सरकार टिकाउन खोज्नु नै बालहठ: खनाल

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले कामचलाउ प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकार टिकाउन खोज्नु नै बालहठ भएको बताएकाछन् ।

खनालले मुलुक गम्भीर राजनीतिक र संवैधानिक संकटमा परेको बेला राष्ट्रिय सहमति बनाउन पहल गर्नुपर्नेमा कामचलाउ प्रधानमन्त्री आफैंले बालहठ प्रदर्शन गरी बदनाम हुने काम गरिरहेको बताए ।

महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे १२ असारमा जानकारी लिइसकेपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले विपक्षी दललाई बालहठको संज्ञा दिएकोप्रति व्यङ्ग्य गर्दै रियोको बल नेपालमा काम नलाग्ने बताए । उनले भने “रियोबाट ल्याएको कुनै सूचना वा बल नेपालमा काम लाग्दैन् ।”

उनले राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री डा. भट्टराईलाई आह्वान गर्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म कुनै पनि सहमति कायम हुन नसक्ने र त्यसले मुलुकको निकास भन्दा विनास मात्र गराउने बताए ।