गाउँ नै संसार

शहरमा खाली बसेका मानिसले गाउँमा धेरै काम गर्न सक्छन् । राजधानीमा राम्रै आम्दानीको काम छाडेर गाउँ फर्केका काभ्रे, पात्लेखेतका कृषिविज्ञ गोविन्द शर्मा अहिले कन्सल्ट्यान्सीदेखि नमुना खेती गरिरहेका छन् । गाउँठाउँको विकास र पारिवारिक आत्मसन्तुष्टि उनले यो कामबाट पाएको लाभ हो ।

कुरा गोविन्द शर्मा एक जनाको आत्मसन्तुष्टिसँग मात्र होइन, सिङ्गो कृषिप्रधान नेपालको बिकाससँग पनि गाँसिएको छ । ग्रामीण विकासमा किसान केन्द्रमा हुनुपर्ने र हाम्रो कृषिमा हामी रम्न सक्ने हुनुपर्ने मान्यता राख्ने उनले १६ रोपनी जग्गामा पहाडका किसानका लागि एउटा नमुना खेती गरेका छन्, जसले हरेक परिवारलाई बर्सेनि एक–डेढ लाख रुपैयाँ खेलाउँदै खाद्य सुरक्षासहित पेशामा रम्न सक्ने बनाउँछ । रामपुर कृषि क्याम्पसबाट बीएस्सी र नेदरल्याण्डस्को वागेनिङ्गेन विश्वविद्यालयबाट एमएस्सी गरेका शर्माले ‘हसेरा मोडल’ नाम दिएको यो नमुना खेतीको अर्थ पनि सरल छ— हरियो, सेतो, रातो अर्थात् अन्नबाली, दुग्धपदार्थ र मासु उत्पादन ।

२०६४ साल वैशाखदेखि शर्माले सञ्चालन गरेको कृषि फार्मको अध्ययन–अवलोकन गर्न हालसम्म नेपालका ९८ कृषक समूह र २५ देशका २८० जना कृषिका विद्यार्थी आएका छन् । अहिले पनि अमेरिकाकी इभा क्यापजोला एकवर्षे अध्ययनका लागि हसेरामै छिन् । उनको फार्ममा एक पटकमा २० जनासम्मले बस्ने–खाने सुविधासहित तालिम लिन सक्छन् । नेपालीहरूले सन् १९५० को दशकदेखि तालिम लिन थालेका र हालसम्म कृषिसम्बन्धी स्नातक जनशक्ति नै पाँच हजारभन्दा बढी भइसकेकाले अब जाँगर देखाउने वेला आएको शर्माको भनाइ छ ।

तर, गाउँको सम्भावना र क्षमताबारे सोच्ने जमर्को कमैले गरेको तर्फ सङ्केत गर्दै उनी भन्छन्, “काम गर्ने सोच लिएर मानिसहरू गाउँ फर्कनु भनेको गाउँको क्षमता अभिवृद्धि गर्नु र राज्यलाई दबाब दिनु पनि हो ।” गोविन्द शर्माले पात्लेखेत गाविसको पूँजीगत क्षमता अध्ययन गरे— विद्यमान पूर्वाधारमै गाविसले दूध र तरकारीबाट मात्र मासिक रु.२ करोड आर्जन गर्न सक्ने देखे । गाउँको मुख्य श्रमशक्ति गाविसका ६० प्रतिशत महिलामा आङ खस्ने समस्या पनि रहेछ । तर, सबै क्षेत्रका आ–आफ्नै क्षमता र समस्या हुन्छन् र तिनको विकास र निदान पनि स्थानीयस्तरमै सम्भव हुन्छ भन्ने उनको मान्यता छ ।

