‘हामी एक भएमा विदेशी चलखेल हुन सक्दैन’

नेपाली कांग्रेसका सभापति सुशील कोइराला समाधानको बाटो निस्कने कुरामा विश्वस्त छन् । १६–३१ असार २०६९ को हिमाल खबरपत्रिकाका लागि कुराकानी गर्दै उनले राजनैतिक निकासका लागि वार्ताको विकल्प नभएको बताए । उनले भने ‘देशलाई समाप्त पार्ने हो भने एउटा कुरा, होइन माया छ भने बाटो निकाल्नुपर्छ ।’

अहिले राजनीतिक शून्यता देखिएको हो ?
हो नि ! हिजोसम्म दलहरूबीच सहमतिका आधारमा कुराकानी भइरहेको थियो, १४ जेठ राति माओवादीबाट भएको अप्रत्याशित निर्णयले त्यसमा ब्रेक लगायो । माओवादीको ध्यान जहिले पनि सहमतिका आधारमा अघि बढ्ने भन्दा पनि अन्योल सृजना गर्ने र सत्ता कब्जा गर्नेमै केन्द्रित भयो । अन्तरिम संविधानमा सहमतिका आधारमा अघि बढ्ने उल्लेख छ, तर माओवादीले एकलौटी रूपमा चुनाव घोषणा ग¥यो । निर्वाचनमा जान संविधान संशोधन गर्नुपर्छ । संसद् नभएको अवस्थामा सहमति विना यो काम हुन सक्दैन । यस्ता कुराले दलहरूबीच विश्वासको संकट सृजना भएको छ ।

१४ जेठको स्थिति कसरी आयो ?
हाम्रो तर्फबाट सहमतिको लागि अन्तिम समयसम्म प्रयास भएको हो । तर जुन ढंगबाट घनीभूत छलफल हुनुपर्ने थियो, माओवादीका कारण हुनसकेन । माओवादीले १४ जेठको राति अबेरसम्म पनि आलटाल गरेर समय टार्ने काम ग¥यो । कांग्रेसले विगतमा सहमति भएका विषयलाई टुंग्याऔं र सहमति हुन बाँकी विषयबारे केही समय अन्तरिम संसद् लम्ब्याएर भए पनि निर्णय गरौं भनेको हो । तर माओवादीले सभामुखले ल्याएका कुरा पनि नमानेर कसैको सहमति विना रातारात चुनाव घोषणा गर्नुले संविधान बनाउने माओवादीको नियत नभएको प्रष्ट हुन्छ ।

अब चुनाव स्वीकारेर अघि बढ्न सकिंदैन र ? कांग्रेस चुनावबाट भाग्ने पार्टी त होइन !
कांग्रेस चुनावबाट डराउँदैन । हिजो त्यस्तो अवस्थामा पनि संविधानसभाको चुनाव कांग्रेसले नै गराएको हो । तर अहिले चुनाव हुने अवस्था छैन । निर्वाचन आयोगले नै अहिलेको अवस्थामा निर्वाचन सम्भव नहुने बताइसकेको छ ।
पाँचबुँदे सहमति अनुसार अघि बढ्न तयार नभएको माओवादी नेतृत्वको सरकारबाट समस्याको हल हुन्छ भन्ने हामीलाई विश्वास छैन । संविधानसभा चुनावपछि एमाले र माओवादीले दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उहाँहरू गम्भीर भएको भए समस्याको समाधान भइसक्थ्यो । तर न शान्ति प्रक्रिया टुंगिएको छ न संविधानमै सहमति । त्यसैले अब कांग्रेसको नेतृत्वमा बन्ने सरकारले यी विषयलाई गम्भीरतापूर्वक निष्कर्षमा पुरयाउनेछ ।

