कर्जा माग बढेन, ब्याङ्कमा पैसा थुप्रियो

लगानीको वातावरण झन् ओरालो लाग्न थालेपछि ब्याङ्कहरूमा रकम थुप्रिन थालेको छ । निक्षेप प्रशस्त बढ्ने तर लगानी बढाउन नसकेका कारण ब्याङ्कहरू तरलता व्यवस्थापन कसरी गर्ने भन्ने समस्यामा परेका छन् ।

‘कर्जाको माग नै न्यून छ’, सिटीजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर एशोशिएसनका उपाध्यक्ष राजनसिंह भण्डारीले भने, “लगानीको वातावरण ठप्प भएकाले कर्जाको माग नबढेको हो ।”

वैशाख मसान्तसम्ममा वाणिज्य ब्याङ्कसँग रु.८ खर्ब बराबरको निक्षेप छ । यसमध्ये ब्याङ्कहरूले रु.५ खर्ब ९१ अर्ब लगानी गरेका छन् । अत्यधिक तरलता भएपछि वाणिज्य ब्याङ्कहरूलाई लगानीको दबाब त परेको छ, तर कर्जा लिने नै न्यून छन् । भण्डारी भन्छन्, “अहिले पनि प्रणालीमा रु.५० अर्ब त्यत्तिकै थन्किएर बसेको छ ।” नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार, गत चैत मसान्तसम्ममा ब्याङ्क तथा वित्तीय संस्थाले रु.१ खर्ब १० अर्ब ७३ करोड निक्षेप संकलन गरेर रु.८६ अर्ब ४९ करोड थप लगानी गरेका छन् । अघिल्लो वर्षो तुलनामा निक्षेप १३.५ प्रतिशतले तर कर्जा १०.१ प्रतिशतले बढेको केन्द्रीय ब्याङ्कको तथ्याङ्क छ ।

लगातारको बन्द, राजनीतिक अस्थिरता, असुरक्षा आदिका कारण कर्जाको माग सुस्त भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे भन्छन्, “लगानीको वातावरण खस्किँदै गएका बेला कोही पनि लगानी गरेर जोखिम मोल्न चाहँदैन । राजनीतिक परिदृश्य प्रष्ट नहुन्जेल व्यवसायीहरू लगानी नगर्ने सोचाइमा देखिएको कमर्ज एण्ड ट्रष्ट ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टर्राई बताउँछन् । उनी भन्छन्, “लगानीको वातावरण सुधार भए मात्र कर्जामा चाप पर्ने हो, नत्र कर्जाको माग बढ्दैन ।”

वाणिज्य ब्याङ्कहरूसँग प्रशस्त रकम भएकाले अहिले कर्जा र निक्षेप दुवैको व्याजदर घट्न थालेको ब्याङ्करहरू बताउँछन् । भट्टर्राई भन्छन्, “बचत खाताको व्याजदर तीनदेखि नौ प्रतिशतसम्ममा झरेको छ ।” मुद्दती खातामा तरलता अभाव भएका बेला १२ प्रतिशतसम्म व्याज दिएका बैंकले अहिले सकेसम्म मोलतोल गरेर व्याजदर घटाइरहेका छन् । भट्टर्राई भन्छन्, “बैंकहरूले सकेसम्म संस्थागत लगानीकर्ताबाट कम व्याजको मात्र निक्षेप तान्न खोजिरहेका छन् ।”

निक्षेपमा पुराना र ठूला ब्याङ्कले ३ देखि ५, मध्यमले ५ देखि ७ र नयाँ बैंकले ७ देखि १० प्रतिशतसम्मको हाराहारीमा व्याज दिइरहेको भट्टर्राई बताउँछन् । तर, ब्याङ्कहरूले कर्जामा भने व्याजदर न्यून मात्र घटाएका छन् । अहिलेको तरलता कति समय टिक्ने हो भन्ने प्रष्ट नभएकाले कर्जाको व्याजदर घटाउन समस्या परेको ब्याङ्करहरू बताउँछन् ।

  • Nabina limbu

    naya nepal …netale des bigarepachi des ko gatii…

  • B.Raj977

    Why not give it to 55% per cent Nepali who are still under poverty line ($1.25 a day mark)?

  • http://www.facebook.com/shanta.bohara Shanta Bohara

    bijuli pani lagaayet jeeban yaapanka laagi atyaabshek harek kurama loadsheding bhai sake pachhi janatale pani karjama loadsheding garaayeka hunki. bankharule dine byajko tulanaamaa jhandai double nai byaaj liee rahekaa chhan ta lagaani badhosh pani dasari?