भव्य समारोहबीच ओलम्पिक आरम्भ

२०१२ को गृष्मकालिन ओलम्पिकको १३ साउन बिहान लन्डनमा एक भव्य समारोहबीच उद्घाटन भयो । साढे तीन घन्टासम्म चलेको सो समारोहमा विभिन्न रोमन्चक प्रस्तुतिहरु देखाइएको थियो । महारानी एलिजाबेथ द्वितीयले ओलम्पिकको उदघाटन भएको घोषणा गरेपछि सात युवा खेलाडीहरुले ओलम्पिकको दीप प्रज्ज्वलन गरेका थिए । पहिलेका ओलम्पिकहरुमा एक ब्यक्तिले दीप बाल्ने गरेकोमा यस पटक दर्शकहरुले केही फरक दृश्य अवलोकन गर्न पाएका थिए ।

ओलम्पिक दीपलाई डेविड बेकहमले थेम्स नदीबाट डुंगाको सहाराले रङ्गशालामा ल्याउँदै सर स्टिव रेड्ग्रेवलाई हस्तान्तरण गरेका थिए । यसअघि रङ्गशालालाई हरियो मैदानमा रुपान्तरण गर्दै घोडा, हाँस लगायतका घरेलु जनावरहरु देखाइएको थियो । बेलायती कृषि निर्भर समाजबाट औद्योगिक समाजको क्रान्ति देखाउँदै ओलम्पिकको पाँच गोलो बनाइएको थियो ।

स्टेडियममा देखाइएको एक भिडियोमा महारानी एलिजाबेथले जेम्स बोन्डलाई गुड एभिनिङ भनेपछि दुबै हेलिकोप्टरबाट ओलम्पिक रङ्गशालातर्फ लागेका थिए । त्यसपछि पृष्ठभूमिमा जेम्स बोन्डको संगीत सहित रङ्गशालामाथि हेलिकोप्टर देखियो र दुई व्यक्ति प्यारशुटबाट तल झरे । अनि अचानक चमत्कारिक रुपले रङ्गशालाको सिटमा महारानी देखा परिन् । समारोहमा रोवन एट्किन्सन, मिस्टर बिन् अर्केष्ट्रामा अचानक देखिएका थिए भने पल मकार्ट्नीले साङ्गितिक प्रस्तुति दिएका थिए । टुर डे फ्रान्स विजेता ब्राड्ली विगिन्सले ठुलो घन्ट बजाउँदै ओलम्पिक सुरु भएको जनाएका थिए ।

नेपाली ओलम्पिक टोलीको मार्चपास्टको एक भिडियो:

http://www.youtube.com/watch?v=WTsGD0t9rvg