कांग्रेस शान्ति प्रक्रियामा जति संविधानलेखनमा गम्भीर नभएकोले माओवादी यो हदसम्म गएको पनि भनिन्छ नि ?
लडाकू समायोजन र हतियार नटुंगिएसम्म शान्ति प्रक्रिया अघि बढ्न सक्दैनथ्यो, तर माओवादी संविधानलेखनलाई प्रभावित पार्न हतियार, सेना र शिविर आफ्नो नियन्त्रणमै राख्न चाहन्थ्यो । त्यही भएर शान्ति प्रक्रिया पहिले टुंग्याउनुपर्छ भनेर कांग्रेसले अडान राखेको हो । शान्ति प्रक्रियामा मात्र होइन, संविधानमा पनि माओवादीले आफ्ना कुरा जबर्जस्ती थोपर्ने प्रयास गरेको छ । हामी बहुलवाद भन्छौं, माओवादी नेताहरू कम्युनिष्टको शब्दकोशमै बहुलवाद छैन भन्छन् । यसरी माओवादीले जहाँ पनि बाधा, अड्काउ गरेर शान्ति प्रक्रिया लम्ब्याउने खेल खेलेको छ ।
संविधानसभा विघटनपछि प्रधानमन्त्री भट्टराई पनि संसद् सदस्य हुनुहुन्न । यो अवस्थामा सहमतिका लागि प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिनुपथ्र्यो । उल्टो राष्ट्रपतिले बोलाएर ‘तपाईं कामचलाउ सरकार हो’ भन्नुपर्ने अवस्था आयो । माओवादीले जहाँ पनि जोरजबर्जस्ती गरेर पेल्ने काम गरेको छ । जिम्मेवार दलको नाताले कांग्रेस वार्ता, सहमति र सहकार्य अघि बढाउने कामको नेतृत्व गर्न तत्पर छ । मुलुकलाई द्वन्द्वमा जान दिनुहँुदैन । मुलुक इतिहासमै कमजोर भएको छ । यो अवस्थामा नयाँ ढंगबाट हिंड्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ, जसको नेतृत्व सहमतिकै आधारमा कांग्रेसले गर्नेछ ।

संविधानसभाको विघटनपछि कांग्रेसकै पहलमा दलहरूबीच संवाद शुरू भयो । कत्तिको आशावादी हुनुहुन्छ ?
माओवादी र यसका नेताहरू मुलुकप्रति साँच्चै चिन्तित छन् भने प्रक्रिया निश्चित रूपमा अघि बढ्छ । बेरोजगारी समस्या हल गरेर मुलुकको विकास निर्माण गर्न माओवादी साँच्चै प्रतिबद्ध हो भने यसको कुनै विकल्प छैन । मलाई विश्वास छ, माओवादीले अब छिट्टै यो कुरा महसूस गर्नेछ ।

ब्राजिल जानुअघि प्रधानमन्त्री भट्टराईले सहमतिपछि राजीनामा दिने भन्नुभएको थियो, त्यहाँबाट फर्केपछि त निर्वाचित सरकारलाई मात्र सत्ता हस्तान्तरण गर्ने भन्नुभयो !
सबै सत्ता लम्ब्याउने खेल मात्र हो । माओवादीको भनाइ र गराइमा धेरै अन्तर छ । विस्तृत शान्ति सम्झैतादेखि हालसम्म भएका सहमतिको माओवादीले कहाँ पालना गरेको छ ? भनाइमा क्रान्ति र नयाँ नेपाल भन्ने अनि नेपाल र नेपालीप्रति प्रतिबद्ध नरहने त भएन नि !

वार्ताबाट समस्याको हल निस्कने लक्षण त देखिएन ।
मलाई विश्वास छ, समाधानको बाटो निस्कन्छ । वार्ताको विकल्प छैन । देशलाई समाप्त पार्ने हो भने एउटा कुरा, होइन माया छ भने बाटो निकाल्नुपर्छ ।

