चामलको मान !

नेपालगंजबाट हुम्लाको सिमकोट उडेको जहाजका लगभग सबै सीटमा चामलका बोरा विराजमान थिए! यसरी लगिएको चामलको ढुवानी भाडा खाद्य संस्थानको हो भने प्रति किलो रु.९५ र निजी हो भने प्रति किलो रु.१३० पर्दो रहेछ !

जहाजका लगभग सबै सीटमा चामलका बोरा विराजमान थिए ! तस्बीरहरु: निशा राई

दार्चुलालाई बिर्सने हो भने हुम्ला जिल्ला सदरमुकाम सिमकोट ग्रेट हिमालयन ट्रेल (पदमार्ग) को पश्चिमी प्रवेशद्वार जस्तै हो । केही महीनाअघि त्यहाँको पर्यटन चहलपहल बुझ्न सिमकोट जाने मौका जुरयो । सिमकोट पुग्न नेपालगंजबाट ‘चिलगाडी’ नै अनिवार्य रहेछ, सबैका लागि । र, एउटा टिकटलाई पर्दोरहेछ– रु.१२,००० ! त्यो पनि हत्तपत्त नपाइने ।

चामल बोकेर सिमकोट पुगेको एउटा जहाज ।

बिहान ठीक ८ बजे राँझा विमानस्थल पुगेर ‘चिलगाडी’ चढ्दा लगभग सबै सीटमा चामलका बोराहरू राखिएका थिए(हे. तस्बीर) । कक्पिटमा दुई पाईलट हुने नै भए । मानव प्यासेन्जरमा सेतो टोपी लगाएका एक अधबैंसे, नीलो सर्ट लगाएको सानो केटो र म रहेछौं । एयर होस्टेसले ट्रेमा कपास र चकलेट ल्याइन्, केटोले हातभरि लियो । म भने मनमनै चामलको हिसाब लगाइरहेकी थिएँ– कुल ४० बोरा ! यसरी लगिएको चामलको ढुवानी भाडा खाद्य संस्थानको हो भने प्रति किलो रु.९५ र निजी हो भने प्रति किलो रु.१३० पर्दो रहेछ !

एक घण्टापछि जहाजले सिमकोट विमानस्थल टेक्यो । विमानस्थलमा ५० जना जति नौजवान चामलका बोरा उचाल्न पर्खेर बसेका रहेछन् । काठमाडौंमा मैले कहिल्यै वास्ता नगरेको चामलको यो महत्व देखेर म अवाक् भएँ । राजधानीमै जन्मेहुर्केकी मैले कर्णालीको कथा त पढेकी, सुनेकी थिएँ तर आँखा भने यथार्थसँग साक्षात्कार चाहिं पहिलो पटक गरें । यो यात्राका क्रममा मैले पहिलो पटक काठमाडौंका चोकहरूमा देखिने फोहोरका डंगुरहरूमा फालिएका खानेकुराहरू सम्झिएँ ।
विमानस्थलबाट सिमकोट बजारको होटल विजयमा खाना खान के बसेकी थिएँ, होटलका साहु विजय लामा असिनपसिन भएर चामलका बोरा बोकेका युवकहरूको हूल लिएर आइपुगे । अघि विमानबाट ल्याइएकामध्ये १० बोरा उनैले मगाएका रहेछन् । भोलिपल्ट बिहान ८ बजे जिल्ला प्रशासन कार्यालयतिर लाग्दा

खाद्य संस्थानको कार्यालय अगाडी चामल कुरेर बसेकाहरु ।

बाटोको दायाँछेउमा रहेको खाद्य संस्थानको कार्यालयमा करिब सयको हाराहारीमा मानिसहरू जम्मा भएका थिए । कोही लाइनमा बसेका थिए । भीडमा जिल्लाका ३० वटै गाविसका सर्वसाधारण रहेछन् । आ–आफ्नो गाविस सचिवको सिफारिस लिएर आएका तीमध्ये धेरैले त्यही आँगनमा रात बिताएका रहेछन्, भोलि रित्तो हात हुन नपरोस् भनेर । हरेक आइतबार, बुधबार र शुक्रबार खाद्यले चामल बेच्ने हुनाले यी दिनमा यहाँ भीड लाग्दो रहेछ ।

रक्सीले बदनाम
खाद्य संस्थानको चामल (धेरैजसो कुहिएको, सडेको हुन्छ रे !) चामल घरेलु मदिरा बनाउनेमा प्रयोग भएपछि हुम्लाको भोक निकै बद्नाम भएछ, एकताका । सिमकोट बजारको एउटा रूखमा टाँगिएको साइनबोर्डमा रक्सी बनाएको आरोपबाट जोगिंदै चामलबाट बंचित नहुने आकांक्षा झल्किएको थियो (हे. तस्बीर) । र पनि, ‘हुनेखानेहरू’ले चामलको जाँड र जाँडको रक्सी बनाएर खाने-बेच्ने गरेका ठोकुवा खाद्य संस्थानमा भेटिएका चामलका आकांक्षीहरूले गरे । सिमकोटका हुनेखानेमा चाहिं होटल व्यवसायीहरू नै पर्दारहेछन् ।

