प्राज्ञ कृष्णभूषण बलको दाहसंस्कार

वरिष्ठ कवि प्राज्ञ कृष्णभूषण बलको विराटनगर–१ स्थित परोपकार घाटमा १२ असारमा दाहसंस्कार गरियो । उहाँका छोरा अमेरिकाबाट आइनसकेकाले दागबत्ती उहाँकी श्रीमती शोभा लामाले दिएकीथिइन् ।

गत ८ असार शुक्रबार बिहान प्रातकालीन हिँडाइबाट फर्किएर घरमा नुहाउँदै गर्दा मस्तिष्क पक्षघात भएपछि बललाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । विराटनगर–१३ घर भएका वरिष्ठ कवि बलको शव १२ असारमा अन्तिम श्रद्धान्जलिका लागि विराटनगर–११ स्थित गुरुकुलमा राखिएको थियो ।

भाषाशास्त्री बालकृष्ण पोखरेलले वरिष्ठ कवि बलको शवमा राष्ट्रिय झण्डा ओढाएका थिए । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले पठाउनुभएको समवेदना सन्देश पढेर सुनाइएको थियो ।

शव यात्रामा राजनीतिक दलका नेता, कार्यकर्ता, कवि, साहित्यकार, बुद्धिजीवी, नागरिक समाज, समाजसेवी, मानवअधिकारवादी एवम् पत्रकारलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।