बाटो कहाँबाट निस्कन्छ त ? कांग्रेसको पहलबाट कि राष्ट्रपतिबाट ?
विना सहमति चुनाव घोषणा हुनासाथ हामीले राष्ट्रपतिकहाँ गएर यो काम संविधान विपरीत भयो, गम्भीरतासाथ हेर्नुपर्छ भनेर ध्यानाकर्षण गरायौं । राष्ट्रपतिले विधिविधान अनुसार जान्छु भन्नुभयो । नागरिक समाजदेखि विभिन्न पेशागत समूहका व्यक्तिहरूसँग पनि राष्ट्रपतिले त्यही कुरा दोहो¥याउनुभएको छ । मुलुकको समस्याप्रति राष्ट्रपति कति चिन्तित हुनुहुन्छ भन्ने कुरा दलहरूलाई पटक–पटक बोलाएर परामर्श गरेबाटै प्रष्ट हुन्छ । राष्ट्रपति सहमतिबाटै समस्याको निकास खोज्नुपर्ने पक्षमा हुनुहुन्छ ।

कांग्रेस, एमाले प्रधानमन्त्रीलाई राजीनामा दिएर ढोका खोल्नुस् भन्छन् । सहमति अनि राजीनामा भन्ने प्रधानमन्त्री निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणको कुरा गर्नुहुन्छ । यस्तो अवस्थामा राष्ट्रपतिले के गर्नुपर्छ भन्ने लाग्छ ?
संविधानको संरक्षकका नाताले राष्ट्रपति विधि अनुसार हिंड्नुहुन्छ, उहाँले देश र जनताप्रति न्याय गर्नुहुन्छ । राष्ट्रिय सहमतिको वातावरण बनाउनुस् भन्न सक्नुहुन्छ ।

गतिरोध लम्बिएला कि छोटिएला ?
गतिरोध जति लम्बियो त्यति मुलुक र जनताका लागि घातक हुन्छ । त्यसैले हामीले सबै दलहरूबीच छलफल शुरू गरेका हौं । कांग्रेसले दलहरूबीच बढ्दो अविश्वास चिर्दै त्यसलाई विश्वासमा परिणत गरेर समस्या समाधानको बाटो तय गर्नेछ । इतिहासमा कहिल्यै राष्ट्रियता र प्रजातान्त्रिक मूल्यमान्यताप्रति कसैसँग सम्झैता नगरेको कांग्रेसको राष्ट्रियताप्रतिको नीतिका विषयमा माओवादी स्पष्ट हुनुपर्छ ।

यो अवस्थाको पछाडि इतिहासमै नभएको वैदेशिक चलखेल भइरहेको छ भनिन्छ नि ?
हामी कमजोर भयौं भने हाम्रो कमजोरीबाट विदेशीले फाइदा उठाउन खोज्ने हुन् । त्यसबाट सचेत हुनुपर्छ । विदेशी चलखेल हुन सक्दैन हामी एक भएमा ।

हिजो बीपी र जवाहरलाल नेहरूको सीधा कुरा हुन्थ्यो । तपाईंले बीपीसँगै युरोप गएर अन्तर्राष्ट्रिय सम्बन्ध बनाउनुभयो । तर आज त नेपाली राजनीति लैनचौरको गेटमा सीमित छ भन्छन् नि ?
यो गलत कुरा हो । आज पनि हामीलाई भेट्न विभिन्न देशका राजदूतहरू आउने गर्नुहुन्छ । नेपालको शान्ति र संविधानबारे चिन्ता र चासो व्यक्त गर्नुहुन्छ ।

राज्य पुनर्संरचनाबारे मुद्दा चर्किनुमा पनि वैदेशिक चलखेलले काम गरेको हो ?
धेरै प्रदेश मुलुकले धान्नै सक्दैन आर्थिक रूपमा । अहिलेका लागि प्रदेशको संख्या सानो बनाऊँ बरु पछि बढाउन सकिन्छ । दक्षिण अफ्रिकामा पहिला धेरै प्रदेश थिए, अहिले घटाएका छन् । नेपाल जस्तो देश जहाँ कहीं कसैको बाहुल्य छैन एकल जातीय राज्यमा जाँदा द्वन्द्व पनि हुनसक्छ । जातीय द्वन्द्वले विभाजित भएको सुडानबाट हामीले शिक्षा लिनुपर्छ ।