छिपरा गाविसबाट पूरा एक दिन हिंडेर आएका दानबहादुर शाही (३१) ले ५ किलो चामलका लागि सिमकोटमा कुटाकुट गर्नुपरेको अनुभव सुनाए । “सिमकोटका हुनेखानेहरू सिडिओ र प्रहरीका हाकिमको सिफारिसमा सजिलै र भनेजति चामल पाउँछन्” उनले भने “हामी गरिब जनता चाहिं पाँच किलो कुहिएको चामलका लागि बेलुकैदेखि लाइनमा बस्छौं, आपसमा ठेलाठेल र कुटाकुट गर्छौं ।”

स्याडा गाबिसबाट अघिल्लैदिन देखी स्कूल छोडेर चामल बोक्न सिमकोट झरेका ७ बर्षीया रामजन बूढाकासाथ पंक्तिकार ।

हुम्ली जनताका लागि वडापिच्छे ५० केजी खाद्यान्न उपलब्ध गराउने सरकारी व्यवस्था रहेछ । तर, त्यसमा पनि स्थानीय नेता र तिनका कार्यकर्ताको हालीमुहाली चल्दो रहेछ । कर्णाली अञ्चलमा भोकमरी हटाउन सरकारले २०३२ सालदेखि ‘चिलगाडी’ मा खाद्यान्न पठाउने नीति लिएको हो । २०४६ पछिका सरकारहरूले पनि कर्णालीलाई विकास, दिगो कृषि र जीविकाका अन्य विकल्पहरू नदिएर काठमाडौंमा निर्भर पार्ने पंचायती नीतिलाई नै निरन्तरता दियो । त्यसयता कर्णालीका पाँच जिल्लामा नेपाल खाद्य संस्थानमार्फत वार्षिक सरदर ३८ हजार क्वीण्टल चामल पठाउँदै आएको देखिन्छ । जिल्लाका करिब ५६ हजार परिवारका सवा ३ लाख जनसंख्यालाई यतिले पुग्ने कुरै भएन ।

२०४६ पछिका सरकारहरूले कर्णालीलाई काठमाडौंमाथि निर्भर पार्ने पञ्चायती नीति त्यागेर विकास, दिगो कृषि र जीविकाका अन्य विकल्प दिएको भए हुम्लीहरूले शायदै यो पीडा भोग्नुपथ्र्यो होला । उनीहरू कसरी बाँचेका छन्, अब त सिंहदरबारले हेर्नुपरयो !

सिमकोट बजारको एउटा रूखमा टाँगिएको साइनबोर्ड ।

  • Hangrai

    Chor Neta haru lai k thaha bhok k ho bhanera. Ktm ma basne sabai neta haru lai 3 months Darchula ma lagera rakhnu pane ho. Ani thaha hunthyo.

  • cuteluvs

    nice one cute nisha

  • Bhojendra Basnet

    Good Reporting nisa jee

  • Kski

    kya amazing chha hai nisa jee yasto pani chha hamro nepalma,tyo netaharu jasle vip khana khanchhan deshko bikat ma dhyan didinana tesko petma kira paros

  • Pakhrin69

    Tyaha napuge pani yo reportingle ek patak tyaha pugera pratyakchhya dekheko jhai anubhav garayo. Tyahaka sojha daju bhai didi bahiniko pidako mahasus maile gareko chhu, man amilo hunchha. Malai lagchha sadak bistar nai tyo awasthabata sudhar garaune arko bikalpa huna sakchha. Kattiko utpadanshil bhumi chha, tyo ta malai thah chhaina tara arko pani arko bikalpa krishi pranalilai adhunikikaran garera utpadan badaunu huna sakchha. Sarkari chhetra, gair sarkari chhetra tatha nijee chhetra sabai milera baikalpik upaye haruma kaam gare kaso yo samasyabata mukti napaiyela bhaneko! Thanks Nishajeelai share garnu bhakoma.

  • http://www.facebook.com/ngima.pakhrin Ngima Pakhrin

    Tyaha napuge pani yo reportingle ek patak tyaha pugera pratyakchhya dekheko jhai anubhav garayo. Tyahaka sojha daju bhai didi bahiniko pidako mahasus maile gareko chhu, man amilo hunchha. Malai lagchha sadak bistar nai tyo awasthabata sudhar garaune arko bikalpa huna sakchha. Kattiko utpadanshil bhumi chha, tyo ta malai thah chhaina tara arko pani arko bikalpa krishi pranalilai adhunikikaran garera utpadan badaunu huna sakchha. Sarkari chhetra, gair sarkari chhetra tatha nijee chhetra sabai milera baikalpik upaye haruma kaam gare kaso yo samasyabata mukti napaiyela bhaneko! Thanks Nishajeelai share garnu bhakoma.