सहमतिबिना आउने बजेट अस्वीकार्य: कोइराला
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक सहमतिबिना आउने बजेटलाई आफूहरुले स्वीकार नगर्ने बताएका छन्।
कोइरालानिवास महाराजगन्जमा २१ असारमा नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधिमण्डलसँगको भेटपछि कोइरालाले सहमति नभई बजेटका लागि सरकारले गरेको तयारी औचित्यहीन भएको बताए । उनले भने, ‘बजेटका लागि सरकारले गरिरहेको एकलौटी तयारीले राजनीतिक सङ्कट झन् बढ्छ र त्यसबाट सहमतिको दूरी पनि बढ्छ।’
सभापति कोइरालाले संविधानसभा विघटनदेखि बजेटको तयारीसम्मका गतिविधिले सरकार एकलौटी र निरङ्कुशताकासाथ अगाडि बढिरहेको पाइएको टिप्पणी गर्दै आफूहरुले पटक पटक सहमतिका लागि प्रयास गरिरहेको बताए । राजनीतिक सहमतिबिना आउने बजेट पास नगर्न राष्ट्रपतिसमक्ष पनि आग्रह गरिसकिएको उनले जानकारी दिए ।
चेम्बर प्रतिनिधिमण्डलले भेटमा पूर्ण आकारको बजेट ल्याउन र त्यसका लागि राजनीतिक दलबीच सहमतिको पहल गर्न कोइरालासमक्ष आग्रह गरेको चेम्बर अध्यक्ष सुरेश बस्नेतले बताए । पूर्ण आकारको बजेट आउन नसके समग्र देशको अर्थतन्त्र धराशयी हुने, विदेशी लगानीको वातावरण धमिलिने, देशमा अराजकता बढ्नेतर्फपनि कोइरालाको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।
चेम्बर प्रतिनिधिमण्डलले लगानीमैत्री, राजस्वमैत्री, उत्पादन अभिवृद्धि, निर्यात प्रवर्द्धन र रोजगारी अभिवृद्धि गर्ने वातावरण बनाउने किसिमको बजेट ल्याउनुपर्ने मागसमेत राख्दै विभिन्न पार्टी नेतृत्वसँग भेट जारी राखेको छ ।









