जनजातिहरूको राजनीतिक सम्मेलन शुरू

विघटित संविधानसभाका आदिवासी जनजाति सभासद्सभा (ककस) र नेपाल आदिवासी जनजाति महासंघलगायतले आयोजना गरेको आदिवासी जनजातिहरूको दुइ दिने राजनीतिक सम्मेलन २० असारमा राजधानीमा शुरू भएको छ ।

काठमाडौं धुम्बाराहीस्थित एसके क्याटरिङमा शुरू सम्मेलनमा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सभासद् पृथ्बी सुब्बा गुरुङले एकल जातीय पहिचानसहितको संविधान सुनिश्चितताका लागि भावी रणनीतितय गर्न कार्यक्रम आयोजना गरिएको बताए । सम्मेलनको अध्यक्षता गर्ने क्रममा जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले एक हप्ताका लागि भए पनि संविधानसभा ब्युँताउनुपर्ने धारणा राखे ।

आदिवासी जनजाति गैरसरकारी संस्था महासंघ र जनजाति वकिलहरूको समूह समेत आयोजक रहेको सम्मेलनमा कांग्रेस नेता इन्द्रबहादुर गुरुङ, एमालेका विजय सुब्बा, नेकपा-माओवादीका सुरेश आले, जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा लगायतका नेताहरू सहभागी छन् ।

डा. चैतन्य सुब्बा र डा. कृष्णबहादुर भट्टचनले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यपत्रमाथि प्रतिनिधिहरूले दुइ दिन छलफल गर्ने छन् । प्रतिनिधिका रूपमा ५६ जातीय संस्थाका प्रतिनिधि, जनजाति समुदायका पूर्व सभासद्, विभिन्न राजनीतिक दलमा आवद्ध जनजाति नेता, कार्यकर्ता, जनजाति महासंघका संघीय परिषद् सदस्य, जनजाति सम्बद्ध गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू सहभागी छन् ।

  • Rajsom_srn

    NORWEGIAN CHRONOR KO KARAMAT………………..DESH TUKRAUNE JANGALIHARU VELA BHAE6AN……………………