्यक्ष थापाले ‘व्यक्तिगत लेनदेन’ भने पनि एएफसीले २८ वर्षका गौरवसँग यत्रो कारोबार केका लागि गरयो ? हमामले व्यक्तिगत प्रयोजनका लागि गौरवलाई पठाएका हुन् भने कसरी एएफसीको अडिटमा परयो ? उक्त रकम केमा खर्च गरियो ? थापाले प्रष्ट पारेका छैनन् । आफ्नो ट्विटरमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै ट्विट गरिरहने गौरव पनि डलर प्रकरणको खुलासापछि मौन छन् ।
हाल लण्डन ओलम्पिकको खेलस्थल सेण्ट जेम्स पार्कमा भेन्यु मेनेजरका रूपमा कार्यरत गौरव १० वर्षअघि स्थापित एन्फा एकेडेमीको पहिलो ब्याचका प्रशिक्षार्थी खेलाडी हुन् । उनले फूटबल प्रशिक्षण लिंदै एन्फाकै खर्चमा एसएलसी गरे । जावलाखेल युथ क्लबबाट एक सिजन खेलेका गौरवलाई पाँच वर्षअघि हमामले एएफसीको मलेसिया कार्यालयमा नियुक्त गरे । नेपाललाई आएको कोटा या बाबुको व्यक्तिगत सम्बन्ध, जे कारणले यो नियुक्ति भए पनि एफएफसी अध्यक्ष र उपाध्यक्षबीच आर्थिक चलखेलको भित्री पाटो थियो भन्ने घटनाक्रमले बुझउँछ । फिफा चुनावमा वर्तमान अध्यक्ष जोसेफ सेप ब्लाटरको विपक्ष र हमामको पक्षमा दह्रोगरी उभिएका एन्फा अध्यक्ष थापा आर्थिक अनियमितताको आरोपमा हमाममाथि प्रतिबन्ध लाग्दा पनि उनकै समर्थनमा खुलेर लागेका थिए । शाही शासनकालमा आफ्ना दाजु कमल थापा गृहमन्त्री हुँदा एन्फा अध्यक्ष थापाले हमामलाई गोर्खा दक्षिणबाहु दिलाएका थिए ।
फिफा अध्यक्ष पदका उम्मेदवार हमामले एशियाली, अफ्रिकी र क्यारेबियन फूटबल अधिकारीहरूलाई व्यापक पैसा बाँडेको कुपर्सको अडिट रिपोर्टले छर्लङ्ग पारेको छ । हमामले त्यसबेला २४ क्यारेबियन देशका फूटबल अधिकारीलाई ४०–४० हजार डलरका दरले घुस बाँडेका थिए । एन्फा अध्यक्ष थापाले भने छोराको नाममा रकम बुझने चलाकी गरेको देखिन्छ । त्यसबेला हमामबाट २ लाख ५० हजार डलर बुझ्ेका फिफा उपाध्यक्ष ज्याक वार्नर कारबाहीमा परिसकेका छन् । रिपोर्टमा भनिएको छ, “हमामले विना कारण हजारौं डलर बाँडेको देखिन्छ ।”
गौरवले मलेशियामा एक लाख डलर लिए लगत्तैजसो ११ जनवरी २०११ मा दोहामा शुरू भएको एशियन कप हेर्न थापाकी श्रीमती र परिवारका अर्का एक सदस्यलाई हवाई टिकटका लागि हमामले ४३६६ डलर पनि पठाएका थिए ।

खोइ छानबिन ?: राखेप सदस्य सचिव युवराज लामाले ७ साउनमा एन्फा अध्यक्ष गणेश थापालाई सोधेको स्पष्टीकरण पत्र, जुन कार्यान्वयन नहुने भएको छ ।

