पाँच बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा कांग्रेस सभापतिको जोड

नेपाली कांग्रेस सभापति सुशील कोइरालाले तीन दल र मधेसी मोर्चाबीच विगतमा भएको पाँच बुँदे सहमतिको कार्यान्वयनबाट नै वर्तमान राजनीतिक संकट समाधान हुने बताएका छन् ।

७ असारमा ‘चुकेनन् योद्धाहरु’ नामक गीति क्यासेटको विमोचन गर्दै कोइरालाले वर्तमान सरकारले संवैधानिक र राजनीतिक सहमति उल्लंघन गरी चुनाव घोषणा गरेकाले यसका विरुद्ध पार्टी संर्घषमा उत्रिएको उल्लेख गरे । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद धनी विचार हो भन्दै सभापति कोइरालाले यसलाई समाप्त गर्न खोज्ने तत्वहरु आफैँ समाप्त भएर जाने विचार व्यक्त गरे ।

लीला नेपालद्वारा रचिएको सो सिडीमा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताको योगदानको विषयमा आधारित गीतहरु छन् । महिला उत्थान केन्द्रद्वारा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष लीला नेपाल, नेपाल महिला संघका अध्यक्ष डा. डिला संग्रौला, गजलकार ज्ञानुवाकर पौडेलले लोकतान्त्रिक आन्दोलनमा नेताहरुले पुर्‍याएको योगदानको विषयमा चर्चा गरेका थिए ।