सहमतिको पहल गर्न राष्ट्रपतिलाई एमाले नेताको आग्रह
राष्ट्रपति डा. रामवरण यादव र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, बजेट तथा राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा २० असारमा भएको भेटपछि नेता नेपालले राष्ट्रिय सहमतिको सरकार गठनले मात्र मुलुकको बढ्दो राजनीतिक सङ्कटले निकास पाउने बताए । पूर्वप्रधानमन्त्री नेपालले एमाओवादी नेतृत्वको सरकारले देशलाई पीडा मात्र दिएको र यो सरकारले पूर्ण बजेट ल्याउन नसक्ने धारणा राखे ।
पूर्व प्रधानमन्त्री नेपालले भने, “पूर्ण सहमति अनि अर्को सरकार भनेर एमाओवादीले फेरि अर्को लफडा निकालेको छ, पूर्ण सहमति भएको भए त जेठ १४ मै संविधान बन्थ्यो, यो त केवल देशलाई बर्बादी, सङ्कट र पीडा दिने कुरा मात्र हो ।” उनले संवैधानिक सङ्कटमा फसेको सरकारलाई लम्बाएर देशलाई थप पीडा दिन नहुने धारणा राखेका थिए । संवैधानिक र राजनीतिक रुपमा फसिसकेको वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै नेता नेपालले सहमतिको पहल गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
जवाफमा राष्ट्रपति यादवले आफू संविधानअनुसार चल्ने बताउँदै दलहरुबीच सहमतिका लागि नेताहरुले पहल गर्नुपर्ने विचार व्यक्त गरेको पनि नेता नेपालले जानकारी दिए ।