एक पटक सांसद् हुनुभयो, त्यसपछि सरकारी ओहोदामा कहिल्यै बस्नु भएन, किन ?
बीपीले देखाउनुभएको बाटो राष्ट्रियता, प्रजातन्त्र र प्रजातान्त्रिक समाजवाद हो । नेपालको भविष्य र समृद्धि यसैमा छ । त्यसैले सत्तामा जानुभन्दा बीपीका विचार लिएर जनतामा जानु महŒवपूर्ण ठानेर सत्ताको आकर्षण नभएको हो । पार्टीलाई संस्थागत बनाउन अनि अनुशासन र आन्तरिक मूल्यांकन प्रणाली विकास गर्न प्रतिबद्ध छु ।

तपाईं सिद्धान्तनिष्ठ, इमानदार र त्यागी हुनुहुन्छ रे ! तर तपाईंको त्यो शैलीलाई पार्टी पंक्तिले आत्मसात् गरेको देखिंदैन । यसरी हेर्दा आफूलाई असफल भएजस्तो लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । के राम्रो बाटो अवलम्बन गर्नु अनि आदर्शमा विचलित नहुनु मेरो कमजोरी हो ? त्यसो भए मसँग न पैसा छ, न केही । पार्टीका साथीले के देखेर मलाई सभापतिमा विजयी गराए त ? आजसम्म म सत्तामा गएको छैन । साथीहरूलाई केही दिएको छैन । तैपनि साथीहरूको माया पाएको छु । म असफल भएको होइन ।

तपाईं विकास निर्माणका कुरामा कार्यकर्तामा घुलमिल हुन सक्नुहुन्न र अव्यावहारिक हुनुहुन्छ हो ?
झ्ूठो आश्वासन मैले कहिल्यै दिएको छैन । कार्यकर्ताका जायज काम गरिदिनु भन्दै आएको छु । तर तर्साएर म फलानो हुँ, मैले भनेको काम जसरी पनि गर्नै पर्छ भनेको चाहिं छैन ।

कार्यकर्ताको व्यावहारिक समस्या पनि बुझन नसकेको गुनासो छ त ?
हो, व्यावहारिक हुन नसकेको भन्ने भनाइ केही हदसम्म सही होला । मैले बिहे गरेको छैन । परिवार पाल्नु परेको छैन । आटा, दालको भाउ पनि थाहा छैन । त्यसकारण अव्यावहारिक भन्नेमा केही सत्यता होला ।

विवाह नगर्दा अहिले पछुतो छैन ?
छैन नि के को पछुतो हुनु ? बरु विवाह गरेका साथीभाइले दाइ तपाईंले विवाह नगरेर ठीक गर्नुभयो भन्छन् । यस्तो सुन्दा चाहिं ठीकै गरेछु जस्तो पनि लाग्छ ।

मन्त्री बन्न तपाईंलाई पटक पटक प्रस्ताव आएको थियो, बन्नु भएन । अब एकैचोटि प्रधानमन्त्री बन्ने हो ?
मैले म प्रधानमन्त्री हुन्छु भनेको छैन, तर साथीहरूले एक पटक तपाईं हुनुपरयो भनेका छन् । हाम्रो पार्टीमा प्रधानमन्त्रीका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल पनि हुनुहुन्छ । पार्टी र साथीहरूबीच कलह गराएर मलाई प्रधानमन्त्री हुनु छैन । अरू पार्टीले पनि कांग्रेसको नेतृत्व चाहेका छन् । कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेद्वार जो भए पनि हामी कार्यसमितिको बैठकबाटै संस्थागत निर्णय गर्नेछौं ।

भनेपछि साथीहरूले कर गरे भने प्रधानमन्त्री तपाईं नै, हैन त ?
त्यो अवस्था आए तयार छु । तर पनि यसबारे आधिकारिक निर्णय पार्टीले नै गर्छ ।

त्यस्तो अवस्थामा पार्टी नेतृत्वमा पनि आफैं बस्नुहुन्छ ?
सबै ठाउँमा मै हुनुपर्छ भन्ने छैन, कार्यवाहक तोक्न सकिन्छ ।

