ललितपुरका सम्पूर्ण शिक्षण संस्था बन्द
नेकपा–माओवादी निकट अखिल नेपाल शिक्षक सङ्गठन र अखिल क्रान्तिकारीले ललितपुरका सबै शिक्षण संस्थाहरू बन्द गराएको छ ।
सो सङ्गठनले भारतीय सम्बन्धनमा सञ्चालित केही शिक्षालयमा नेपालको राष्ट्रियतामा आघात पुग्ने पाठ्यक्रम लागू गरेको भन्दै ललितपुरको डिएभी सुशील केडिया विश्व भारती उच्च माविमा भारतीय पाठ्यक्रम पढाएको र तीनजना शिक्षकलाई निष्काशन गरेको भन्दै विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्दबाहेकका कार्यक्रम ल्याउन आग्रह गरिएकोे भए पनि आन्दोलनकारीले तयसको सुनुवाइ नगरेको बताए । सरकारले ११ जेठ २०६८ मा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको भएपनि विद्यालयहरू विभिन्न समूहको विरोध र बन्दको निसाना बन्दै आएका छन् ।
ललितपुरका जिल्ला शिक्षा अधिकारी मनकाजी श्रेष्ठले पटक–पटक सुशील केडिया विद्यालयमा सो सङ्गठनका प्रतिनिधिहरुसँग वार्ता गरेको भएपनि सफल हुन नसकेको बताए । उनले शान्ति क्षेत्र घोषणा गरिएको विद्यालयलाई बन्द नगर्न गरेको आग्रह समेत वेवास्ता गरेर शिक्षण संस्था बन्द गराएको बताए ।
ललितपुरमा पूर्व प्राथमिकदेखि कलेजसम्मका सरकारी र निजी गरी करिब ६०० शिक्षण संस्था सञ्चालित छन् ।
रासस