२०४९ सालमा बीएस्सी गरेपछि फड्के कीराको अध्ययन गर्दै तराईबाट मेची–काली गरेका शर्माले २०५२ सालपछि दिगो कृषि संस्था नेपाल (इन्सान) को कार्यकारी निर्देशक रहँदा पहाडी भेगको कृषिको व्यावहारिक अध्ययन गरे । यसबाट उनले निकालेको निचोड थियो— स्रोत संरक्षण र प्राङ्गारिक (अर्गानिक) खेती । किनभने, अधिकांश भिरालो भूभागमा हरेक वर्ष माटो र पानीसँगै मल पनि बगेर गइरहेको छ भने अर्गानिक खेतीमा नेपाललाई अरूले नभेट्टाउने र अरूमा नेपालीले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । “त्यसमाथि हिमाली हावापानीबाट सिञ्चित उत्पादन भनेपछि नबिक्ने कुरै आउँदैन”, शर्मा भन्छन्, “तर, कृषिमा पर्यटनलाई पनि जोड्नैपर्छ । यसमा सरकारले अरू मुलुकको आयात सूचीमा नेपाललाई पार्ने र पर्यटक तथा सीप भएकाहरूलाई गाउँ ल्याउने नीति अवलम्बन गरे काफी हुन्छ।”

गाउँमा खास गरेर विभिन्न विषयगत क्षेत्रका मानिसले आफू अनुकूल बौद्धिक वातावरण नपाएर एक्लो महसुस गर्न सक्छन्, तर पढेलेखेका र अनुभवी मानिस आफ्नै थलो फर्केर केही गर्ने जमर्को गर्दा मानसम्मानका साथ सहयोग जुट्नु गाउँको सजिलो पक्ष हो । शर्मा गाउँ फर्केपछि पात्लेखेतका करिब ९० प्रतिशत घरले बगेर जाने पानी सङ्कलन गर्न थालेका छन्, घाँस रोप्ने चलन बढेको र गाईको नश्ल परिवर्तन भएको छ । पौरखी महिलाहरूको सागपात समूह गठन हुनुका साथै १७८ परिवार हनुमान सहकारी संस्थामा आबद्ध भएका छन् ।

अवकाशपछि जन्मथलो फर्कनेहरूको शहरमा मूल्य नपाएको सीप, ज्ञान र अनुभव गाउँमा हस्तान्तरण हुन्छ । उनी भन्छन्, “आफ्नै गाउँमा बसेर केही गर्न सक्दाको आत्मसन्तुष्टि अवर्णनीय हुन्छ ।” गाउँमा बस्दा ९८ प्रतिशत खर्च घट्ने अनुभव सँगालेका शर्मा घरैबाट स्कूल धाउने छोराहरू आफ्नै बारीको सुन्तलाले अघाएको देख्दा पारिवारिक जीवनको सम्पूर्णता महसुस गर्छन् । त्यसबाहेक गाउँमा जत्तिको मौलिक संस्कृतिको अभ्यास अन्त हुँदैन ।

कतिले राजनीति गर्न गोविन्द गाउँ फर्केको भन्छन् भन्ने हल्ला सुनेका उनको विचारमा शहरको बनिबनाउ ‘करिअर’ त्यागेर ४१ वर्षको उमेरमा थातथलो फर्कनु ‘एन्टिकरेन्ट’ हुनु पनि हो । हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजीका डा. विनायक राजभण्डारी, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डा. मोहन खरेल, अर्गानिक भिलेज, बालुवाटारका समिर नेवा र एप्रोप्रियट एग्रिकल्चर अल्टरनेटिभ्सकी जुडिथ चेजले पात्लेखेतमै घर बनाउन थाल्नु गोविन्द शर्माका लागि खुसीको कुरा भएको छ ।

-आनन्द पी राई
१६ असोज–१५ कार्तिक २०६७ को हिमालबाट

  • HAKUCHA

    Jai hos “

  • Prachandarolpa

    Good Job

  • solukhumbeli thito

    very good .. go ahead

  • durga thapa

    dherai raamro kura yastai byakti kohi aru pani chh ki yo deshma ?