तपाईं पद धारण गर्नै चाहनु हुन्न भन्ने पनि छन् नि ?
हो, २०४८ देखि जति अवसर आए पनि त्यसले मलाई आकर्षण गरेन । गणेशमान, किसुनजी र गिरिजाबाबुले मलाई परराष्ट्र मन्त्री बन्न भन्नुभएकै हो ।

तर २०५८ मा संसदीय दलको नेताको लागि चुनाव लड्नुभयो । प्रधानमन्त्री बन्नकै लागि होइन र ?
त्यतिबेला म साथीहरूकै आग्रहमा लडेको हुँ । राजनीतिमा हारजित स्वाभाविक कुरा हो । त्यतिबेला हार्दा खत्तम भएँ भन्ने भएन । अहिले सभापतिमा विजयी हुँदा पनि के के न भयो भन्ने छैन ।

गिरिजाप्रसाद कोइरालाको सहयोगी रहनुभयो । तपाईंको काँधमा बन्दूक राखेर उहाँले धेरै पटक पड्काउनुभयो भन्छन् नि ?
त्यस्तो होइन । उहाँ आफैं निर्णय लिने व्यक्ति हुनुहुन्थ्यो । मैले मन्त्री नभएर पनि उहाँलाई निकै सहयोग गरेको थिएँ ।

कांग्रेसमा धेरै गुट–उपगुट किन होला ?
यो दुर्भाग्य हो । कांग्रेसमा सिद्धान्तगत विभेद छैन, तैपनि गुट–उपगुट छन् । हुँदाहुँदा पार्टी नै विभाजित भयो । अहिले पार्टी एक भए पनि विभाजनको तुष अझ्ै बाँकी छ ।

विभाग गठन हुनसकेका छैनन्, केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । कांग्रेस नेता विमलेन्द्र निधि विजयीले पराजितलाई समेटेर जाने प्रणाली प्रजातन्त्र हो, तर तपाईंले सबैलाई समेट्न सक्नुभएन भन्नुहुन्छ ।
मैले कहाँ समेटिन ? शेरबहादुर, विमलेन्द्रजीलाई मनोनीत गरेर ल्याएको हुँ । साथीहरूको सहयोग र विश्वास शुरूमै पाउन नसक्नु दुर्भाग्य हो । विमलेन्द्रजीले किन त्यसो भन्नुभयो मैले बुझन सकिनँ ।

पार्टी चुस्त हुन नसक्नुको मूल कारण के हो ?
यसको मूल कारण भागबण्डा नै हो । १२औं महाधिवेशन एकताको महाधिवेशन भन्यौं, त्यसअनुरुप हुन सकेन । तर पनि आपसी विश्वास, सद्भावमा पहिले भन्दा धेरै सुधार आएको छ ।

त्यसो भए कांग्रेस मिलेको हो त ?
माओवादीसँग त मिल्नु परेको छ भने आफ्नै पार्टीका साथीहरूसँग नमिलेर हुन्छ ?

-१६–३१ असार २०६९ को हिमाल खबरपत्रिकाबाट

  • sisir

    Leader without any vision and thoughts …
    Date expired thotre leader … Youth need better opportunity …

    • kamada

      So called youth are also like parsuram basnet

  • Brian Powell

    we need gagan thapa on your place ,plz step aside Mr koirala.

  • Sanu_kalulove

    timi mula mulasag kaha thiyau yetinjel ni ahile aaya ra pani ghaito ma gham lageko chaina nepali congress ma. jindagi ta bihe a garera gayo k nepal lai pani sambidhan na diyara jane bichar cha timi mula sag lai.

  • Raj

    Hami eak vaye ma bideshi chalkhel huna sakdaina vanne kuro ta hami sabailai thaha vayekai kuro ho ni .tyo vani rakhnu pardaina bro eak vayera desh ko bikas garera dekhau.desh ko lagi kehi pani ramro kam garna sakdainou vane nakarai kan basa malai bore lagchha timi haru ko aadarsa ko kura sunda sunda