‘विद्यालय भनेर बेश्यालय खोल्न पाईंदैन’
चलचित्रमा बढ्दै गएको अश्लीलताबारे चलचित्रकर्मीले चर्को आलोचना गरेका छन् । पछिल्लो समयमा बढेको चलचित्रको नाममा 'सेक्स' बेच्ने होडबाजी नेपाली चलचित्रका लागि सकारात्मक नभएको भन्दै चलचित्रकर्मीले यसमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले अभिव्यक्ति स्वतन्त्रताको नाममा नेपाली चलचित्र भन्दै पोर्न फिल्महरु समेत बन्न थालेका बताउँदै चलचित्रको वर्गीकरण टड्कारो भइसकेको बताए । उनले भने ‘विद्यालय भनेर बेश्यालय खोल्न पाईंदैन ।’

चलचित्र क्षेत्रमा बढ्दै गएको अश्लीलता, सेक्स फिल्म बनाउने होड चलिरहेकै बेला मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानु्ून विकास मञ्चले ‘नेपाली सिने क्षेत्रः हामी कता जाँदैछौं’ विषयमा १२ असारमा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले अभिव्यक्ति स्वतन्त्रताको नाममा नेपाली चलचित्र भन्दै पोर्न फिल्महरु समेत बन्न थालेका बताउँदै चलचित्रको वर्गीकरण टड्कारो भइसकेको बताए । उनले भने ‘विद्यालय भनेर बेश्यालय खोल्न पाईंदैन ।’ अर्का चलचित्रकर्मी राजेन्द्र शलभले चपली हाइट पछि सेक्स बिक्दो रै’छ भन्दै भटाभट यस्ता फिल्म बनेको बताउँदै यो समग्र नेपाली चलचित्र क्षेत्रका लागि दुःखलाग्दो भएको धारणा राखे ।
निर्माता संघका अध्यक्ष राजकुमार राईले सामाजिक मूल्य र मान्यतालाई ख्याल नगरी पैसा कमाउने होडमा चलचित्र क्षेत्रको बद्नाम नगर्न निर्माता निर्देशकलाई आग्रह गरे । उनले भने “चलचित्रमा नयाँ ट्रेण्ड भन्दै सेक्सका विषयमा जबर्जस्त फिल्महरु बनिरहेका छन्, अब हामीले कसरी यो क्षेत्रलाई बचाउने भन्नेतर्फ सोच्ने बेला भएको छ ।” कार्यक्रममा सेन्सर बोर्डका अध्यक्ष सुशीलकुमार ओझाले सबै चलचित्रको अनुगमन गर्ने अवस्थामा सेन्सर बोर्ड नरहेको बताउँदै चलचित्रकर्मी सबैको सहयोग चाहिएको बताए ।
कार्यक्रममा कानून व्यवसायी सपना मल्ल प्रधान, पत्रकार बबिता बस्नेत, निर्देशक आकाश अधिकारी, नरेश पौड्याल नायिकाहरु करिष्मा मानन्धर, रेखा थापा, महिला निर्देशक सुचित्रा श्रेष्ठ लगायतले सामाजिक मर्यादालाई नभुल्न निर्माता निर्देशक तथा कलाकारहरुलाई आग्रह गरे ।