देशकै बेइज्जत

न्यायपरिषद् सदस्य रहेका अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने एन्फा अध्यक्ष थापाले एक लाख डलरमा देशको भोट बेचेको हुनसक्ने बताउँछन् । न्यौपानेका अनुसार, एएफसीको संस्थागत खाताबाट पारिवारिक लेनदेन हुँदैन । त्यसकारण, थापा बाबुछोराले जे भएको हो त्यो प्रष्ट पार्नुपर्छ भन्ने उनको भनाइ छ । “राज्यले पनि थापालाई तुरुन्त निलम्बन गरेर छानबिन गर्नुपर्छ” कानूनविद् न्यौपाने भन्छन्, “निर्दोष भए सफाई र दोषी पाइए कारबाही गर्नुपर्छ ।”
बौद्ध फूटबल क्लबका अध्यक्ष अर्जुन लामा व्यक्तिगत स्वार्थले धेरै पटक देशको बदनामी भए पनि यसपटक कुरा बाहिर आएको बताउँछन् । एन्फाभित्र यस्ता कर्तुतहरू धेरै भइरहेको दाबीका साथ लामा भन्छन्, “देशको अन्तर्राष्ट्रिय बेइज्जत हँुदा पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् छानबिन गर्न सक्ने अवस्थामा छैनन्, यसको कारण कसैले बताइरहनुपर्दैन ।”
नभन्दै, थापालाई स्पष्टीकरण पत्र काटेका खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाको स्वर फेरिइसकेको छ । ७ साउनमा युवा तथा खेलकुद मन्त्रालय र एन्फा कार्यालयलाई बोधार्थसहित लेखिएको पत्रको प्रतिक्रियाबारे जानकारी माग्दा सदस्य–सचिव लामाले भने, “कानूनी परामर्श गर्दा छोरासँगको कुरा भएकाले पत्र लेखेर पनि पठाएनौं ।” हिमाल लाई प्राप्त उनको हस्ताक्षर भएको चलानी नम्बर ५३ को उक्त पत्रमा हमामबाट एक लाख डलर लिनुको प्रयोजन, विदेशी रकम लिंदा पूरा गर्नुपर्ने राज्यको कानूनी प्रक्रिया र एएफसीको लेखा परीक्षण प्रतिवेदनमा भएको विषय व्यक्तिगत हो भन्ने आधारहरूबारे सोधिएको छ (हे. पत्रको प्रतिलिपि) ।
सदस्य–सचिव लामाले एएफसीबाट विस्तृत विवरण आयो भने कारबाही अघि बढाउने, तर अहिले मिडियाको पछाडि नलाग्ने पनि बताए । परिषद्को पत्राचारपछि थापाले लामालाई भेटेर ‘कुरा मिलाएको’ र पछिल्लो समयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि हिमचिम बढाएको बताइन्छ । यसबाट थापामाथि छानबिन हुने सम्भावना कम हुँदै गएको फूटबल क्षेत्रका व्यक्तिहरू बताउँछन् । यो प्रकरणबारे जानकारी लिन एन्फा अध्यक्ष थापासँग गरिएको सम्पर्क प्रयासहरू सफल भएनन् । एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले ‘व्यक्तिगत कुरा’ भएकाले केही नबोल्ने बताए । थापासँग सम्पर्क गराइदिन आग्रह गर्दा उनले ‘कोशिश गर्नुस्, सम्पर्क हुन्छ’ भन्दै कुरा गर्न चाहेनन् ।
एक लाख डलर प्रकरणसँगै एन्फाभित्रको आर्थिक अपारदर्शिताका विषयमा प्रश्न उठ्न थालेको छ । एन्फाले फिफा असिस्टेण्ट प्रोग्राम (फप) अन्तर्गत हरेक साल दुई लाख ५० हजार डलर र एएफसीबाट वर्षेनि एक लाख ५० हजार डलर पाइरहेको छ । देशभित्र लिग फूटबल सञ्चालन, विदेशमा प्रतियोगिता हुँदा खेलाडी तयारी र अन्य विभिन्न खेल परियोजनाका लागि थप रकम र खेल सामग्री आउने गरेको छ । तर, एन्फासँग यस्ता रकमको कुनै हिसाबकिताब छैन । फिफाको वार्षिक दुई लाख ५० हजार डलरबाट २५ प्रतिशत महिला फूटबल विकासमा खर्च गर्नुपर्ने प्रावधानको पनि पालना भएको छैन । चार लाख डलरको गोल प्रोजेक्ट अन्तर्गत एन्फा एकेडेमी नेपालमा भर्खर पहिलो चरणको काम सकिंदैछ, जबकि अरू देशमा तेस्रो चरण सम्पन्न भइसकेको छ । एन्फा विल्डिङ बनाउँदा मोटो रकम हिनामिना गरेको समाचारहरू आउँदा कुनै कारबाही नभएपछि एन्फा अध्यक्ष थापा मैमत्त भएको फूटबल क्षेत्रका व्यक्तिहरू बताउँछन् ।
फिफा निर्वाचनमा भोट किनेको र एएफसीमा भ्रष्टाचार गरेको आरोपमा कारबाहीमा परेका हमाममाथि मुद्रा अपचलन, कर छली र संस्थाको पैसा आफूखुशी बाँडेकोमा मुद्दा
चलाउने तयारी भइरहेको बताइन्छ । देशको बेइज्जत हुने गरी भएको एक लाख डलर प्रकरणले हमामको मतियार देखाएका गणेश थापामाथि पनि आवश्यक छानबिन हुनुपर्ने नेपाली खेल क्षेत्रको आवाज छ ।
- हिमाल खबरपत्रिकाको १६-३२ साउन २०६९ अंकबाट
  • who cares

    whose job is it to punish these low lives- nepal or fifa???????????????

    • Ram

      This is so stupid. Why do we have to go to another source to get the fuller story? Why can’t we just read that fuller story right here right now? You guys just don’t understand the web. Sad, sad.

    • sulavtimsina

      its Nepal’s. But those who need to punish the corrupted are themselves more corrupted.

  • Shivathapa50

    अब यस(गणेश थापा)लाई पनि आजीवन फिफाको कुनै ओहोदामा बस्न नपाउने गरे निस्कासन गर्नु पर्छ । 

  • Yogamaya

    Afu ta Bhratacharko baadshah thindai thiyo, choralai pani bhrata huna sikaune kasto babu ho? thukaa!

    Yogamaya

  • Batuk_shrestha

    It’s a very shame for our country ? Ganesh Tahpa is a shameless man.Kick out him (Ganesh ) from ANFA.Thapa le resign dinu parchha.

  • santosh

    Expandअब यस(गणेश थापा)लाई पनि आजीवन फिफाको कुनै ओहोदामा बस्न नपाउने गरे निस्कासन गर्नु पर्छ

  • गोपाल

    कुन ्निकम्मा लाइ ल्याउने नि

  • Goktey

    Choor parivar ko manchey lai NFA ko adhyakcha banaye pachi chori nai ta garcha ni. Yo choorharo ko purai parivar lai nai Nepali khel jagat bata alik tada rakhe bes hola.

  • jam

    i was just reading comments- he sould be jailed for that. how can he do that being on that position we have to change our thought process then only people will realize thats serously wrong and illegal

  • dikhukpachha

    yo gane lai ta anfa bata ghokraudai nikalnu parchha ani matrai nepali football agadi badchha natra chai jaha ko tyahi rahanchha, aafanai barima faleko cauli jasto garchha yar anfa ta yasle